घर बनाउनुपुर्वको पहिलो शर्त हो जग्गा। जग्गाको प्रकृति तथा अवस्थितिले घरको डिजाइनमा निकै ठूलो प्रभाव पार्ने गर्छ। साथै जग्गाले धेरै हदसम्म घरको मजबुतीलाई समेत असर पार्दछ। जग्गाको प्रकृतिकै कारण धेरै जनाले आफूले सोचेको डिजाइनमा घर बनाउन नपाएको उदाहरण प्रशस्त भेटिने गर्छन्।
त्यसैले यदी तपाई घर बनाउने योजनामा हुनुहुन्छ भने सोका लागि जग्गा कत्तिको मिलेको छ वा आफूले सोचेको डिजाइनमा ढाल्न उपयुक्त हुने नहुने कुराप्रति सचेत रहनुपर्ने आर्किटेक्ट तथा सिभिल इन्जिनियरहरुको सुझाव छ।
इन्जिनियर विपिन गैरेका अनुसार सुरक्षित जग्गा तथा त्यसका लागि उपयुक्त डिजाइनका घर सम्वन्धमा अधिकांश अनविज्ञ छन्। उनी भन्छन्, ‘जग्गा किन्न त हामी निकै मिहेनत गर्छौैँ, तर जग्गा कत्तिको सुरक्षित छ, वास्तु मिलेको छ या छैन र त्यसबाट कस्तो घर बनाउन सकिन्छ भन्ने कुराभन्दा त्यसको भाउ आगामी दिनमा बढेर कति पुग्ला भन्नेमा बढी हुने गर्छ।’
सामान्यतया जीवनमा एक पटक बनाइने घर सुरक्षित तथा सबै कोणबाट मिलेको हुनुपर्छ। मिलेको जग्गा भएमा उत्कृष्ट डिजाइनमा घर तयार पार्न सकिने मात्र हैन त्यसले परिवारमा सुख ता शान्ति कायम राख्न टेवा पुग्ने दावी गर्छन् गैरे।
कस्तो डिजाइनको घर बनाउन कस्तो वा कती जग्गामा चाहिन्छ भन्ने कुरा आर्किटेक्टलाई मात्र थाहा हुने गर्छ। जग्गा तथा खाली ठाउँ व्यवस्थापनको पाटो पूर्णरुपमा आर्किटेक्टको हो। गैरे भन्छन्, ‘आर्किटेक्टले नै जग्गाको अध्ययन गरेर त्यसमा व्यक्तिले इच्छ्याएको डिजाइनमा घर बनाउन सकिने भएमा त्यसै अनुरुपको नक्सा बनाउने गर्छ। त्यसकारण घर कस्तो जग्गामा बनाउन लागिएको हो त्यले धेरै ठूलो अन्तर राख्ने गर्छ।’
तर जग्गा खरिद गर्दा आर्किटेक्टको राय लिने चलन हामीकहाँ अत्यन्त न्युन छ। जग्गाको छनौट उपयुक्त नभएमा बलियो घर बनाइए पनि भूकम्पको सानो धक्काले समेत घर जगैदेखि ढल्न सक्ने इन्जिनियरहरु बताउँछन्। कालो र हलुका माटो मात्रै भएको जग्गामा ठूला घरहरु बनाउन नमिल्ने उनीहरुको सुझाव छ।
गैरे मेरो घर डटकम नामक संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन्। उक्त संस्थाले घरसम्वन्धी डिजाइज, संरचना, मर्मत, वास्तु, डिजाइन लगायतका काम गर्दै आएको छ। यसका अलवा उनी नेपाल इन्जिनियर एसोसिएसन पूर्वाधार विकास समितिका सहअध्यक्ष समेत हुन्।
हेरौं, इन्जिनियर गैरेको सुझावमा जग्गा किन्नुअघि ध्यान दिनुपर्ने कुरा
-घर बनाउन सामान्यतया कम्तीमा पनि साढे २ आना जग्गा आवश्यक पर्छ। खोलाबाट २० मिटर तथा विद्युत प्रसारण लाइनभन्दा सकेसम्म टाढा भएको जग्गामा मात्र घर बनाउनुपर्छ। वास्तुको दृष्टिकोणबाट सामान्यतया उत्तर वा पूर्व फर्किएको जग्गा राम्रो मानिने भएपनि काठमाडौँको हकमा दक्षिण वा पूर्व फर्किएका जग्गा उपयुक्त हुन्छ।
-जग्गाको मोहोडा न्यूनतम १८ फिटको हुनुपर्नेछ। मोहोडा जति ठूलो त्यति धेरै प्रकारका डिजाइनमा घर निर्माण गर्न सकिन्छ। तर ठूलो मोहोडा हुँदा एउटा घाटा पनि हुन सक्छ। ठूलो मोहोडा भएको जग्गा बाटोमा जान सक्छ।
-जग्गालाई छुने बाटो कम्तीमा १३ फिटको हुनुपर्छ। त्यस्तै जग्गा सकेसम्म बाटोको समान सतहमा हुनुपर्छ। बाटोको भन्दा जग्गाको सतह कम भएमा त्यसले घरको लागत बढाउँछ।
-सकेसम्म चारपाटे (रेक्टेङ्गुलर) आकारको जग्गा भएमा पूर्ण रुपमा घरका लागि सदुपयोग हुन्छ। त्रिकोणात्मक आकारको जग्गा हुँदा पुरै सदुपयोग गर्न सकिँदैन र भनेअनुसारको डिजाइनमा तयार गर्न पनि सकिँदैन।
-ढलको सुविधा भएको वा भविष्यमा ढल निकासा हुने जग्गा किन्ने गर्नुपर्छ।
-घर बनाउन ग्राभेलयुक्त माटो राम्रो हुन्छ। धेरै कालो भएको माटोले जग्गाको पानी सञ्चित गरेर राख्ने भएकाले जाडो वा गर्मी मौसममा त्यस्तो जग्गामा बनेको संरचनामा प्रतिकुल असर गर्ने गर्छ।
-भिरालो ठाउँको जग्गाको माटो स्थिर नहुने हुँदा त्यसले घरको भार थाम्न नसक्ने संभावना बढी हुनेगर्छ र यस्ता जग्गाले पहिरोको जोखिम मोलेका हुन्छन्। साथै घर बनाउँदा लागत पनि बढाउँछ।
-साधारण दुई तलेसम्मको घर बनाउन माटो परीक्षण गर्नु अत्यावश्यक नभएपनि जग्गामा दह, चिरा परेको वा अन्य कुनै असामान्य अवस्था भएमा भने प्राविधिकलाई देखाउने गर्नुपर्छ।
थप हेर्नुहोस्
घर कस्तो माटोमाथि बनाउने ?घर बनाउँदै हुनुहुन्छ ? यस्तो छ नक्सा पास गर्ने प्रकृया