कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा पशु विज्ञान पढ्ने सृष्टि भण्डारीको सपना व्यवसायी बन्ने छ।
उनी आफूसँगै पढिरहेका केही साथीसँग मिलेर खेर गइरहेको अण्डाको खोस्टाबाट क्याल्सियम तयार गर्न चाहन्छिन्। जसले कुखुरा तथा पशुहरूलाई आवश्यक क्याल्सियम पूर्ति गर्न सकोस्।
पशु विज्ञान पढ्न हुम्लाबाट चितवन झरेकी उनलाई अण्डाबाट क्याल्सियम उत्पादन गर्ने तरिका राम्ररी थाहा छ। यो काम गर्न सके देशमा ठूलो परिमाणमा क्याल्सियमको आयात घट्ने तथ्यांक पनि उनीसँग छ। यो काम सानो परिमाणमा सुरू गर्न करिब ७ लाख रूपैयाँ लाग्छ। तर काम सुरू गर्न उनीहरूसँग बजेट छैन।
यही विश्वविद्यालयमा स्नातक तहमा कृषि पढ्ने स्याङ्जाकी शारदा पौडेल 'एग्री प्याक' उत्पादन गर्न चाहन्छिन्। हाल विभिन्न सामग्री प्याकिङमा प्रयोग गरिने प्लास्टिकजन्य वस्तुको विकल्पमा उनी वातावरण प्रदूषण नगर्ने वस्तु उत्पादन गर्न चाहन्छिन्।
'नेपालमा च्याउ बनाउन अपनाइने प्रविधि र सामग्री प्रयोग गरेर एग्री प्याक तयार पार्न सकिन्छ। यसरी उत्पादन भएको वस्तु ९० दिनमा कुहिन्छ। तर अहिले प्रयोग भइरहेको प्लास्टिकजन्य वस्तु कुहिँदैन। त्यसले वातावरणमा गम्भीर असर पारिरहेको छ,' उनले भनिन्, 'त्यसैले म र केही साथीले तत्काल कस्मेटिक सामान, वाइनमा प्रयोग भइरहेको प्लास्टिकजन्य वस्तुको विकल्प तयार गर्न खोजिरहेका छौं।'
उनले भनेजस्तो उत्पादन भारत, चीन, अमेरिका लगायत विकसित देशमा थोरै परिमाणमा मात्रै बन्ने गरेको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट कृषिमा स्नातकोत्तर गरिरहेका कास्कीका सुरज भण्डारीसँग घरपालुवा मौरीबाट लालीगुराँसको मह उत्पादन गर्नेदेखि ती मौरीबाट हुने थेरापीलाई व्यावसायिक बनाउने योजना छ।
'म लालीगुराँस फुल्ने ठाउँमा हुर्केको, यसको प्रयोग कसरी गर्न सकिन्छ भनेर सोच्दा मौरीसँग जोड्न सकिन्छ कि भन्ने सोच आयो। स्नातक तहमा पढ्ने तीन जना साथीहरूसँग मिलेर कास्कीको घान्द्रुक क्षेत्रमा यो व्यवसाय चलाउन सकिन्छ कि भनेर लागेका छौं,' भण्डारीले भने, 'हामीले उत्पादन गरेका सामग्री पर्यटकीय क्षेत्र घान्द्रुकमा आउने पर्यटकले उपहारका रूपमा लैजान सक्नुहुन्छ। मौरी थेरापीले त्यहाँ आउने पर्यटकलाई आनन्द दिन सक्छ।'
शारदा र सुरजको समस्या पनि सृष्टिकै जस्तो छ। योजना छ तर त्यसलाई व्यवसायमा रूपान्तरण गर्न पुँजी छैन।
उनीहरूका लागि अहिले कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयको मातहतमा रहेको 'एएफयू इन्क्युबेसन सेन्टर' ले काम गर्दैछ।
इन्क्युबेसन सेन्टरले राम्रो व्यावसायिक योजना भएका विद्यार्थीहरूलाई व्यवसाय सुरू (स्टार्टअप) र सञ्चालनका लागि सहयोग पुग्ने गरी हालै 'बिजनेस इन्क्युबेसन बूट–क्याम्प' सञ्चालन गरेको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा.निराजन भट्टराईले बताए।
