चितवनको कालिका नगरपालिकाको निबुवाटारस्थित गराबाट उडेका मौरी सडकसम्मै भुनभुन गरिरहेका थिए। गरामा केही व्यक्ति मह काढ्दै थिए।
मौरीपालकहरू हरेक वर्ष केही महिना आफ्ना मौरी यहाँ ल्याउँछन्।
नजिकै रहेको चिउरीको जंगल मौरी विचरणका लागि प्रख्यात छ। मंसिरदेखि पुससम्म यो क्षेत्रका गराहरू मौरीका घारले भरिएका हुन्छन्।
मह काढ्दै गरेको भेटिएका खैरहनी–४ का सुरेश बस्नेतले यस क्षेत्रमा मौरी पाल्न थालेको १५ वर्ष भयो। उनले अहिले २३५ घार मौरी पालेका छन्।
सुरेश उपयुक्त चरन क्षेत्र खोज्दै आफ्ना मौरीलाई वर्षभरमा तीन ठाउँमा डुलाउँछन्। असोजदेखि मंसिरसम्म दाङ, मंसिरदेखि पुससम्म चितवन, पुसपछि भैरहवा लैजान्छन्। चितवन र दाङको तराईमा तोरी, पहाडी क्षेत्रबाट चिउरी, भैरहवाबाट तोराको मह उत्पादन गरिरहेको उनले बताए।
'यस वर्ष चिउरी खासै फुलेन। त्यसैले सोचेजस्तो मह उत्पादन भएन। पाहोर मज्जाले फुलेको थियो। एक लटमा १५ क्विन्टलसम्म उत्पादन हुन्थ्यो। यसपाली ९ क्विन्टल मात्रै होला जस्तो छ,' बस्नेतले भने, 'यहाँ केही समय राखेपछि भैरहवा लैजाने हो।'
उनले महबाट वार्षिक दस लाख रूपैयाँसम्म बचत हुने गरेको बताए। महको आम्दानीले उनलाई नयाँ घर बनाउने आँट दियो। यही आम्दानीले छोरी पढाइरहेका छन्। घर खर्च गरेर बचत पनि गर्ने गरेको उनले बताए।
सुरेशले खाडीको बाटो हुँदै यहाँसम्म आइपुगेका हुन्।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनले राम्ररी पढ्न पाएनन्। आइए पढ्दापढ्दै २०६५ सालमा साउदी अरेबिया भासिएका थिए। सुन्दर भविष्यको कल्पना गर्दै जहाज चढेका उनले खाडीमा पाइला टेकेदेखि दुःख मात्रै पाए। सरसफाइ मजदुरका रूपमा न्यून ज्यालामा साउदी पुगेका उनलाई खान, बस्नकै समस्या भयो।
'काम यति गाह्रो थियो कि पुक्लुक्कै ढल्छु जस्तो हुन्थ्यो। तलब पनि कम। खाना त्यसैबाट खानुपर्ने। पैसा नबच्ने। जेनतेन ११ महिना काम गरेँ। त्यसपछि साथीहरूसँग सहयोग मागेर घर फर्किएँ,' उनले खाडीको अनुभव सुनाए।

एक लाख रूपैयाँ खर्च गरेर अरब गएका थिए उनी। नेपालमा खानै नपाए पनि त्यो ठाउँमा जान्नँ भनेर घर फर्किए।
'नेपालमै मजदुरी काम गर्छु तर विदेश जान्नँ भनेर फर्किएको थिएँ,' उनले भने।
उनका दाइ केशवराज बस्नेतले गाउँमा मौरी पालन सुरू गरेका थिए। सुरेशले दाइको काममा सघाउन थाले। केही समयमा काम सिके। अनि पैसा खोजेर १३ घार मौरी किने। त्यही १३ घार मौरीबाट सुरू गरेको व्यवसाय बढेर अहिले २३५ घारको बनेको छ।
'हामी ६ दाजुभाइ, ४ दिदीबहिनी। आमाले असाध्यै दुःख गरेर हुर्काउनुभएको। बुबा म सात महिनाको छँदा बित्नुभएको रहेछ। मलाई उहाँको अनुहार कस्तो थियो पनि थाहा छैन। आमाकै मेहनतले म यहाँसम्म आइपुगेको छु,' सुरेशले भने, 'मौरी पालन व्यवसायले मेरो जीवनलाई नयाँ मोडमा पुर्याइदियो। विदेशमा दुःख भोगेकाले यहाँको काममा गाह्रो लाग्दैन। काम गर्न लाज पनि लाग्दैन। म अब जति बाँच्छु यही व्यवसायमा रमाउन चाहन्छु।'
