औद्योगिक तथा व्यवसायिक घरुना चौधरी ग्रुपले गत आर्थिक वर्षमा साढे १८ अर्ब रूपैयाँभन्दा बढीको राजस्व तिरेको जनाएको छ।
चौधरी ग्रुपका प्रवक्ता मधुसुदन पौडेलले जारी गरेको विज्ञप्ति अनुसार आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर बुझाएको हो।
चौधरी ग्रुपले बुझाउने राजस्व त्यसअघिको वर्षको तुलनामा १५ प्रतिशतले बढेको छ। आर्थिक बर्ष २०७९/८० मा चौधरी ग्रुपमार्फत १६ अर्ब १४ करोड रूपैयाँ कर संकलन भएको थियो।
'राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूल वातावरणकाबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउन सकेकोमा हामीलाई खुसी लागेको छ। यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ,' चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले भने, 'राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौँ।'
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय वृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताए।
'हामीले प्रत्येक वर्ष राजस्वमा योगदान बढाउँदै लगेका छौँ र आगामी वर्षहरूमा पनि यो वृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छ,' प्रवन्ध निर्देशक चौधरीले भने, 'हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौँ। यसबाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने विश्वास छ।'
नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना नगरिएको भन्दै चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहमार्फत बुझाइएको राजस्व सार्वजनिक गर्दै आएको छ।
करदाताको रूपमा व्यवसायमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना नभएको चौधरी ग्रुपले जनाएको छ।