सौराहाको बाघमारास्थित होटल जंगल क्राउनले १६ करोड लगानी थप गरी ४० कोठाको नयाँ भवन निर्माण गर्न लागेको छ।
सञ्चालनमा आएको १० वर्षपछि होटललाई स्तरोन्नति गरेर चार तारे बनाउन लागिएको अध्यक्ष तिलचन्द्र भट्टराईले जानकारी दिए।
सोमबार भट्टराई र पूर्वपर्यटन मन्त्री प्रेम आलेले नयाँ बन्ने तीन तल्लाको ४० कोठे भवनको शिलान्यास गरे। यो होटलमा अहिले ४३ कोठा छन्। पाहुनालाई स्वीमिङ पुल, स्पा र हेल्थ क्लबको समेत सुविधा दिने गरी सरकारले तोकेको मापदण्ड पूरा गरेर चार तारेमा स्तरवृद्धि गर्न लागेको भट्टराईले जानकारी दिए।
भवनमा फरक–फरक स्वाद र परिकारका रेष्टुरेन्ट, ५ सय बढी क्षमताको मिटिङ हल, ४ वटा स्वीट रूमसहित ३६ वटा डिलक्स कोठा हुनेछन्।
होटलका सञ्चालक तथा कार्यकारी प्रमुख सन्तोष गिरीले २ वर्षभित्र होटलको स्तरोन्नति भइसक्ने बताए।
दुई विघा बढी क्षेत्रफलमा सञ्चालन भइरहेको होटल जंगल क्राउनमा हालसम्म करिब ८५ करोड रुपैयाँ लगानी भइसकेको उनले बताए।