अढाई दशकदेखि फलफूल व्यवसायमा सक्रिय कँडेल फ्रुट्सले 'फलफ्रुट्स' नामक नयाँ ब्रान्डमार्फत सेवा विस्तार सुरू गरेको छ।
सोल्टीमोड चोकमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको समूहले आगामी पाँच वर्षमा देशभर ५० वटा आउटलेट खोल्ने तयारी गरेको छ।
कम्पनीका सञ्चालक अग्नि कँडेलका अनुसार सन् १९९९ मा सोह्रखुट्टेबाट व्यवसाय सुरू गरेका उनले अहिलेको योजनालाई नयाँ चरणको औपचारिक सुरुआतका रूपमा अघि बढाएका हुन्।
'ताजा र स्वास्थ्यकर फलफुल घरघर पुर्याउने लक्ष्यसहित हामीले फलफ्रुट्स ब्रान्डको सेवा सुरु गरेका हौँ,' कँडेलले भने।
उनका अनुसार एउटा आउटलेट करिब १० लाख रूपैयाँ लागतमा खोल्न सकिनेछ र यसमा पाँच जना रोजगार पाउनेछन्।
इच्छुक व्यवसायीलाई कम्पनीले व्यवस्थापनको सम्पूर्ण सहयोग उपलब्ध गराउने योजना बनाइएको छ।
निकट भविष्यमा इ-कमर्समार्फत घरमै सेवा पुर्याउने तयारी भइरहेको कँडेलले जानकारी दिए। साथै, कम्पनीले 'फ्रुट्स क्याफे'को अवधारणा पनि अघि बढाउने तयारी गरेको छ।
'देशमै केही गर्न सकिन्न भन्ने मानसिकता हटाउन र कृषि तथा पर्यटन जोड्ने उद्देश्यले यो यात्रा सुरू गरेका हौँ,' कँडेलले बताए।
उनका अनुसार आउटलेटहरूमा नेपालमै उत्पादन हुने सिजनल फलफुललाई प्राथमिकतामा राखिनेछ। यसका लागि विभिन्न क्षेत्रका स्थानीय समुदायहरूसँग सहकार्य सुरू गरिएको छ।
'नेपाली फलफूललाई प्राथमिकता दिन सकिएन। हामी गाउँमा गएर उत्पादनदेखि व्यवस्थापन र बिक्रीसम्मको साक्षरता अभियान चलाइरहेका छौँ,' उनले भने।