उनकी श्रीमती गीता गृहिणी हुन्। उनी महको प्याकेजिङमा सुरेशलाई सघाउँछिन्। छोरी अहिले ११ कक्षामा पढ्दैछिन्। फुर्सदमा छोरीले पनि सघाउँछिन्। काम गर्न एउटा परिवार आफ्नै घरमा राखेका छन्। उनीहरूका छोरालाई पनि सुरेशले पढाइदिएका छन्।
कोरोना महामारीपछि अन्यले जस्तै मौरीपालकले पनि बजारको समस्या बेहोरेका थिए। कृषिसँग सम्बन्धित निकायले दिने ५० प्रतिशत अनुदान पनि लिन नसक्ने अवस्थामा किसान पुगेका थिए। महिनौंको उत्पादन गोदाममा थन्क्याउनुपरेको थियो।
यस वर्षदेखि बजारमा केही सहज भएको छ। भारतबाट हुने आयात नियन्त्रण हुँदा नेपाली महले बजार पाइरहेको छ। डाबर नेपाल, पतञ्जलीजस्ता ठूला कम्पनीहरूले नेपाली उत्पादन किन्न थालेका छन्। किसानले अहिले मह प्रतिकिलो चार सय रूपैयाँमा बिक्री गर्छन्। आयात नियन्त्रण हुँदा स्थानीय उत्पादनको प्रतिपर्धा बढ्ने, मूल्य बढ्ने र थप राहत पाउने आशामा किसानहरू छन्।

किसानहरूलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले 'मौरी जोन कार्यक्रम' मार्फत क्षमता वृद्धि, उपकरण खरिद र बजारीकरणमा सघाएको छ। खैरहनी नगरपालिकाले पनि मौरी पालनमा अनुदान दिने गरेको सुरेशले बताए।
सुरेश अहिलेको जस्तो अवस्था भइराख्ने हो भने नेपाली युवाको विदेश पलायन हुने क्रम घट्ने सम्भावना देख्छन्।
'कम्तीमा परिवार पाल्न विदेश जानुपर्ने बाध्यता हट्छ। एक सय घारजति मौरी पाल्ने हो भने परिवारसँगै बसेर खुसी रहन सकिन्छ। विदेश जान लाग्ने खर्च लगानी गरे गाईबस्तु पालेर, तरकारी खेती गरेर मौरी पनि पाल्न सकिन्छ,' उनले भने, 'बजारको उचित व्यवस्थापन भयो भने मौरी पालनबाट मनग्य आम्दानी लिन सकिन्छ।'
सुरेशको लक्ष्य अब आफ्नो उत्पादनलाई ब्रान्डिङ गर्ने छ। अहिले उत्पादन भएको मह भाँडोमा राखेर बजार पठाउने गरेका उनी अब आफ्नै कम्पनी 'बस्नेत बी फर्म' को ब्रान्डमा बजार पठाउन चाहन्छन्। यसका लागि अनुज्ञापत्र लिने प्रक्रियामा छन् उनी।
'अरू व्यापारीलाई मह दिनुभन्दा आफ्नै ब्रान्डको मह बिक्री गर्दा बढी फाइदा हुन्छ। मैले यसका लागि प्रक्रिया सुरू गरेको छु। झन्झटिलो प्रक्रिया हुने भएकाले ढिलाइ भइरहेको छ,' ४५ वर्षीय बस्नेतले भने।
नेपालमा मेलिफेरा र सेरेना जातको मौरी पालन गरिन्छ। मेलिफेरा २०५१ सालबाट व्यावसायिक पालन सुरू गरिएको हो। सेरेना स्थानीय जातको हो। अहिले करिब २ लाख ४५ हजार घार मौरी पालन भइरहेको नेपाल मौरीपालक महासंघको तथ्यांक छ। मेलिफेरा ३ हजार ५४५ र सेरेना १४ सय मेट्रिक टन उत्पादन हुने गरेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख महेश रेग्मीले परियोजना कार्यान्वयन इकाइ अन्तर्गतको मौरी जोनमा १२ हजार ३०० घार मौरी पालिएको बताए।