काठमाडौंको बौद्धस्थित टाउन प्लानिङ (नयाँ वस्ती)मा नौ करोड लगानीमा अत्याधुनिक रिफ्रेस रिक्रियसन सेन्टर सञ्चालनमा आएको छ।
व्यवसायी भुवन राज लामिछानेले जाडो र गर्मी दुबै सिजनमा स्विमिङ गर्न मिल्ने व्यवस्था सहितको रिफ्रेस रिक्रियसन सेन्टर सञ्चालनमा ल्याएका हुन्।
इन्डोर हिटेड स्विमिङ पुलमा नेपालमै पहिलो पटक अत्याधुनिक शैलीको फिल्टर मेशिनबाट हरेक २४ घण्टामा पानी फिल्टर गरेर पानीलाई स्वच्छ तथा स्वास्थ्यवर्धक बनाइने उनले बताए।
'हामीले आन्तरिक र विदेशी पर्यटकलाई लक्षित गर्दै फरक खाले स्विमिङ पुल तयार गरेका छौं,' उनले भने, 'यसका साथै लाइफ सेभिङ स्किलको अभियान पनि घोषणा गरेका छौं।'
रिफ्रेस रिक्रियसन सेन्टर गत वैशाखदेखि सञ्चालनमा ल्याएका हुन्। ४ रोपनी क्षेत्रफलमा फैलिएको सेन्टरभित्र लामिछानेले हालसालै अन्य सुविधा पनि थपेका छन्। जहाँ अत्याधुनिक उपकरणसहितको जीमखाना, काडिर्यो, साउना र ज्याकुजीको सेवा उपलब्ध छ।
यो सेन्टरमा शारीरिक व्यायामदेखि मनोरञ्जसम्मका सम्पूर्ण सुविधा उपलब्ध गराइएको उनले बताए।
'इन्डोर हिटेड स्विमिङ पूलसँगै बेबी स्विमिङ पुल, जिम, कार्डियो, साउना, स्टिम, जाकुजीसहितका सुधिवा उपलब्ध छन्,' उनले भने, 'बिहान ६ बजेदेखि राति ९ बजेसम्म खुला हुन्छ।'
स्विमिङ तथा अन्य सुविधा लिन सेन्टर पुग्नेहरूलाई लक्षित गर्दै उनले रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन्। सेन्टरको औपचारिक उद्घाटन भने भएको छैन। अहिले बालबालिकाका लागि खेल्ने पार्क पनि बनाउन लागिएको बताए।
पर्याप्त पार्किङको सुविधा रहेको यो सेन्टर गुहेश्वरीको बागमती करिडोरबाट समेत छोटो दुरीमा छ। सेन्टरमा पौडी खेल्न नजान्नेहरूलाई प्रशिक्षणसमेत दिइने उनले बताए।
'पौडी खेल्नु मनोरञ्जन मात्र होइन शारीरिक व्यायामको उत्तम तरिका पनि हो अर्को कुरा यसले स्ट्रेज म्यानेज्मेन्टमा पनि सहयोग पुर्याउँछ,' उनले भने, 'पौडी खेल्ने कला सिकियो भने प्राकृतिक विपत्तिमा निकै उपयोगी हुन्छ। त्यसैले सबैले पौडी खेल्न सिक्नुपर्छ।'
उनका अनुसार यो स्विमिङ पुलसँगै शारीरिक व्यायामका लागि स्वदेशीसँगै विदेशीहरू पनि पुग्ने गरेका छन्। बौद्ध नजिकै रहेकाले पनि आसपासका पर्यटकहरू पुग्ने गरेको उनले बताए। 'कतिपयले विदेशीहरूले प्रशिक्षण पनि लिनुभएको छ,' लामिछानेले भने, 'हाम्रो उद्देश्य नै स्वदेशीसँगै विदेशीलाई पनि स्विमिङसँगै व्यायाम गराउनु हो।'
सेन्टरमा थप कपी सप, स्पोर्सट्स बार लगायत बन्न बाँकी रहेको उनले बताए। लामिछाने यसअघि अटो मोबाइल/यातायात क्षेत्रमा आवद्ध थिए। बौद्धको टुसालमा उनको बजाजको शोरूम सञ्चालनमा छ।
रिफ्रेस रिक्रियसन सेन्टर सञ्चालन गरिएको ठाउँमा पनि उनले शोरूम खोल्नका लागि जमीन लिएका थिए। तर पछि अन्तर्राष्ट्रिय स्तरको इन्डोर स्विमिङ पुल र शारीरिक व्यायामका लागि आवश्यक सुविधा सहितको सेन्टर खोल्ने योजना बनाएका हुन्।
'सहरमा अन्तर्राष्ट्रिय स्तरको मापदण्ड भएको इन्डोर स्विमिङ पुलको आवश्यकता देखेपछि रिफ्रेस रिक्रियसनको अवधारणा ल्याएको हुँ,' उनी भन्छन्, 'स्विमिङ खेल्न मात्र नभइ हरेक व्यक्तिले सिक्नुपर्छ जसले आपतविपतमा पनि काम लाग्छ।'
यो सेन्टरमा स्विमिङ गर्नका लागि जाडोयाममा एक हजार र गर्मीयाममा आठ सय रूपैयाँ लाग्छ। साउना, स्टिम र जाकुजीको दुई हजार रूपैयाँ, जीम र कार्डियोको सात सय रूपैयाँ लाग्ने उनले बताए। साथै स्विमिङ कोर्ष जाडोयामका लागि २० हजार र गर्मीयामका लागि १५ हजार लाग्नेछ।