सुर्खेतमा प्रमिला बुढा फेन्सी व्यवसायीको रूपमा चिनिएकी थिइन्। एकदिन उनले फेन्सी बेच्नुपर्यो।
व्यापार राम्रो हुन्जेल सबैले हाइ हाइ गरेका थिए जब उनी फेन्सी बेच्नुपर्ने अवस्थामा पुगिन् उनका दुखका दिन सुरू भए।
१२ वर्षअघि २२ वर्षकै उमेरमा उनको विहे भएको थियो। त्यसपछि उनले फेन्सी पसल सुरू गरेकी थिइन्। एउटा लघुवित्तबाट साढे दुई लाख रुपैयाँ ऋण लिएर वीरेन्द्रनगरको बीच बजारमा फेन्सी पसल राखिन्। पसल राम्रो चल्दै गयो। मुनाफा कमाउँदै गयो। उनको पसल सुर्खेतमा नामी भयो।
फेन्सी व्यवसायबाट कमाएको मुनाफा घरपरिवारमा खर्च भयो। उनले लगानी बढाउन पाइनन्। लगानी थप्न ऋण लिन थालिन्। ऋण बढ्दै ६० लाख रूपैयाँ पुग्यो। पसलको मुनाफा राम्रै भए पनि ऋणको भारले थिचिँदै गएपछि प्रमीला बिस्तारै परिवारबाट एक्लिन थालिन्। परिवारको साथ पाउन पाइनन्।
अन्ततः उनी फेन्सी पसल बेच्ने निर्णयमा पुगिन्।
फेन्सी बेचेर घरमा बस्ने सुविधा उनलाई थिएन। यसैपनि व्यवसायमा उनको मन बसिसकेको थियो।
व्यवसाय त गर्नु नै थियो। वीरन्द्रनगर बजारमै पूजासामग्री बेच्ने पसल किनिन्। त्यसमा पनि केही ऋण लाग्यो।
पूजाका धेरै सामग्री आफै तयार पार्थिन्।
फेन्सी पसल ठूलो थियो, नाम चलेको थियो। त्यसको तुलनामा पूजा सामग्रीको पसल झिनो ठानियो। व्यवसाय बढ्दै जानुपर्नेमा घटुवा भएको अर्थ लाग्यो।
‘म ठूलो फेन्सी पसल चलाएर नाम कमाएकी मान्छे, पूजासामग्री बेच्न थालेपछि अरूले मलाई रोडमा पुगेको सम्झे। त्यति ठूलो फेन्सी चलाएको मान्छे किन ध्वजा र घण्टी बेच्न थाल्यौ भने,’ उनले भनिन्, ‘मलाई त ठिकै लागेको थियो। परिस्थिति जस्तो भए पनि आफूले राम्रै गरेको छु भन्ने विश्वास थियो।’
उनी चाँडै अलिक ठूलो व्यवसाय गर्ने सोचमा थिइन्। बुटिक डिजाइन उनको प्राथमिकतामा थियो तर यसका लागि केही पढाइ र तालिम आवश्यक थियो। यसनिमित्त खर्च व्यवस्थापन गर्न सकिनन्।
पूजासामग्रीको पसल राम्रै चलेको थियो। अलिक ठूलो व्यवसायको योजनामा लाग्दै गर्दा देशमा कोरोना भाइरस संक्रमण (कोभिड) को लहर आयो। लकडाउनले व्यवसायमा असर पुर्यायो। ऋणले थिचिएकी प्रमिलाका लागि परिस्थिति निकै प्रतिकूल भइदियो।
‘मैले व्यवसायका लागि व्यक्तिसँग महँगो ब्याजमा ऋण लिएकी थिएँ। त्यही बेला कोभिडले लकडाउन भएर व्यवसाय ठप्प हुँदा म डिप्रेसनमा जाने अवस्था आयो,’ उनले भनिन्, ‘हृदयाघात होला जस्तो भयो। मर्ने कि ठाउँ छोडेर भाग्ने, यस्तो स्थिति भयो।’
कतिपयले त ‘यो भाग्छे’ भन्दै टिप्पणी गरेको पनि उनले थाहा पाइन्। परिस्थिति निकै कठिन भइदियो तर उनले हिम्मत हारिनन्। अघि बढ्छु भन्ने आँट गरिन्।
त्यही आँटले आज उनी नयाँ खालको व्यवसायमा फेरि चम्किरहेकी छन्।
हिम्मत र मिहिनेतले सुर्खेतमा एउटा ‘डेकोरेशन ब्रान्ड’ स्थापना भएको छ। उनको ब्रान्डले पास्नीदेखि बिहेसम्मका उत्सवहरूको सजावट गर्छ। उनलाई काम सघाउन आठ जना कर्मचारी छन्।
प्रमीलाले सुर्खेतको वीरेन्द्रनगरमा ‘लगनगाँठो’ नामको पसल चलाएकी छन्। उनले सजावटको व्यावसायिक पेसा गरेको तीन वर्ष भयो। व्यवसाय दर्ता गरेको एक वर्ष भयो। एक वर्षभित्रै थप दुई ठाउँमा शाखा विस्तार गरिन्।
प्रमीलाको लगनगाँठो पसलले सिजनमा महिनामै २५ लाख रुपैयाँसम्मको कारोबार गर्छ। उनका अनुसार मासिक न्यूनतम पाँच लाख रुपैयाँको कारोबार भएकै हुन्छ।
यति ठूलो कारोबारी हुन उनले लगानी गर्न परेको थिएन। यो काम पनि उनले युट्युब हेरेर सिकेकी हुन्।