बूट–क्याम्पमा व्यवसायसँग सरोकार राख्ने विज्ञ, बैंक, राजस्व कार्यालय, खाद्य गुण नियन्त्रण कार्यालय, उद्यमी, चार्टर एकाउन्टेन्ट लगायतले योजनालाई मूर्तरूप दिने, सुरूआत गर्नेदेखि सफल बनाउने सूत्र सिकाएका थिए।
भट्टराईका अनुसार उत्कृष्ट व्यावसायिक योजनाहरू सञ्चालन गर्न बिउ पुँजी व्यवस्था गर्ने र सञ्चालन क्रममा आवश्यक सल्लाह, सुझाव समेत प्रदान गर्ने कार्यक्रम सेन्टरसँग छ।
अनुसन्धान तथा प्रसार निर्देशनालयका उप–निर्देशक डा. उज्ज्वल तिवारीले यस्तो कार्यक्रम विश्वविद्यालयले पहिलो पटक सुरू गरेको जानकारी दिए।
उनका अनुसार यसका लागि सुरूमा व्यावसायिक योजना भएका विद्यार्थीहरूसँग योजना मागिएको थियो। विद्यार्थीहरूले ३९ वटा समूह बनाएर योजना बुझाएका थिए। तीमध्येबाट २० वटा योजना छनोट गरेर बूट–क्याम्पमा राखिएको तिवारीले बताए।
'अब हामीले यी बीस समूहसँग आफ्नो विस्तृत व्यावसायिक योजना मागेका छौं। उनीहरूले बुझाएपछि मूल्यांकन गरेर उपयुक्त योजनाहरू छनोट गरिनेछ,' तिवारीले भने, 'त्यसैको आधारमा व्यवसाय सञ्चालन गर्न बिउ पुँजी प्रदान गरिनेछ। त्यसपछि व्यवसाय सञ्चालन क्रममा आवश्यक सल्लाह, सुझाव प्रदान गरिनेछ।'
यसरी गरिएको लगानीको साँवा भने व्यवसाय सञ्चालन गरेपछि विद्यार्थीले एकै पटकमा वा किस्ता किस्तामा फिर्ता गर्नुपर्ने निर्देशक भट्टराईले बताए।
'विद्यार्थीहरूको आइडियामा विश्वविद्यालयले ज्ञान, सीप र लगानी प्रदान गरिदिने हो। तर त्यो पैसा निश्चित अवधिमा फिर्ता गर्नुपर्छ। फिर्ता भएको पैसा विश्वविद्यालयले फेरि अन्य विद्यार्थीहरूका लागि लगानी गर्छ,' उनले भने, 'यो विद्यार्थीहरूका लागि पढ्दै आम्दानी गर्ने अवसर हो। अर्को रूपमा हेर्दा यो पढाइकै प्रयोगात्मक ज्ञान लिने अवसर पनि हो।'
योजना छनोट भएपछि विद्यार्थीहरूले आफूलाई उपयुक्त हुने स्थानमा उद्यम गर्न सक्नेछन्। विश्वविद्यालयभित्रका खाली भवन, जमिन उपयोग गर्न मिल्ने भए त्यो पनि उपलब्ध गराउन सकिने उनले बताए।
'पढाइ सकेर बिदेसिनने क्रम बढिरहेको छ। यो अवस्थामा हाम्रो लक्ष्य विद्यार्थीलाई नेपालमै उद्यम गर्ने अवसर सिर्जना गर्ने हो,' उनले भने।
यो कार्यक्रमका लागि यस वर्ष निर्देशनालयसँग एक करोड २० लाख रूपैयाँ बजेट छ। उपयुक्त योजनाहरू आएमा विश्वविद्यालय अनुदान आयोगबाट थप ८० लाख रूपैयाँ प्राप्त हुने भट्टराईले बताए।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पुष्कर बहादुर पालले विश्वविद्यालयबाट दीक्षित जनशक्तिले देशका लागि योगदान दिने वातावरण निर्माण गर्न लागेको बताए। यसैका लागि विश्वविद्यालयले आगामी दिनमा शिक्षणसँगै अनुसन्धान र प्रसारका काममा पनि महत्त्व दिने उनले बताए।
'नेपालमा अहिले पनि करिब ६० प्रतिशत परिवार कृषिमा आधारित छन् तर खाद्यान्न आयात बढ्दो छ। उता इसराइलमा करिब ११ प्रतिशत मात्रै कृषिमा आधारित छन् र उनीहरू खाद्यान्न निर्यात गर्छन्। त्यसैले हामीले अब परम्परागत प्राणालीलाई मात्रै अपनाएर हुँदैन। आधुनिक प्रविधि प्रयोग गर्दै व्यावसायिक खेती गर्नुपर्छ,' उनले भने।
