कुनै समय काठमाडौंमा भारतीय बाहेक अरू देशका खानाको स्वाद चाख्नुपरे ठमेल नै पुग्नुपर्थ्यो। तर अचेल काठमाडौंका विभिन्न ठाउँमा विदेशी खानाहरू पाइने रेस्टुरेन्ट धेरै खुल्न थालेका छन्। तिनमा पनि चीन, जापान, कोरिया लगायत एसियाली देशका परिकारले नेपालीहरूको मन जितेका छन्।
आज म त्यस्तै एउटा रेस्टुरेन्टको कुरा गर्दैछु, जसको नाम हो — टाकोयाकी सोलो।
यो जापानी रेस्टुरेन्ट हो। यहाँकी सञ्चालक विनिता लामालाई सबैले प्रेमपूर्वक 'मुमिन' भनेर बोलाउँदा रहेछन्।
'कार्टुन मुमिन?' मैले हाँस्दै सोधेँ।
उनले जबाफमा 'अँ' भनिन् र आफू पनि हाँस्न थालिन्।
खास कुरा के भने, विनिताकी आन्टी जापानी हुन्। तिनै जापानी आन्टी र उनको परिवारका सदस्यहरूबाट विनिताले जापानी परिकारहरू बनाउन सिकिन्।
सँगसँगै, आफ्नो नयाँ नाम र यो रेस्टुरेन्ट खोल्ने आइडिया पनि पाइन्।
'यो रेस्टुरेन्टको सुरूआत तिनै आन्टीले गर्नुभएको हो। अहिले उहाँ जापानमै बसेर यसको व्यवस्थापन सम्हाल्नुहुन्छ,' उनले भनिन्, 'म त यहाँ रेस्टुरेन्टको दैनिक कामकाज हेर्छु। यसमा मेरो दाइ, भाइ र अरू साथीहरूले सहयोग गर्छन्। जापानी खाना बनाउन आउने चाहिँ मलाई मात्र हो।'


रेस्टुरेन्टको नामैले भन्छ, यसको मुख्य विशेषता जापानी टाकोयाकी हो।
त्यसैले सुरूमा टाकोयाकी भनेको के हो, त्यसैबारे कुरा गरौं।
टाकोयाकी दुइटा जापानी शब्द मिलेर बनेको छ — 'टाको' को अर्थ अक्टोपस हो भने 'याकी' भनेको फ्राई गर्नु वा तेलमा तार्नु हो।
भन्नुको मतलब, समुद्रमा पाइने अक्टोपस तेलमा तारेर बनाइने जापानी परिकार नै टाकोयाकी हो। यो रेस्टुरेन्टको मुख्य परिकार पनि यही हो। यसमा प्रोटिन धेरै हुने भएकाले स्वास्थ्यका लागि एकदमै फाइदाजनक रहेको विनिता बताउँछिन्।
कसरी बनाइन्छ त?
जबाफमा विनिताले भनिन्, 'टाकोयाकी बनाउन गोलो आकारको छुट्टै भाँडा चाहिन्छ। सबभन्दा पहिला मैदा, अन्डा र माछाको ग्रेभीलाई यो भाँडामा राखेर पकाइन्छ। त्यसपछि अक्टोपस र बन्दा यही भाँडामा मिसाइन्छ। त्यसको माथिबाट माछाका फ्लेक्सहरू राखिन्छन्।'
प्राय: मान्छे टाकोयाकीको स्वाद चाख्न भनेरै यो रेस्टुरेन्ट आउने गरेको उनले बताइन्। तर अक्टोपस मन नपर्नेहरूका लागि पनि यहाँ विभिन्न किसिमका साकाहारी र अन्य सी-फूडहरू पाइन्छन्।
विनिताका अनुसार यो रेस्टुरेन्टमा चाहिने खानेकुरा र मरमसला सबै जापानबाटै आयात गरिन्छन्। खासगरी अक्टोपस त सधैं नै जापानबाटै आउँछ। उता बसेर रेस्टुरेन्टलाई चाहिने खानेकुरा र मरमसला किन्ने र नेपाल पठाउने काम विनिताकी तिनै जापानी आन्टीले गर्छिन्।
यो रेस्टुरेन्टलाई युवा पुस्तामा लोकप्रिय बनाउन फुड भ्लगरहरूले मुख्य भूमिका खेलेको उनको भनाइ छ। तिनले रेस्टुरेन्टको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेपछि नै यहाँ आउने ग्राहकहरू ह्वात्तै बढेको उनी बताउँछिन्।
ग्राहक बढेपछि अचेल विनिता र उनको टिमलाई दिनैभरि भ्याइनभ्याइ भइरहेको छ।
'पहिले कम ग्राहक हुँदा हामीलाई खासै हतार हुँदैन थियो। अचेल त म एक्लैलाई पकाउनै गाह्रो हुन्छ। धन्न दाइ, भाइ र साथीहरूले तरकारी काटकुट पार्न, ग्राहकसँग अर्डर लिन र खाना डेलिभरीमा सहयोग गर्छन्,' विनिताले भनिन्।


