किशोरावस्था उमेर समूहलाई उद्यमी सोचको विकास गर्न उत्प्रेरित गर्ने उद्देश्यले गरिएको ‘वाईवाई ग्लोकलटिन हिरो’का अन्तिम ६ प्रतिस्पर्धी छनौट भएका छन्।
घोषित प्रतिस्पर्धीमा समाजसेवी अल्बिना पर्बिन, एप डेभलपर आयुष पाण्डेय, उद्यमी प्रिथ्यु सिंह ठकुरी, बाल अधिकारकर्मी राजाराम बस्नेत, समाज विकासमा लागेका सचिन डाँगी र आविष्कारक तन्मय चौधरी रहेका छन्।
यो वर्ष प्रतिस्पर्धाका लागि कुल ३२१ आवेदन आएको थियो। आवेदकहरुले समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रम्मिङ, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता आफूले गरेका कामले समाजमा परेको सकारात्मक असर देखाएर कौशलता जनाएका छन्।
किशोर किशोरीहरुले समाजमा गरेको कार्यलाई कदर गर्दै अरु माझ चिनाउन र उनीहरुको उत्साह, रचनात्मक सोच र सुरुवाती चाहनाको पहिचान गरी सोही उमेर समूहका अन्यलाई पनि उद्यम सोचको विकासमा प्रेरित गर्नु नै यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।
काठमाडौँबाट सुरुवात भएको यो प्रतियोगिता देशभरिका १६ ठाउँमा पुगेको थियो र त्यहाँका स्कुल र कलेजहरुमा कार्यक्रम गरिएको थियो।