होटल तथा रेष्टुरेन्टको खाद्य पदार्थ बढी प्रदुषित हुने गरेको भन्दै तपाईहामी कतिपय यस्ता खाद्य पदार्थ सेवन गर्न हिचकिच्याउने गर्दछौँ।
तर रेष्टुरेन्टका खाना मात्रै होइन, तपाई हामीले शुद्ध भनेर पिउने गरेको जार तथा बोत्तलको पानी, घ्यू, दूध, दाल तथा गेडागुडी र अन्य खाद्यान्न पनि अशुद्ध हुने गरेका छन्।
कतिपय त्यस्ता खाद्यपदार्थ सेवन गर्न अयोग्य हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमुना परीक्षणले देखाउँछ।
यसरी दुषित खाद्य पदार्थ तथा खाद्यान्न उत्पादन तथा बिक्री वितरण गर्नेलाई विभागले विभिन्न जिल्ला प्रशासन कार्यालयमा कुल २५७ मुद्दा हालेको छ। विभागले गत आर्थिक वर्षभर गरेको नमुना परीक्षण तथा अनुगमनले दाल तथा गेडागुडीमा अत्याधिक मिसावट हुने गरेको भेटिएको छ।
विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार गत आर्थिक वर्ष बजार अनुगमनका क्रममा कुल २ हजार ८६४ नमुना संकलन गरिएकोमा ३६५ नमुना अर्थात १२. ७४ प्रतिशत प्रतिकुल पाइएको थियो।
त्यसमा पनि सबैभन्दा बढी प्रतिकुल दलहनमा पाइएको थियो। ८३ खाद्यान्न तथा दलहनको नमुना प्रतिकुल पाइएको विभागले जनाएको छ।
‘ति मुद्दामध्ये सबैभन्दा बढी खाद्यान्न तथा दलहन र सोबाट बनेका खाद्यबस्तु रहेका छन्’ प्रवक्ता वस्तीले भने ‘खाद्यान्न तथा दलहनको मिसावटमा मात्रै १०७ मुद्दा दायर गरिएका छन्।’
चामल, दाल तथा अन्य गेडागुडीमा खान नमिल्ने गेडा, ढुंगा, काठ, ठेट्ना बढी मात्रामा भेटिने गरेका छन्।
दाल तथा गेडागुडी मात्रै होइन, प्रशोधित पानीका ७१ वटा नमुना दुषित रहेको विभागले फेला पारेको छ। एक वर्षको अवधिमा विभिन्न ७१ वटा पानीका नमुना पिउन योग्य नरहेको पाइएको प्रवक्ता वस्तीले जानकारी दिए। त्यस्तै घिउको ५६ वटा तथा दुग्ध पदार्थको ४९ नमुना अशुद्ध रहेको पाइएको विभागले जनाएको छ।
एक वर्षको अवधिमा विभागले राजमार्गसहितका ४ हजार २७३ वटा होटल तथा रेष्टुरेन्टको निरीक्षण गरिएको दावी गरेको छ। निरीक्षणपछि ७९ होटल तथा रेष्टुरेन्टलाई स्तरीकरण गरिएको विभागले जनाएको छ। विभागका अनुसार स्तरीकरण गरिएका रेष्टुरेन्टमा २० लाई उत्तम, ४१ लाई मध्यमस्तर र १७ न्यूनस्तरका स्टिकर वितरण गरिएको छ। यस अवधिमा ५१७ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरिएको विभागले जनाएको छ।