सबैले भन्छन् — रक्सी खान हुँदैन, स्वास्थ्यलाई हानि गर्छ।
त्यही सबैले खान हुन्न भन्ने रक्सीलाई विभिन्न मिश्रणसहित फरक रूप दिन्छन्, र पूर्ण सजावटका साथ आकर्षक ढंगले पेस गर्छन् — बार टेन्डरहरू।
यो तिनै बार टेन्डरहरूको कथा हो।
पिकेश श्रेष्ठ चार वर्षदेखि फरक फरक ककटेल र मकटेलको स्वाद चखाइरहेका छन्।
उनी बौद्धको सिद्धार्थ बुटिक होटलमा काम गर्छन्। हरेक दिन बिहान १० बजे होटल पुग्छन्। रक्सीका बोतल मिलाउँछन्, बार सरसफा गरेर चिटिक्क पार्छन्। यो उनको पहिलो काम हो।
यहाँ प्राय: साँझबाट ग्राहकको भिडभाड सुरू हुन्छ। कहिलेकाहीँ भने दिउँसै आउँछन् — एक्लाएक्लै वा समूहमा।
हामीले भेटेको दिन सवा ११ बजेसम्म बार खाली थियो। हल्का वर्षा भइरहेकाले बाहिर स्विमिङ पुल वरिपरि पनि कोही थिएनन्।
'आज बिहानैदेखि पानी छिट्याइरहेकाले मान्छे आएका छैनन्,' २९ वर्षीय पिकेशले भने, 'एक–दुई दिनमा गर्मी बढेपछि आउनुहोला, खुट्टा राख्ने ठाउँ हुँदैन।'
उनका अनुसार बर्खाबाहेक जुनसुकै सिजनमा पुलमा मान्छेको कमी हुँदैन। पुल बारको ठ्याक्कै अगाडि छ। पौडी खेल्न आउनेहरू बारमा गएर रक्सी पनि पिउँछन्। गर्मी बेला त पुलमै बस्दै ककटेल र मकटेलको स्वाद लिनेहरू टन्नै हुन्छन्। बास बस्न चाहनेका लागि होटलमै बस्ने व्यवस्था छ।
बारमा पिकेशसहित तीन जना काम गर्छन्। पिकेशले काम थालेको साढे दुई वर्ष भयो। यसबीच उनले सिग्नेचर ड्रिंक बनाएका छन् — जिन्जर दाइक्विरी।
उनलाई जिन्जर अर्थात् अदुवाको स्वाद एकदमै मन पर्छ। त्यही भएर विभिन्न पेय पदार्थमा अदुवाको स्वाद मिसाएर सिग्नेचर ड्रिंक बनाएका हुन्। नयाँ स्वादको ककटेल बनाएपछि उनले सबभन्दा पहिला बारकै सहकर्मी र सुपरभाइजरलाई चखाएका थिए। उनीहरूले मन पराएपछि मेनुमा थपिएको थियो।
सिद्धार्थ बुटिकमा पिकेशको सिग्नेचर ड्रिंकसँगै चार–पाँच थरीका ककटेल र मकटेल छन्, जुन ग्राहकहरूले धेरै मन पराउँछन्।

कुराकानी क्रममा हामीले ककटेल र मकटेलको फरक सोधेका थियौं।
जबाफमा उनले भने, 'थरी थरीका रक्सी मिसाएर बनाइने नयाँ स्वादको रक्सीलाई ककटेल भनिन्छ। मकटेल भने सोडा, गुलियो पदार्थ, फलफूल र जुस मिसाएर तयार पारिने नयाँ स्वादको पेय हो। मदिरा सेवन गर्नेले ककटेल खान्छन् भने मदिरा नखानेले मकटेल रूचाउँछन्।'
केही पेय भने यस्ता हुन्छन्, जुन ककटेल र मकटेल दुवै स्वादमा पाइन्छन्। त्यसैमध्ये सबभन्दा रूचाइएको पेय हो — मोहितो।