यो रेस्टुरेन्टको सुरूआत सन् २०१८ मा वसन्तपुरबाट भएको थियो।
त्यति बेला टाकोयाकी मात्र बेच्ने हिसाबले रेस्टुरेन्ट खोलिएको थियो। त्यसैले नाम नै त्यही राखियो। अहिले यो ललितपुरको भनिमण्डलमा सरेको छ।
टाकोयाकी भनेको जापानी सहर ओसाकाको एक चर्चित स्ट्रिट फुड हो। त्यहाँ प्राय: सडक किनारका फुड स्टलमा यो परिकार बेचिन्छ। त्यसैले वसन्तपुरमा स्टल राख्दा पनि उनीहरूले स्ट्रिट स्टलकै झल्को दिने प्रयास गरेका थिए।
'स्ट्रिट फुडको विशेषता के भने, त्यहाँ खाना पकाएको सबैले देख्छन्। त्यही भएर हामीले वसन्तपुरको स्टलमा सबैले देख्ने गरी पकाउँथ्यौं। ग्राहकहरू हामीले टाकोयाकी पकाएको हेर्दै मजा मानेर खानुहुन्थ्यो,' उनले भनिन्, 'बिस्तारै अरू खानेकुरा थप्दै लगेपछि वसन्तपुरको स्टल साँघुरो भयो। अनि हामी भनिमण्डल सर्यौं।'
भनिमण्डल सर्नुका पछाडि अर्को कारण पनि छ। त्यहाँ पसलको भाडा एकदमै महँगो थियो। कोभिड महामारीपछि व्यापार मन्द भएका बेला उनीहरूलाई भाडा तिर्न गाह्रो भयो। त्यही बेला उनीहरूले पसल विस्तार गर्ने सोच पनि बनाएका थिए। यी दुवै कारणले वसन्तपुरबाट भनिमण्डल सर्नुपर्ने अवस्था बन्यो।
रेस्टुरेन्ट सरे पनि यसका नियमित ग्राहक छुटेका छैनन्। वसन्तपुरमा लगातार आइरहने ग्राहक अचेल रेस्टुरेन्टको नयाँ ठेगाना खोज्दा भनिमण्डल आउन थालेको विनिता बताउँछिन्।
भनिमण्डलको जुन ठाउँमा रेस्टुरेन्ट छ, त्यो तुलनात्मक शान्त छ र फराकिलो पनि छ। यहाँ एकै समय धेरै ग्राहक अटाउँछन्। शान्त वातावरणमा नयाँ नयाँ खालका जापानी परिकारको स्वाद चाख्न यो रेस्टुरेन्ट उपयुक्त गन्तव्य बनेको छ। यहाँ खासगरी युवाहरूको बढी भिड लाग्छ।
'हामीकहाँ आउने ग्राहक १५ देखि ३० वर्ष उमेरका छन्। एकचोटि आएपछि फेरि फेरि आइरहन्छन्,' उनले भनिन्, 'नियमित आउने ग्राहकसँग हामी व्यक्तिगत रूपमै घुलमिल भएका छौं।'


सुरूआती दिनमा उनीहरूलाई जापानको यो नयाँ परिकार ग्राहकले रूचाउलान् कि नरूचाउलान् भन्ने डर थियो। जब कम समयमै काठमाडौंको युवा पुस्तामाझ जापानको टाकोयाकी लोकप्रिय भयो, उनीहरू हौसिए।
त्यही हौसलाले रेस्टुरेन्टको मेनु बढाउँदै लैजान प्रेरित गरेको विनिता बताउँछिन्।
यहाँ अक्टोपस र सी-फुडको परिकारबाहेक मोची आइसक्रिम पनि लोकप्रिय छ। त्यसबाहेक नेपालीहरूमाझ सबभन्दा लोकप्रिय जापानी खाना सुसी, जापानी शैलीको प्यान-केक ओकोनोमियाकी पनि पाइन्छ। ओकोनोमियाकी चाउचाउमा अन्डा हालेर बनाइन्छ।
त्यस्तै, काट्सुडोन र सोबोरोडोन पनि यहाँका लोकप्रिय परिकार हुन्। दुवै भातले बनेको हुन्छ। फरक यत्ति हो, काट्सुडोनमा भातलाई पोर्क (बंगुरको मासु) सँग तारिन्छ भने सोबोरोडोनमा भातसँग कुखुराको मासु र अन्डा मिसाइन्छ।
यहाँ कहिलेकाहीँ जापानी पर्यटक वा काठमाडौंमै बसोबास गरिरहेका जापानीहरू पनि आउँछन्। तिनले यहाँ पाइने जापानी परिकारको तारिफ गरेको विनिताले बताइन्।
'जापानीहरूकै मुखबाट खानाको तारिफ सुन्दा एकदमै खुसी लाग्छ,' उनले भनिन्, 'कतिपय जापानीहरू यहाँको खाना खाएर बाल्यकाल सम्झिएको बताउनुहुन्छ। जापानको स्ट्रिट स्टलमा टाकोयाकी खाएको याद आयो भन्नुहुन्छ। त्यसले हामीलाई अझै मिहिनेत गर्न हौसला दिएको छ।'
यो रेस्टुरेन्ट बिहान ११ देखि राति ९ बजेसम्म खुल्छ। दिउँसोभन्दा साँझ धेरै भिड लाग्छ। विदाको दिन भने दिउँसोबाटै भिडभाड सुरू हुने विनिता बताउँछिन्।
रेस्टुरेन्टले अझ राम्रो गर्दै गए भविष्यमा अर्को ठाउँमा पनि यस्तै जापानी रेस्टुरेन्ट खोल्ने योजना रहेको उनले जानकारी दिइन्। यसको निम्ति उनी थप जापानी परिकारहरू पकाउन सिकिरहेकी छन्।
यहाँ पाइने खानेकुराको मूल्य १२० रूपैयाँबाट सुरू हुन्छ। सबभन्दा महँगो परिकार ५९० रूपैयाँको छ। खानेकुरा र मरमसला जापानबाटै ल्याउने गरेकाले मेनु अलि महँगो भएको उनी बताउँछिन्।
***
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी





