त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको हवाई इन्धन डिपो स्थानान्तरणको लागि जग्गा उपलब्ध गराउन नेपाल आयल निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ।
प्राधिकरणले डिपो निर्माण गर्न आवश्यक जग्गा उपलब्ध नगराइदिएपछि निगमले मंगलबार पत्राचार गरेको हो।
निगमको डिपोलाई गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स नजिक सार्न लागिएको छ।
अत्याधुनिक प्रविधि सहितको डिपो निर्माणका लागि विस्तृत संभाव्यता अध्ययन (डिपिआर) कार्य अन्तिम चरणमा पुगिसक्दा पनि प्राधिकरणले जग्गा उपलब्ध नगराइदिएकाले पत्राचार गरिएको सिनामंगल डिपो कार्यालय प्रमुख ई. प्रदिप कुमार यादवले जानकारी दिए।
'प्राधिकरणले पटक पटक डिपो सार्न ताकेता गरेकाले हामीले स्थानान्तरणको काम अघि बढायौं,' उनले भने, 'अहिले प्राधिकरणले नै जग्गा उपलब्ध गराउन ढिलाइ गरिरहेको छ।'
डिपो स्थानान्तरणको लागि चार किल्ला तोकेर उपलब्ध गराउने, प्रस्तावित निर्माणस्थलमा रहेका रूखहरू कटान गरिदिन, निर्माणस्थलमा रहेको नेपाली सेनाको भवन हटाइदिन र निगमलाई उक्त स्थानमा डिपो निर्माण गर्न आवश्यक जग्गाको सम्झौता गरिदिन निगमले आग्रह गरेको छ।
डिपोका लागि जग्गा उपलब्ध गराउन कुनै समस्या नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक हंसराज पाण्डेले जानकारी दिए।
'यो हाम्रै सुरक्षाको लागि हो। हामी जग्गा उपलब्ध गराउन तयार छौं,' उनले भने, 'जग्गा सम्झौताको ड्राफ्ट तयार भइसक्याे।'
जग्गा सम्झौताको काम सकेपछि निगमलाई डिपो निर्माण गर्न जग्गा उपलब्ध गराइने उनको भनाइ छ।
डिपो निर्माणका लागि जग्गा सम्झौता भएपछि जग्गा सम्माउने काम सुरू हुने हवाई यातायात क्षमता अभिवृद्धि परियोजनाका निर्देशक दिपेन्द्र श्रेष्ठले बताए।
'हाम्रो काम भनेको जग्गा सम्याउने हो। अहिले पानी परेकाले काम कम भएको छ,' उनले भने, 'निर्माण कार्य सुरू हुनु अघि नै हाम्रो काम सक्छौं।'
हवाई इन्धन डिपो अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार डिपो स्तरोन्नति गर्नुपर्ने भएकाले स्थानान्तरण गर्न लागिएको हो।
विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल स्तरोन्नति गरी फराकिलो र सुरक्षित बनाउने कार्य सुरू गरेको छ।
विमानस्थलको मुख्य धावन मार्गमा विमान पुग्न प्रयोग गरिने समानान्तर मार्ग (प्यारालल ट्याक्सी वे) निर्माण गर्न लागेकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र प्राधिकरणको गुरूयोजना अनुसार मुख्य धावन मार्गको केन्द्रदेखि ट्याक्सी वे बीचको दुरी १७२.५ मिटर कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ।
सो ट्याक्सी वे निर्माण गर्दा अहिले रहेको निगमको हवाई इन्धन डिपोको करिब आधा क्षेत्रफल हटाउनु पर्ने अवस्था छ।
यो पनि :
आयल निगमको सिनामंगल डिपो स्थानान्तरण गरिने