यो रक्सी पिउने वा नपिउने दुवै किसिमका ग्राहकका लागि बन्छ। रक्सी नखानेहरूका लागि बनाइने मोहितोलाई 'भर्जिन मोहितो' भनिन्छ। यसमा एक थोपा पनि रक्सी मिसाइएको हुँदैन। अदुवा, कालो नुन, पुदिना, कागती, फलफूल, सोडा, चिसो पेय र बरफ मिसाएपछि भर्जिन मोहितो बन्छ। यही भर्जिन मोहितोमा ग्राहकको माग अनुसार रक्सी थपेपछि त्यसको स्वाद बदलिन्छ र ककटेलको रूप लिन्छ।
सिद्धार्थ बुटिकमा मोहितोको मूल्य प्रतिगिलास ६ सयदेखि ७ सय रूपैयाँसम्म पर्छ।
यसबाहेक मार्टिनी ककटेल र मकटेल पनि ग्राहकहरूले रूचाएको पेय हो। यो धेरै थरीको स्वादमा बन्छ। यसमा बरफको टुक्रा, कागती, सुन्तला लगायत विभिन्न फलफूल मिसाइन्छ। ग्राहकको इच्छा अनुसार विभिन्न किसिमका चियो पेय पनि प्रयोग गरिन्छ।
'कस्मोपोलिटन' पनि ककटेल र मकटेल दुवै स्वादमा पाइन्छ। खासगरी सुन्तला र कागतीको रसमा बियर हालेर यो पेय बनाइन्छ। यसको माग बढ्दो क्रममा रहेको पिकेश बताउँछन्।
'ह्विस्की सावर' पनि पछिल्लो समय निकै रूचाइएको ककटेल हो। विभिन्न खालका ह्विस्कीमा अन्डाको सेतो भाग घोलेर यो ककटेल बनाइन्छ।
'ह्विस्कीमा अन्डाको सेतो भाग घोल्दा फिँज आउँछ। ककटेल बनाएको हेर्दा पनि सुन्दर देखिन्छ,' पिकेशले भने, 'कतिपयले फोटो खिच्नकै लागि भए पनि ह्विस्की सावर अर्डर गर्छन्।'
पर्पल रेन, टकिला सनराइज, प्याराडाइज लगायतका ककटेल पनि युवा पुस्ताले धेरै रूचाएको पिकेशले बताए।
'हामी बारमा बस्नेहरूको काम ग्राहकले चाहेजस्तो स्वादको रक्सी खुवाउनु हो,' पिकेशले भने, 'कतिपयले के के चिज हाल्ने, कसरी हाल्ने भनेर सुझाव पनि दिन्छन्। हामी त्यही अनुसार बनाइदिन्छौं।'
उनका अनुसार विदेशी ग्राहकले रोज्ने ककटेल भने फरक छन्।
विदेशीहरू प्राय: नेपाली बियर मन पराउँछन्। गुरूङ समुदायले उत्पादन गर्ने प्रिमियम रक्सी पनि उनीहरूको रोजाइमा पर्छ। यस्तो रक्सी जर्किनमा ल्याएर बेच्ने गरेको उनको भनाइ छ।
पिकेशलाई ३५ भन्दा बढी स्वादका ककटेल/मकटेल बनाउन आउँछ। धेरैजसो युट्युब भिडिओ हेरेर आफै सिकेका हुन्। दुई–चारवटा भने विभिन्न रक्सी मिसाएर स्वाद चाख्दा चाख्दै बनेको उनको भनाइ छ।
'ककटेल र मकटेल कति थरीका हुन्छन् भनेर भन्न सकिन्न। यो बार टेन्डरको सीप र मेहनतमा भर पर्छ। बार टेन्डरले आफ्नो क्षमता अनुसार जति थरीको पनि बनाउन सक्छन्। यसका लागि निरन्तर प्रयास गरिरहनुपर्छ,' पिकेशले भने।
उनी आफै पनि हरेक दिन नयाँ नयाँ स्वादको ककटेल/मकटेल बनाउने प्रयास गरिरहन्छन्। कहिले सफल हुन्छन्, कहिले असफल। धेरैपटकको प्रयासमा एक वर्षअघि आफ्नो सिग्नेचर ड्रिंक 'जिन्जर दाइक्विरी' बनाएको उनले बताए।
