हाम्रो दैनिक जीवनको महत्वपूर्ण पाटो हो ‘ग्रोसरी’ वा किराना पसल।
दिनभरीको कार्यालयको काम सकेर फर्किए पनि भान्सामा चाहिएको बस्तु किन्न सुपरमार्केट वा किराना पसल पुग्नै पर्यो। तर, पसलसम्म किन्न जान पनि सहज भने छैन। नजिकै कुनै सुपरमार्केट वा सबैथोक पाइने किराना पसल नहुन पनि सक्छ। पसलसम्म पुग्न लामो जाम त झेल्नै पर्यो, साधनमा जाँदा पार्किङ शूल्क पनि तिर्नु नै पर्यो। फेरि एकै पटकमा धेरै वस्तु किन्दा पनि गह्रौ झोला बोकेर फर्किन पनि उत्तिकै समस्या छ।
अनलाइन मार्फत अर्डर गरेर लुगाकपडा, जुत्ता, इलेक्ट्रोनिक्स वस्तु लगायतका धेरै सामान घर मै ल्याइदिने सुविधा भए पनि किरानाजन्य सामान किन्न बजार नपुगी सुखै छैन। अब भने यी सबै समस्याबाट राहत पाइने भएको छ। अनलाइन वा फोनमा अर्डर गरेर घरसम्मै ग्रोसरी सामान मगाउन सकिने भएको छ।
किराना पसल प्रा.लि.ले
‘किराना’ नामक वेभसाइट तथा
फेसबुक पेज सञ्चालनमा ल्याएको छ जसमार्फत अब घरमै बसेर सम्पूर्ण किरानाका सामान अर्डर गर्न मिल्ने भएको हो।
पसल खुलेपछि अब भने ब्यस्त दैनिकीमा बजार गएर ग्रोसरी सामान किन्दाको समय तथा भाडा समेत बचत हुने प्रालिले जनाएको छ।
नेपाल मै पहिलो पटक ग्रोसरी सामानको होम डेलीभरी सहितको सेवा दिने उद्धेश्यसहित खोलिएको ‘किराना’ विगत एक महिनादेखि सञ्चालनमा आएको हो।
किराना प्रा.लि.का चिफ कर्मसियल अफिसर कल्याण अधिकारीले पछिल्लो समय अनलाइनमार्फत विभिन्न वस्तु, लुगाकपडाको कारोबार हुने गरे पनि ग्रोसरी सामानको होम डेलीभरीसहितको सेवा उपलब्ध नभएकाले आफूहरुले यसको आवश्यक्ता महसुस गरी सञ्चालनमा ल्याएको बताए।
अधिकारीले भने, ‘दौडधुप तथा व्यस्त दैनिकीले निम्त्याएको थकानले आजित त हामी सबै छौँ । तर जति व्यस्त भए पनि ग्रोसरी त हामीलाई दैनिक चाहिन्छ। शारीरिक अवस्थाले आफैं जान नसक्ने वा व्यस्तताले गर्दा नभ्याउनेहरुलाई केन्द्रित गरेर हामीले यो सेवा आरम्भ गरेका हौँ।’
किरानाले बजारको मूल्य मै वस्तु उपलब्ध गराउने, ग्राहकलाई चित्त नबुझेमा तुरुन्त फिर्ता गर्न सक्ने बताएको छ।
अधिकारीले भने, ‘बजारमा जुन बस्तुको जति मूल्य छ हामी पनि त्यसलाई त्यत्तिमै दिन्छौं। यदि ग्राहकलाई अन्य पसल भन्दा एक रुपैंयाँ मात्र बढी तिर्नुपरेको पाएमा बढी रकम हामी तुरुन्ँतै फिर्ता गरिदिन्छौँ।’
त्यस्तै किरानाबाट अर्डर गरेको बस्तु ग्राहकको घरमा डेलीभरी गर्ने मानिसले ल्याइदिएपछि राम्रोसँग हेर्न सकिने र चित्त नबुझेको खण्डमा त्यसै बेला फिर्ता गर्न सकिने छ। रिङ्गरोड भित्र अर्डर गर्दा निःशुल्क डेलीभरीको सुविधा दिइएको तर रिङरोडबाहिर भने डेलीभरी शुल्क लाग्ने अधिकारीले जानकारी दिए।
तर ‘किराना’ ले सुपरमार्केटको काम गरे पनि आफैं भने सुपरमार्केट होइन। अर्डर आएपछि सो वस्तुको आधिकारिक डिलरबाट सामान ग्राहकको घरसम्म पुर्याइदिने काम किरानाले गर्छ। यसो गर्दा उसले डिलरबाट निश्चित कमिसन खाने गर्छ।
उनले किराना खोल्नुपूर्व काठमाडौंका २ हजार मानिसलाई नमुनाका रुपमा यस्तो खालको सेवाको कत्तिको आवश्यक्ता रहे वा नरहेको बारेमा उनीहरुको अनुसन्धान गरेको थियो। जसमा ७० प्रतिशतले यस्तो खालको सेवाको आवश्यक्ता रहेको तथा उपलब्ध भए दैनिक जीवन थप सहज हुने मत राखेपछि आफूहरुको टिमले सुरुवात गरेको बताए।
केमु डटकम नामक अनलाइन सपिङमा करिब साढे दुई वर्षसम्म काम गरेको अनुभव संगालेका अधिकारीले किराना सञ्चालनमा आएदेखि २५ जना ग्राहकहरुले यस मार्फत नियमित सेवा लिइरहेको समेत बताए।
उनको भनाईमा एक्लै बस्ने तथा दिनभरी कार्यालयमा काम गर्ने, बिहानै घरबाट निस्केर एकैचोटी रातिमात्र घर फर्कर्ने मानिसदेखि गर्भवती महिलालाई किरानाको विशेष आवश्यक्ता छ र त्यसै खाले मानिसबाट धेरै अर्डर गर्ने गरेको बताए।
उनले किराना खोलिएको एक महिनामा निकै राम्रो प्रतिक्रिया पाइरहेको समेत दाबी गरे।
किरानामा विभिन्न ब्राण्डका दैनिक भान्सामा चाहिने चामल, तेल, मसला, चाउचाउ, घ्यू, बिस्कुट, चकलेटदेखि स्याम्पु, टुथपेस्थ, टुथब्रससम्मका सामानको अर्डर गर्न सकिन्छ।
किरानाले विभिन्न सामानमा विशेष अफर समेत दिने गरेको छ।