सुनी जान्नु एक, देखी जान्नु लाख, गरी जान्नु करोड!
यही कथन सार्थक भएको छ नाताले दाजुभाइ राजकुमार बस्नेत र राज खत्रीका सन्दर्भमा।
खोटाङका उनीहरू दुई वर्षअघि कृषि प्रविधिबारे जानकारी लिने उद्देश्यले भारतका केही ठाउँ घुमेका थिए। राजकुमार खोटाङमा कागती खेती गरिरहेका छन्। एक महिनाको घुमाइ सिलसिलामा उनीहरू गुजरात पनि पुगे।
गुजरातमा उनीहरूले माटाका भाँडामा खाना पकाएको र माटाकै भाँडामा खान दिएको देखे। यस्ता रेस्टुरेन्ट पनि भेटे जहाँ सबै भाँडाकुँडा माटाकै थिए। ती भाँडा सफा र अत्यन्त आकर्षक देखिन्थे।
उनीहरूले त्यसमा पकाएको खानेकुरा खाए।
'गुजरातमा पकाउने र खाने सबै किसिमका भाँडा माटाकै देख्दा धेरै अनौठो लाग्यो। स्वाद पनि एकदमै मिठो थियो,' राजकुमारले भने।
उनीहरूलाई माटाका भाँडा बनाउने प्रविधिबारे जानकारी लिने विचार आयो। रेस्टुरेन्टकै एक व्यक्तिको सहयोगमा माटाका भाँडा बनाउने गुजरातको नामी उद्योग 'मिट्टीकुल' मा पुगे।
उद्योग देखेर उनीहरू अचम्म परे। चिसो माटोबाट भाँडा बनाउने प्रविधि भएकाले नाम नै मिट्टीकुल राखेका रहेछन्। यो उद्योग रहेछ ४० वर्ष पुरानो। मिट्टीकुलका उत्पादन विश्वका धेरै मुलुकमा पुगेको पनि उनीहरूले थाहा पाए।
राज खत्री (बायाँ) र राजकुमार बस्नेतउनीहरूले उद्योग अवलोकन गरे। भाँडा बनाउने प्रविधि निकै मिहिन ढंगले हेर्न पाए। उनीहरूका लागि त्यो प्रविधि नौलो त थियो नै, निकै रमाइलो पनि भयो। माटाका भाँडामा पकाउने र सफा गर्ने तरिका पनि सिके।
राजकुमार र राजले नेपालमै पनि माटाका भाँडा बनाएको देखेका हुन् तर उनीहरूका लागि मिट्टीकुल एकदमै नौलो र चित्ताकर्षक थियो।
फर्किने बेला दाजुभाइले मिट्टीकुलबाट 'वाटर बोटल' (पानी खाने बोतल) उपहार पाए।
भ्रमण सकेर उनीहरू काठमाडौं फर्के। त्यही भ्रमणले उनीहरूमा व्यवसायको जग बसाइदियो। उनीहरूले पनि माटाका भाँडा बेच्ने योजना बनाए।
'परम्परागत शैलीमा बनाएका माटाका भाँडाले हाम्रो मन जित्यो। नेपालमा लोप हुँदै गएको अवस्थामा हामीले बजार बनाउने विचार गर्यौं,' राजकुमारले भने।
सबभन्दा पहिला उनीहरूले आफ्नै भान्सामा प्रयोग गर्न मिट्टीकुलबाट कुकर, कसौंडी, हन्डी (दही जमाउने) लगायत चल्तीका केही भाँडा मगाए।
'नेपालमा पनि मिट्टीकुलजस्ता उद्योग छन् कि भनेर खोजी गर्यौं। यहाँको माटो फरक भएर होला, मिट्टीकुलको जस्तो पाइएन। यसको फिनिसिङ र डिजाइन निकै राम्रो छ,' उनले भने, 'हामीले यहाँका उद्योगमा मिट्टीकुलका भाँडा देखायौं। व्यवसायीहरूले यस्तै बनाउन सक्दैनौं, हावापानी र माटाको गुणले फरक पार्छ भने।'

