सरकारले आयातित २३ प्रकारका ड्राइफ्रुट्समा अन्तशुल्क हटाएसँगै बजार मूल्य घट्ने भएको छ।
घटेको मूल्य कार्यान्वयन हुन भने केही समय लाग्ने सक्ने व्यपारीहरूले बताएका छन्।
नयाँ सामान भित्रिएपछि मात्रै ड्राइफ्रुट्सको मूल्य घट्ने २५ वर्षदेखि ड्राइफ्रुट्स आयात गर्दै आएका मनिष जजोदियाले बताए।
'अहिले बजारमा ड्राइफ्रुट्सको मौज्दात धेरै छ,' उनले भने, 'नयाँ सामानमा यो व्यवस्था कार्यान्वयनमा आउँछ।'
उनका अनुसार नयाँ सामान आउन एक महिनाजति लाग्नेछ।
नयाँ सामान आएपछि अहिलेको मूल्यमा ड्राइफ्रुट्स प्रतिकिलो ८० देखि एक सय रूपैयाँसम्म घट्ने उनको अनुमान छ।
तर कुन प्रकारको ड्राइफ्रुट्समा कति मूल्य घट्छ भन्ने कुरा अहिले नै यकिन गर्न नसकिने उनले बताए।
यो व्यवस्थाले व्यवसायिक वातावरण बन्नुका साथै सरकारलाई राजस्व समेत वृद्धि हुने उनको भनाइ छ।
सरकारले आर्थिक अध्यादेश २०८२ मार्फत २३ प्रकारका ड्राइफ्रुट्सको शून्य अन्तशुल्क दर कायम गरेको छ।
यसअघि १५ प्रतिशतसम्म अन्तशुल्क दर लाग्ने गरेको थियो।
सुकेको नरिवल (भित्री खवटासहितको नरिवल र अन्य नरिवल, सुकेको नरिवल), काजु (खवटा वा सुकेको) बदाम, काजुमा, अंगुर सुकेको (किसमिस), कटुस, पिस्ता, ओखर, म्याकाडामिया र खजुर (ताजा र सुकेको) मा लाग्ने अन्तशुल्क दर शून्यमा झारिएको हो।