कालोपत्रे (बिटुमिन) को सट्टा कङ्क्रिट सिमेन्ट सडक बनाउनुपर्ने माग सिमेन्ट उत्पादक र सरोकारवालाहरूले गरेका छन्।
नेपाल सिमेन्ट उत्पादक संघले सोमबार गरेको अन्तर्क्रियामा नेपालको पहाडी भूगोलमा सडक बनाउन गाह्रो भएको कारण यो प्रविधि उपयुक्त हुने उनीहरूको भनाइ छ।
कालोपत्रे सडक सुरूमा सस्तो हुन्छ। तर, यो चाँडै बिग्रिने हरेक वर्ष मर्मतमा धेरै खर्च हुने जस्ता कारणले दीर्घकालमा भने महँगो पर्ने उनीहरूको भनाइ छ।
सिमेन्ट सडक बलियो र टिकाउ हुने, कालोपत्रेभन्दा तीन गुणा बढी टिक्ने, पानीले सडक नबिगार्ने उनीहरूको भनाइ छ।
ढल वा अन्य संरचना विस्तार गर्दा कालोपत्रे भत्काउनुपर्ने भए पनि सिमेन्ट सडक सजिलै काटेर फेरि बनाउन सकिने नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ।
बिटुमिन आयात गरिने निर्माण सामग्री भएको र सिमेन्ट आन्तरिक उत्पादन भएको कारण पनि सिमेन्टको प्रयोग बढाउनु पर्ने उनीहरूले बताएका छन्।