अन्ततः राजकुमार र राजले गुजरातबाटै मिट्टीकुलका भाँडा मगाएर व्यवसाय गर्ने निधो गरे। सुरूमा उनीहरूले १५ लाख रूपैयाँ जुटाए। कुकर, कसौंडी, पानी खाने बोतल, गिलास, हन्डी, थाल, कचौरा, चम्चा, पानी राख्ने भाँडो, तावा, प्यान लगायत भाँडा अर्डर गरे।
'दुई हजार किलोमिटरभन्दा धेरै पार गर्नुपर्ने भएकाले भाँडा ढुवानी गर्न भने कोही तयार भएन। जोखिम पनि थियो,' राजकुमारले भने।
धेरै प्रयास गरेपछि बल्लतल्ल गत असोजमा पहिलो खेपको सामान आयो। मिट्टीकुलको स्वीकृतिमा 'मिट्टीकुल नेपाल' नाममा व्यवसाय सुरू भयो।
सुरूमा उनीहरूले अनलाइनबाटै बेच्ने सोचेका थिए। तर माटाका भाँडामा ग्राहकले जोखिम लिन चाहेनन्। हेरेर मात्र किन्ने प्रतिक्रिया पाएपछि काठमाडौंको कपनमा एउटा पसल खोले। प्रचारका लागि सामाजिक सञ्जालमा पेज खोले।
'माटाका भाँडामा मान्छेको रूचि देखियो। हामी खोजिरहेका थियौं, बल्ल पायौं भन्ने धेरै जना आउनुभयो,' उनले भने।
पाँच महिनामै मिट्टीकुल नेपालको व्यापार काठमाडौं उपत्यकासँगै पोखरा, बुटवल, धरान लगायत सहरमा पुगेको छ।
धेरैजसो ग्राहक पसलमै पुगेर किन्छन्। बिस्तारै अनलाइनबाट पनि बिक्री हुन थालेको छ। काठमाडौं बाहिर सामान कुरियर गरिदिन्छन्।
टाढासम्म डेलिभरी दिन जोखिम भए पनि अहिलेसम्म सुरक्षित नै भइरहेको उनले बताए।
'ग्राहकको घरसम्म नपुगुन्जेल सामानको जिम्मा लिन्छौं। अहिलेसम्म क्षति भएको छैन,' उनले भने।
हाल मिट्टीकुल नेपालमा साढे तीन हजार रूपैयाँसम्म पर्ने भाँडा पाइन्छ। सबभन्दा सस्तो गिलास सेट र वाटर बोटल हो जसको मूल्य ६ सय रूपैयाँ छ।
सबभन्दा बढी ३ लिटरको कुकरको पर्छ, साढे तीन हजार रूपैयाँ। भन्सार लगायत कर थपिँदा भाँडा केही महँगो परेको राजकुमारको भनाइ छ।

राजकुमार र राज मिट्टीकुलका जस्तै भाँडा नेपालमै उत्पादन गर्ने सम्भावनाको खोजीमा छन्। यसो हुन सके स्वदेशी उत्पादनले बजार पाउने र मूल्य पनि सस्तो हुने उनीहरूको विश्वास छ।
मिट्टीकुलका भाँडाको टिकाउपन त्यसको प्रयोग कसरी गरिन्छ भन्नेमा भर पर्ने राजकुमारले बताए।
माटाको कुकर पहिलो पटक प्रयोग गर्नुअघि २४ घण्टा पानीमा भिजाउनुपर्छ। त्यसपछि पाँच घण्टा घाममा सुकाउनुपर्छ।
फेरि कुकरको भित्र र बाहिर राम्ररी तेल घसेर केहीबेर घाममा राख्नुपर्छ। यसपछि मात्र खाना पकाउन तयार हुन्छ। सामान्यतया कुकर तात्न र सेलाउन केही बढी समय लाग्छ।
खाना पाकेपछि कुकरमा धेरै समय राख्नु हुँदैन, अर्कोमा खन्याउनुपर्छ। खाली गरेपछि भाँडा तत्कालै माझ्नुपर्छ। तातोपानीमा कागतीको रस मिसाएर माझ्दा राम्ररी सफा हुन्छ। सकेसम्म भाँडा धुने साबुन, सरफ प्रयोग गर्नु हुँदैन।
'माटाका भाँडा जतन गर्न तरिका पुर्याउनुपर्छ,' राजकुमारले भने, 'तर माटाका भाँडामा प्राकृतिक तरिकाले खाना पाक्छ। वातावरण अनुकूल र स्वस्थकर हुन्छ।'