मान्छेले ऋण तिर्न नसकेर भाग्छे भन्दै कुरा काटिरहेका बेला उनी युट्युबमा सजावटका सामग्री बनाउने भिडियो खोजीखोजी हेर्न थाल्दै थिइन्। पूजासामग्रीको पसल सम्हाल्दै भिडियोबाट काम सिक्दै गइन्। करिब तीन महिनामा उनलाई कामको हिम्मत आयो।
अन्ततः प्रमीलाले सजावटको व्यवसाय गर्ने निधो गरिन्। मिल्दोजुल्दो व्यवसाय गर्नेहरूको काम हेरेर पनि केही आइडिया लिने प्रयास गरिन्। प्रमीलाले सिक्दै गरेको उनी एक साथीले थाहा पाएकी थिइन्। एक दिन ती साथीले सजावटको कामको कुरा गरिन्।
‘ती साथीले सजावटको एउटा कामको कुरा गरिन्। साढे एक लाख रुपैयाँ दिने भइन्,' उनले भनिन्, ‘त्यो सजावटको काम गरेबापत मलाई डेढ लाख दिने सम्झौता भयो। सामान र पैसा नभए पनि मैले आँट गरें।’
काम दिने साथीले प्रमीलालाई अग्रिम ५० हजार रूपैयाँ दिइन्। त्यही पैसा लिएर उनी नेपालगञ्ज गइन् र आवश्यक सामान किनेर ल्याइन्।
सजावटको काम पहिलोपटक गर्न लागेकी थिइन्, अनुभव थिएन। ज्यालादारी सहयोगी साथमा लिएर काम सुरु गरिन्। भनेअनुसार गर्दै गइन्, काम सम्पन्न भयो।
‘आफ्नै तरिकाले सजाएँ, निकै राम्रो भयो,’ प्रमीलाले त्यो समय स्मरण गरिन्, ‘काम दिने मान्छे खुसी भए। पछि बिहेको सजावट गर्ने काम पनि मलाई नै दिए।’
अलिअलि काम आउन थाल्यो। उनले २०७८ सालमा व्यवसायका रूपमा अघि बढाइन्। मानिसहरू भेट्दै आफ्नो कामका बारे सुनाउन थालिन्। आफ्नो ‘व्यावसायिक कार्ड’ बाँडिन्।
बिस्तारै कामको गति बढ्न थाल्यो। सामान घरमै राखेर काम जिम्मा लिन थालिन्।
काम बढ्दै गयो। आम्दानी हुन थाल्यो। अब बजारमा कोठा भाडामा लिएर पसल राख्न सक्छु भन्ने विश्वास भयो। एउटा सटर भाडामा लिइन्। काम बढ्दै गएपछि सामान पनि थप्नुपर्ने भयो। कोठा पनि थपिन्।
काम बढ्दै गएपछि सहयोगीहरू राखेर सुर्खेतकै छिन्छुमा एउटा शाखा चलाएकी छन्। गर्दै जाँदा उनी काठमाडौं पुगिन्। टोखामा पनि शाखा चलाएकी छन्।
उत्सवको महत्त्व अनुसार सजावट गर्नुपर्छ, सजावटमा केही खर्च गर्नुपर्छ भन्ने बुझाउन प्रमीलालाई निकै कठिन भयो।
‘सजावटमा लगानी गर्नुपर्छ भनेर कन्भिन्स गर्न (कुरा बुझाउन) निकै कठिन भयो। मान्छेहरू सजावटमा पैसा खर्च गर्नुलाई अनावश्यक खर्च ठान्छन्,’ उनी भन्छिन्, ‘म कयौं मान्छेसँग आफ्नो कार्ड लिएर पुगेकी छु। उनीहरूलाई डेकोरेशन (सजावट) को महत्त्व सम्झाएकी छु।’
सुर्खेतमा उत्सव सजावटका लागि खुलेको पहिलो पसल प्रमीलाकै हो।
‘केही दिन कामै नपाएर छोड्ने मनस्थिति बनेको यो (सजावट) व्यवसायमा अहिले एकछिन पनि फुर्सद छैन,’ उनी भन्छिन्, ‘अनलाइन अर्डर आउँछ। बिहेको लगन धेरै भएको समय त रातदिन काम हुन्छ।’
उनी सजावटमा नयाँ आइडिया खोजी गर्छिन्। गुणस्तरीय सामग्री प्रयोग गर्छिन्। कामको गुणस्तरले आफूप्रति विश्वास बढेको उनको भनाइ छ।
आजकाल प्रमीला सजावटको कामका लागि वीरेन्द्रनगरबाहेक अन्य सहरमा पनि पुग्छिन्। अन्य जिल्लामा पनि पुग्छिन्। होटल र रेस्टुरेन्टबाट पनि सजावटको अर्डर आउँछ।
यो व्यवसायमा प्रमीलाले आफ्नो लगानी गर्नु परेन। कामबाट बचेको पैसाबाटै लगानी गर्दै अघि बढिन्।
उनले भनिन्, ‘खासमा मेरो लगानी शून्य भन्दा पनि हुन्छ। अहिले महिनामा २५ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ।’
फेन्सी पसल गर्दा लागेको ऋण सजावटकै व्यवसायबाट कमाएर तिरिन्। उनी ऋणमुक्त भएकी छन्। हाल उनीसँग एक करोड रुपैयाँ बराबरको सामान छ।
परिवारमा सम्बन्ध राम्रो छ तर व्यवसायमा एक्लै छिन्।
समयको मागअनुसार बजारको आवश्यकाता पहिल्याउन र मिहिनेत गर्न सकेकाले आफू अघि बढेको प्रमीलाको भनाइ छ।