बर्दियाको गुलरिया नगरपालिका–८ मा नयाँ टायल उद्योग सञ्चालनमा आएको छ। लुम्बिनी सेरामिक्स कम्पनीले 'लेमिनार' ब्रान्ड नाममा टायल उत्पादन गर्ने गरी उक्त उद्योग सञ्चालनमा ल्याएको हो।
टायलमा आत्मनिर्भर बन्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याएको कम्पनीका निर्देशक अभिनव चुरिवालले जानकारी दिए।
हाल नेपालले वार्षिक करिब दस अर्ब रूपैयाँभन्दा बढी रकमको टायल आयात गर्दै आएको छ।
'२०७२ को भूकम्पपछि टायल खपत बढेको छ। उद्योगहरू पनि थपिएका छन्,' चुरिवालले भने, 'टायलमा आत्मनिर्भर बन्ने उद्देश्यले हामी पनि थपिएका हौं।'
उनका अनुसार यो उद्योग 'भिट्रिफाइड' टायल उत्पादन गर्ने पहिलो स्वदेशी उद्योग हो। हावा, पानी नछिर्ने र टल्काउन नपर्ने चम्किलो टायललाई 'भिट्रिफाइड' टायल भनिन्छ। सेरामिक टायलको तुलनामा यो बलियो हुने उनले बताए।
साढे १२ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगमा तीन सय बढी कर्मचारी छन्।
'प्राविधिक कर्मचारी भारतीय छन् भने बाँकी स्थानीयलाई रोजगारी दिइएको छ,' उनले भने।
वार्षिक चार करोड १५ लाख वर्ग फिट टायल उत्पादन गर्ने उद्योगको क्षमता छ। सञ्चालनको पहिलो वर्ष नै कम्पनी ८० प्रतिशत क्षमतामा सञ्चालन हुने उनले बताए। हाल भने दैनिक एक लाख ४० हजार वर्ग फिट टायल उत्पादन भइरहेको छ।
यो उद्योगमा तीन अर्ब रूपैयाँ लगानी भएको निर्देशक चुरिवालले जानकारी दिए।
उद्योगले १२० / ६०, १२० / २० , ६० / ६०, ४० / ४० सेन्टिमिटर गरी चार आकारका टायल उत्पादन गर्दै आएको छ।
लेमिनार टायल आवासीय तथा व्यावसायिक भवन दुवैमा प्रयोग गर्न सकिन्छ।


'घरभित्र, बाहिर, भित्ता, भुइँ, बरन्डा, पैदल मार्ग तथा बगैंचा सबैतिर यो टायल प्रयोग गर्न सकिन्छ,' उनले भने, 'यो टायल लगाउँदा ग्राहकलाई लक्जरियस अनुभव हुन्छ।'
टायल बनाउन चाहिने माटो नेपालमा नपाइने भएकाले भारतको राजस्थानबाट ल्याइन्छ।
'यहाँ अहिलेसम्म हामीलाई चाहिने खालको माटो भेटेका छैनौं। आवश्यक खनिज पदार्थ भने डडेल्धुरामा भेटेका छौं,' चुरिवालले भने, 'अहिले उत्खनन सुरू गरिसकेका छैनौं। छिट्टै थाल्छौं।'
कम्पनीले डिजाइन, आकार, प्रयोग र फिनिसिङका आधारमा पाँच सयभन्दा बढी प्रकारका टायल उत्पादन गर्दै आएको छ। उद्योगले स्पेन, इटाली, चीन र भारतबाट ल्याएका प्रविधिबाट टायल उत्पादन थालेको उनले बताए।
हाल स्थानीयस्तर नै उद्योगको प्रमुख बजार हो। आगामी दिनमा बाहिर निर्यात गर्ने योजना छ। सोही अनुरूप नेपाल गुणस्तर चिह्न (आइएसओ) लिने तयारीमा रहेको कम्पनीले भारतबाट समेत भारतीय स्ट्यान्डर्ड लिने तयारी गरेको छ।
मापदण्डभित्र रहेर कार्बन उत्सर्जन कायम गर्न कम्पनीले उद्योगमा विभिन्न उपकरण राखेको छ।
त्यस्तै कम्पनीले भविष्यमा सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना समेत बनाएको छ। यसै अनुसार कम्पनी पब्लिक कम्पनीमा रूपान्तरण भइसकेको उनले बताए।
'हामी पब्लिक कम्पनीमा गइसकेका छौं,' उनले भने, 'आइपिओ निस्कासन गर्ने योजना छ।'