उनका अनुसार ककटेल/मकटेल बनाउँदा त्यसमा रक्सी र अन्य पेयको मात्रा कति हाल्ने भन्नेमा ध्यान दिनुपर्छ। मात्रा चाहिनेभन्दा बढी भए स्वाद बिग्रिन्छ। परीक्षण क्रममा रक्सी र पेय पदार्थ धेरै खेर जान्छन्। बार टेन्डरका लागि नयाँ ककटेल/मकटेल परीक्षण गर्न होटलले नै रक्सी र अन्य पेय पदार्थको केही परिमाण छुट्टयाएको हुन्छ। त्यसैले परीक्षण गर्दा खेर गए पनि बार टेन्डरलाई गाल पर्दैन।
पिकेशले यो होटलमा काम गरेको साढे दुई वर्ष अवधिमा ककटेल/मकटेल बनाउँदा दुईपटक गल्ती गरेका छन्।
पहिलो गल्ती उनले सिद्धार्थ बुटिकको बारमा काम सुरू गरेकै दिन भएको थियो।
त्यस दिन होटलमा पार्टी चल्दै थियो। ग्राहक खचाखच थिए। अन्य कर्मचारीसँगै पिकेश पनि ग्राहकको माग अनुसार रक्सी पुर्याउन दौडधुप गर्दै थिए।
हडबडमा सन्तुलन बिग्रेर हातबाट ट्रे फुत्कियो र बियरको बोतलसँगै दुइटा गिलास भुइँमा छरपस्ट भए।
उनी आत्तिए।
फुटेका बोतल र गिलास बोकेर बारमा पुगे।
'पहिलो दिन भएको र रक्सी पनि कम पैसा पर्ने भएकाले गाली खानुपरेन। पहिलो गल्ती भएकाले छुट पाएँ,' उनले भने, 'दोस्रो गल्तीमा भने गाली सुन्नुपर्यो। झन्डै जागिर नै गएको थियो।'
उनले दोस्रो गल्ती गरेको एक–डेढ वर्षअघि हो।
नियमित आइरहने ग्राहकको छोराको जन्मदिन पार्टी थियो। ग्राहकले रक्सी मगाए। उनी रक्सी बोकेर नजिक पुगे। दिनै लाग्दा ग्राहक र उनको हातको तालमेल मिलेन। गिलास भुइँमा खस्यो।
त्यो दिन भने सुपरभाइजरले साफ गाली गरेको उनी सम्झन्छन्।
'मेरै तलबबाट पैसा काट्ने कुरा उठिसकेको थियो। तर यस्तो अवस्थामा आफ्नो गल्ती छैन भने 'दुर्घटनावश' भएको भन्न पाइन्छ। सुपरभाइजरले छानबिन गर्दा कर्मचारीको गल्ती नदेखिए वा अन्जानवश भएको देखिए क्षतिपूर्ति तिर्नुपर्दैन,' उनले भने, 'मेरो केसमा पनि त्यही भयो।'
सुपरभाइजरले सिसिटिभी फुटेज हेरे। त्यसमा पिकेशको मात्र गल्ती देखिएन।
उनी क्षतिपूर्ति तिर्नबाट बचे।
'त्यसयता अर्को गल्ती गरेको छैन,' उनले भने, 'म पाइला पाइलामा सजग हुन्छु।'

आफ्नो रूचिको काम भएकाले पनि गल्ती नगर्न र क्षमता विकास गर्दै जान उनी दत्तचित्त छन्। भोक टार्न वा कुनै जागिरमा अल्झिराख्न मात्र यो पेसामा नलागेको उनी बताउँछन्।
'दुई छाक खान त परिवारले पनि दिन्छ, म आफ्नो रहर पूरा गर्न यसमा लागेको हुँ,' उनले भने।
