वाईवाई नूडल्सले भारतको ख्यातीप्राप्त ‘मार्की अवार्ड २०१७’ प्राप्त गरेको छ। मुम्बई मादि एडभरटाईजिङ क्लबद्वारा आयोजित विशेष समारोहमा भारतीय वस्त्र, सूचना एवं प्रसारण मन्त्री स्मृती इरानीले उक्त अवार्ड सिजी कर्प ग्लोबलका कार्यकारी निर्देशक बरुण चौधरीलाई प्रदान गरेकी हुन्।
भारतीय बजारमा आफ्नो सशक्त उपस्थिती बढाउँदै जाँदा वाईवाईलाई यो सफलता प्राप्त भएको हो। वाईवाई अहिले भारतीय नूडल्स बजारमा दोस्रो सशक्त ब्राण्ड हो। छोटो समयमा भारतीय उपभोक्ताको मन जित्न सफल यो ब्राण्डलाई भारतमा तीव्र गतिमा विस्तार भईरहेको ब्राण्डका रुपमा लिईन्छ। \
हाल वाईवाईले भारतीय नूडल्स बजारको २७ प्रतिशत हिस्सा ओगट्छ। वाईवाई नूडल्सका अतिरिक्त अहिले भारतीय बजारमा ‘वाईवाई सिटी’ पनि उत्तिकै लोकप्रिय बन्दै गईरहेको छ। यो वाईवाई नूडल्सबाट निर्मित परिकारहरु उपलब्ध हुने ‘क्विक सर्भिस रेष्टुरेन्ट’ हो।
अवार्ड वितरणका लागि आयोजित समारोहमा बोल्दै प्रशारण मन्त्री इरानीले अवार्ड विजेता वाईवाईलाई बधाई दिइन्। वाईवाईले भारतका अन्य चर्चित ब्राण्डहरूसँगको प्रतिस्पर्धामा आफुलाई अब्बल सावित गर्दै अवार्ड जित्न सफल भएको हो।
‘वाईवाईलाई विश्वब्यापी प्रतिष्ठित ब्राण्ड बनाउने हाम्रो प्रयासमा माक्र्यू अवार्डबाट थप हौसला प्राप्त भएको छ। यसको श्रेय म सम्पूर्ण वाईवाईका उपभोक्ताहरूलाई दिन चाहान्छु’, कार्यकारी निर्देशक बरुण चौधरीले भने ‘नेपाली ब्राण्ड विश्व बजारका चर्चित ब्राण्डहरूको प्रतिस्पर्धामा अब्बल सावित हुन सक्छ भन्ने वाईवाईले सावित गरेको छ, यो हाम्रा लागि झनै खुसीको बिषय हो।’
वाईवाई युरोपमा विस्तार भएलगत्तै भारतीय बजारमा उसलाई यो सफलता प्राप्त भएको छ। दुई साताअघि वाईवाई सर्वियाबाट उत्पादन शुरू भएको थियो। वाईवाई अफ्रिका, मध्यपूर्व र एसियाका विभिन्न ठाउँहरूबाट उत्पादन गर्ने योजना कार्यान्वयनमा छ।