नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टमा कार्टेलिङ भएको बताएका छन्।
बुधबार संघीय संसदको लेखा समितिमा भएको छलफलमा सिंहले यस्तो बताएका हुन्।
निर्माण व्यवसायी र उत्पादकबीच मंसिर १८ गते मूल्य घटाउने विषयमा छलफल भएको थियो।
उक्त छलफलमा उत्पादकहरूले निर्माण व्यवसायीलाई आवश्यक पर्ने सिमेन्ट उपलब्ध गराउने बताएका थिए। तर अहिले उत्पादकहरूले उत्पादन कटौती गरेर मूल्य बढाएको उनले बताए।
निर्यात गर्दा प्रतिबोरा पाँच सय रूपैयाँ हुँदा यहाँ भने प्रतिकिलो ८ सय १६ रूपैयाँ तिर्नुपरेको उनले बताए।
'भारतमा पाँच सय रूपैयाँ बिक्री हुँदा हामीलाई ८ सय ३८ रूपैयाँसम्मको बिल बनाएका छन्,' उनले भने।
उनले पहिले पनि उद्योगीले कार्टेलिङ गरेर सिमेन्टको मूल्य बढाएको तर होङ्सी सिमेन्ट आएपछि मूल्य घटाएको बताए।
'सात वर्षअघि प्रतिबोरा ९५० रूपैयाँ पुर्याएका थिए,' उनले भने, 'होङ्सी आएपछि कार्टेलिङ रोकिएको थियो। अहिले फेरि कार्टेलिङ भएको छ।'
मंसिर १८ गतेपछि मात्रै सिमेन्टमा प्रतिबोरा एक सय रूपैयाँ मूल्य बढेको बताउँदै उनले यस बीचमा उत्पादकको लागत कति बढेको हो भनेर प्रश्न उठाएका थिए।