देशलाई निर्वाहमुखी कृषिबाट माथि उठाउन यहाँबाट दीक्षित जनशक्तिको महत्त्वपूर्ण भूमिका रहने उनले बताए।
उपकुलपति प्रा.डा. शारदा थपलियाले विश्वविद्यालयको स्थापनादेखि नै अनुसन्धान र प्रसारका लागि धेरै काम गर्ने उद्देश्य राखिए पनि गर्न नसकिएको बताइन्।
'ढिलै भए पनि राम्रो कामको सुरूआत हुँदैछ। प्रयोगात्मक ज्ञान लिँदै आम्दानी पनि गर्ने कार्यक्रमले विद्यार्थीहरूलाई धेरै सहयोग गर्न सक्छ। व्यवसायका लागि सबभन्दा उपयुक्त उमेर भनेकै यही हो। यो समयमा योजना बनाएर काम सुरू गरेन भने पछि हिम्मत नआउन सक्छ,' थपलियाले भनिन्।
पढेलेखेका युवाको ज्ञान व्यवसायमा रूपान्तरण गर्ने उद्देश्य रहेको भन्दै उनले यस्ता कार्यक्रमलाई आगामी वर्ष बढाउँदै लैजाने बताइन्।
विश्वविद्यालयले प्रदान गर्ने बिउ पुँजीले व्यवसाय सञ्चालन गर्दै जाँदा बिस्तारै अन्य निकायको पनि अनुदान सहयोग प्राप्त हुन सक्ने उनले बताइन्। युवाका लागि अनुदान तथा सहयोग गर्ने धेरै निकाय देशमा रहेकाले आफ्नो योजनालाई मूर्तरूप दिन हिचकिचाउन नहुने सुझाव उनको छ।
'हामी अहिले विश्वविद्यालयलाई आर्थिक रूपमा पनि सबल बनाउन लागिपरेका छौं। सरकारको अनुदानले मात्रै विद्यालय चल्ने अवस्था हुनु हुँदैन। विश्वविद्यालय स्वयंलाई सक्षम बनाउन यहाँबाट उत्पादित जनशक्तिको भूमिका महत्त् पूर्ण हुन्छ। त्यसैले हामी सकेजति धेरै युवालाई अवसर दिन चाहन्छौं,' थपलियाले भनिन्।
आगामी वर्ष अझै धेरै युवाहरूलाई व्यवसायमा लाग्न प्रेरणा दिने गरी योजना ल्याउने उनले बताइन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अहिले ४ हजार ८ सय विद्यार्थी पढ्छन्। तीमध्ये स्नातक तहमा पढ्ने मात्रै ४ हजार जना छन्।
अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक भट्टराईले अहिले आफ्नो योजना सहित व्यवसाय सञ्चालन गर्न ८४ जना विद्यार्थी अग्रसर भएको जानकारी दिए। यसमा चार जना स्नातकोत्तर पढ्दै गरेकाहरू छन्। अन्य ८० जनामध्ये ६० प्रतिशत कृषि र ४० प्रतिशत भेटेरिनरीका विद्यार्थी रहेको उनले बताए।
बिजनेस इन्क्युबेसन बूट–क्याम्पमा सहभागी २० समूहमा १५ समूह केन्द्रीय क्याम्पसका र ५ समूह आंगिक क्याम्पसका हुन्। आंगिक क्याम्पसहरू दैलेखको दुल्लू, कास्कीको पुरनचौर, सिन्धुलीको कपिलाकोट र रोल्पाको माडीचौरमा अध्ययन गरिरहेका विद्यार्थीहरू पनि आफ्नो योजना लिएर बूट–क्याम्पमा बसेको भट्टराईले जानकारी दिए।
'हामीलाई जसले पनि पढाइ सकेर विदेश जाने त होला भन्छन्। धेरै युवाको सोचाइ पनि त्यस्तै भइरहेको छ। विद्यार्थीलाई देशमै पनि सम्भावना छन् भनेर देखाउन विद्यालय, विश्वविद्यालयको भूमिका हुनुपर्छ,' स्नातकोत्तर पढिरहेका कास्कीका सुरज भण्डारीले भने, 'भविष्यको सफल व्यवसायी बन्न पनि सुरूआतमा त आधारभूत कुरा जान्नैपर्छ। विश्वविद्यालयले अहिले हामीलाई प्रोत्साहन गरिरहेको छ। यो निरन्तर रहन सक्यो भने राम्रो हुन्थ्यो।'