पिकेश काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ आरूबारीमा बस्छन्। भक्तबहादुर श्रेष्ठ र ईश्वरी श्रेष्ठका दुई सन्तानमध्ये पिकेश कान्छा छोरा हुन्। उनी जन्मे–हुर्केको आरूबारीमै हो। उनले २०७० सालमा महांकालस्थित तारा सदन इङ्लिस स्कुलबाट एसएलसी पास गरे। सुकेधाराको ब्रुक्लिन इन्टरनेसनल कलेजमा प्लस–टू पढे।
त्यसपछि भने पढाइलाई निरन्तरता दिएनन्। पढ्नभन्दा हातको सीप तिखार्नतिर लागेको उनको भनाइ छ।
'प्लस–टू पढ्दा पढ्दै मैले विभिन्न होटलमा जागिर खान थालिसकेको थिएँ,' उनले भने, 'त्यसबीच कोरोना महामारीले होटल–व्यवसाय ठप्प भयो। भर्खर भर्खर पाएको जागिर गुम्यो। लगभग ७/८ महिना म बेरोजगार भएँ।'
जागिर नपाएर लामो समय यत्तिकै घरमा बस्न परेपछि उनी साथीहरूसँग क्याटरिङको काममा हिँडे। त्यहाँ उनलाई रक्सी दिने बारमा सहयोग गर्न राखियो।
उनलाई पहिल्यैदेखि ककटेल बनाएको दृश्यले खुब ध्यान तान्थ्यो। रक्सीको बोतल र गिलासहरू हावामा उडिरहेको देख्दा उनी मोहित हुन्थे। आफू पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने रहर मनमा जाग्थ्यो। झन् क्याटरिङ क्रममा बारमै काम गर्न पाएपछि उनलाई पेसागत रूपमा बार टेन्डर बन्ने इच्छा लाग्यो।
उनले यसबारे साथीहरूसँग बुझे। क्याटरिङको काममा जाँदा ककटेल बनाउने वा रक्सी बाँड्ने ठाउँमै बसे। त्यहाँ काम गर्नेहरूसँग रक्सीका नाम सोधे।
उनले थाहा पाए — नेपालमै ५०/६० थरीका रक्सी पाइँदो रहेछ। तीमध्ये अधिकांशको उनले नामधरि सुनेका थिएनन्। काम गर्दै जाँदा थाहा पाउँदै गए।
दुई–चार महिना क्याटरिङको काम गरेपछि उनलाई ककटेल बनाउने बार टेन्डरको तालिम लिन पाइन्छ भन्ने थाहा भयो। उनले साथीहरूको सहयोगमा तालिम दिने ठाउँहरू खोजे। तीन–चार ठाउँमा बुझ्न गए।
काम सिकेसँगै रोजगारीको अवसर जुराइदिने सुनेपछि उनले नयाँ बानेश्वरस्थित एक केन्द्रबाट ककटेल र मकटेल बनाउने तालिम लिए।
बार टेन्डर बन्न बेसिक कोर्स तीन महिना र एड्भान्स्ड कोर्स ६ महिनाको हुन्छ। उनले तीन महिनाको कोर्स लिए। त्यसका लागि २५ हजार रूपैयाँ तिरे। त्यहाँ सैद्धान्तिक ज्ञानसँगै नक्कली रक्सीबाट ककटेल बनाउन सिके।
तालिम कक्षा बिहान ६ देखि दिउँसो २–३ बजेसम्म चल्थ्यो। पिकेशले एक दिन पनि नछुटाई तीन महिनाको कोर्स पूरा गरे।
तालिम सकिएको केही दिनमै उनलाई ठमेलको एउटा होटलमा काम गर्न पठाइयो। उनले त्यहाँ आफ्नो सिकेको सीप भरपुर प्रयोग गरे। त्यस क्रममा धेरै गल्ती भए पनि ती गल्तीबाट सिक्दै अघि बढेको उनी बताउँछन्।
'ठमेलको होटलमा काम गरेको पहिलो दिन नै मैले भर्जिन मोहितो मागेको ग्राहकलाई रक्सी मिसाएर दिएछु,' उनले भने, 'आत्तिएर हडबडीमा गल्ती भयो। तालिम केन्द्रको प्रशिक्षकले चिनेजानेको होटल भएकाले गाली खानुपरेन।'
पिकेशले त्यहाँ करिब सात महिना काम गरे। त्यसपछि ठमेलका विभिन्न बार, रेस्टुरेन्ट र होटलमा बार टेन्डर भएर झन्डै डेढ वर्ष बिताए।
चाहे रेस्टुरेन्ट होस् वा होटल, बार सम्हाल्दा रातको दुई–तीन बजेसम्म बस्नुपर्थ्यो। त्यसमा उनले कहिल्यै अल्छी मानेनन्।
ठमेलकै होटलमा काम गरिरहँदा उनले बौद्धको सिद्धार्थ बुटिकमा कर्मचारी मागेको विज्ञापन देखे। उनले आवेदन दिए। र, जागिरका लागि छानिए।
बार टेन्डरको तालिम लिएदेखि आफू बेरोजगार बस्नु नपरेको उनको अनुभव छ। एउटा ठाउँ छाडे पनि कतै न कतै जागिर पाइहाल्छन्। हिजोआज रात्रिकालीन बार, रेस्टुरेन्ट र होटल सञ्चालनको क्रम बढ्दो छ। त्यहीअनुसार बार टेन्डरको माग बढ्दो छ। सीप हुनेलाई जागिरको अभाव छैन। अहिले त यो पेसामा महिलाहरूको सहभागिता पनि बढेको उनी बताउँछन्।
यो काममा ग्राहकले दिने टिप्स आकर्षक हुने उनको भनाइ छ। टिप्स कसरी वितरण गर्ने भन्ने होटल/रेस्टुरेन्टको आ–आफ्नै नियम हुन्छ। कतिपय ठाउँमा ग्राहकले जसलाई टिप्स दियो, उसैले राख्न पाउँछन्। सिद्धार्थ बुटिकमा भने सबै कर्मचारीले पाएको टिप्स एउटा बक्सामा जम्मा गरिन्छ। महिनाको अन्तिम दिनमा जम्मा भएको पैसा सबै कर्मचारीलाई वितरण गर्ने नियम छ।
'महिनाको १५ सयदेखि २ हजार रूपैयाँसम्म टिप्स हुन्छ,' उनले भने, 'सिजन अनुसार थपघट भइरहन्छ। खासगरी गर्मी मौसम र बिहेको लगन हुने महिनामा धेरै ग्राहक आउँछन्। त्यही अनुसार व्यस्तता बढ्छ। टिप्स पनि धेरै पाइन्छ।'
पिकेशको अनुभवमा बार टेन्डर तालिम लिएकाहरूले विदेशमा पनि काम पाउन थालेका छन्। उनीसँगै सिकेका ५० जनाभन्दा बढी विदेश गइसके।
'यहाँ १० देखि १२ घन्टा काम गरेर ३०–३५ हजार कमाउन गाह्रो छ,' उनले भने, 'विदेशमा एक लाख हाराहारी तलब हुन्छ। राम्रो ठाउँमा त अझ बढी हुन्छ।'
'त्यसैले बार टेन्डर सिकेकाहरू प्राय: नेपालमा बस्दैनन्,' उनले अगाडि भने, 'म आफै पनि विदेश जाने तयारी गर्दैछु। यहाँ चार–पाँच वर्ष काम गर्दा पनि आफ्नो खर्चबाहेक केही जुटाउन सकिएन।'
उनी अहिले युरोपेली मुलुक नर्वे जाने तयारीमा छन्।
विदेश गएर यही काममा आफूलाई दक्ष बनाउने उनको धोको छ। भन्छन्, 'यो पेसामा धेरै कम व्यक्ति मात्र चर्चित छन्। म त्यसमा आफ्नो नाम दर्ज गराउन चाहन्छु।'
'म ककटेल र मकटेल सेलेब्रेटी भनेर चिनिन चाहन्छु।'
***