खाद्य संस्थानले बेच्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण भएको छ।
संस्थानले अन्य व्यवसायीले बेच्ने मूल्यभन्दा केही सस्तोमा खसीबोका तथा च्याङ्ग्रा बेच्ने भएको हो। संस्थानले तोकेअनुसार जिउँदो खसीको मूल्य प्रतिकेजी ४५५ तथा बोकाको ४५० रहेको छ। त्यस्तै च्याङ्ग्रा प्रतिकेजी ६७५ रुपैयाँ रहेको छ।
संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोकाको मूल्य बाहिरी व्यापारीहरुले बेच्नेभन्दा प्रतिकेजी ३५ रुपैयाँ सस्तो हो। ‘हामी नाफामुखी संस्थान होइनौँ, त्यसैले नाफा भन्दा पनि सहजताका लागि हामीले खसीबोका र च्याङ्ग्रा बेच्न लागेका हौँ, त्यसैले सस्तो पर्न गएको हो’ उनले भने।
बाहिरी मूल्य नियन्त्रण गर्ने प्रयासस्वरुप संस्थानले वर्षेनि खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको छ। संस्थानले दसैँका लागि १५ सय खसीबोका तथा एक हजार च्याङ्ग्रा ल्याई बिक्री वितरण गर्ने भएको छ। घटस्थापनाका दिनदेखि नै खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गरिने संस्थानले जनाएको छ।
इच्छुकले थापाथलीस्थित संस्थानको गोदामबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न सक्नेछन्।