दसैँको अवसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा स्टक क्लियरेन्स मेला सुरु भएको छ। मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दसैँको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाउनु उपभोक्ताका लागि तथा स्टक सामान रहेका ब्यापारी दुबैका लागि फाइदाजनक भएको बताए।
दसैँको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलाको आयोजना इभेन्ट सोलुसनले गरेको हो। बुधबारदेखि देखि ६ दिनसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दसैँका लागि आवश्यक सामग्रीहरुको कारोबार भइरहेको छ।
मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फुडकोर्ट, होम अपायन्स र फिटनेसका स्टलहरु रहेका छन्। एक सय भन्दा धेरै स्टलहरु रहेको यो मेला चाडपर्व लक्षित भएको बताउँदै इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले आउने बर्षहरुमा पनि यसको निरन्तरता रहने जानकारी दिए।
इभेन्ट सोलुसनका संयोजक जोशीले दसैँका लागि आवश्यक पर्ने उपभोग्य सामाग्रीहरु एकैठाउँबाट बिशेष छुटमा पाइने बताए। ६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोजक जोशीले बताए। मेला अवधिभर ५० हजारले अवलोकन गर्ने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ।