बजारमा पाइने स्यानिटरी प्याडको प्रयोगले आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि स्यानिटरी प्याडको उद्यम सुरू गरेकी रुपन्देहीको तिलोत्तमाकी अन्जु थापा क्षेत्री सर्वोत्कृष्ट उद्यमी बनेकी छन्।
तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा आयोजना गरिएको नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम द्रुतीकरण कार्यक्रमबाट अन्जु सर्वोत्कृष्ट उद्यमी घोषित भएकी हुन्।
दायित्वले तिलोत्तमा नगरपालिकाको सहयोगमा विगत एक वर्षदेखि चौथो संस्करणको उद्यम योजना तथा लगानी प्रस्तुती कार्यक्रम संचालन गरेको थियो। सोही कार्यक्रममा सहभागी ८० जनाबाट विभिन्न चरणमा छनोट भएका उत्कृष्ट १० जनाबाट अन्जुलाई सर्वोत्कृष्ट उद्यमी घोषणा गरिएको हो।
सर्वोत्कृष्ट घोषणा भएकी अन्जुले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। अन्जुले तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा अञ्जु स्यानिटरी प्याड उद्योग संचालन गर्दै आएकी छन्।
बजारमा पाइने स्यानिटरी प्याडको प्रयोगले शरीरमा चिलाउने समस्या आएपछि उनले पाँच वर्ष पहिले आफ्नै घरबाट कटनको कपडाबाट ‘वासेबल’ (धुन मिल्ने) प्याडको उद्योग संचालन गरेकी थिइन्।
२०७६ सालमा घरको एउटा कोठामा केही थान कपडा र एउटा सिलाई मेसिनबाट सुरू गरेको उनको स्यानिटरी प्याड उद्योगमा अहिले २५ लाख भन्दा बढी लगानी पुगेको छ भने त्यही उद्योगले तिलोत्तमा नगरपालिकामा सर्वोत्कृष्ट उद्यमीको उपाधि जिताएको छ।
दैनिक ३ सय पिस स्यानिटरी प्याड उत्पादन गर्ने अन्जुले बजारसम्म पुर्याउने प्रमुख माध्यम नै सामाजिक संजाललाई बनाएकी छन्।
‘बिक्रीको लागि अहिलेसम्म बजार सम्म लिएर जानु परेको छैन। फेसबुक, टिकटक, इन्स्टाग्रामबाटै नेपालका विभिन्न जिल्लासँगै विदेशमा समेत अर्डर आउने गर्छ,’ उनले भनिन्।
सुरूका दुई वर्ष आफन्त, नजिकका साथी र टोल छिमेकका महिलाहरूसामु मात्र पुगेको अन्जु प्याड अहिले भने अमेरिका, अष्ट्रेलिया, पोर्चुगल लगायतका देशमा रहेका नेपाली महिलाहरूको रोजाइ बनेको छ।
स्यानिटरी प्याड बिक्रीबाट मासिक तीन लाख रुपैयाँ सम्म आम्दानी गर्ने अन्जु सर्वोत्कृष्ट उद्यमीको उपाधीले उद्योगलाई अझै विस्तार गर्न प्रोत्साहन गरेको बताउँछिन्।
‘प्रतिष्पर्धामा भाग लिएका तिलोत्तमा नगरपालिका भरिका ८० जना उद्यमीबाट सर्वोत्कृष्ट घोषित भएर उद्योगलाई अझै विस्तार गर्न प्रोत्साहन मिलेको छ, अब छिट्टै नै स्यानिटरी प्याड एट्याच भएको पेन्टी बनाउने योजनामा छु,’ अन्जुले भनिन्।
अन्जुसँगै प्रतिष्पर्धामा सहभागी तिलोत्तमा-५ की सीमा शर्मा पाण्डे फस्ट रनरअप भएकी छन्।
सीमसन फेसन डिजाइनिङ इन्स्टिच्युटकी संचालक पाण्डेले उपाधीसँगै ७५ हजार रुपैयाँ हात पारेकी छन्। त्यस्तै, उत्कृष्ट अन्य ८ उद्यमी पनि जनही ५० हजार रुपैयाँसहित सम्मानित भएका छन्।
सर्वोत्कृष्ट र उत्कृष्ट सबै उद्यमीहरूलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, दायित्वका कार्यकारी निर्देशक सुशिल ढकाल लगायतले पुरस्कार प्रदान गरेका थिए।
नगर प्रमुख खाणले महिला उद्यमीहरूलाई विभिन्न विधामा सक्षम बनाउँदै उनीहरूको व्यवसायिक योजना, वित्तीय पहुँच, बजारीकरण, प्राविधिक साझेदारी र उद्यम वृद्धिका लागि नगरपालिकाले दायित्वसँगको सहकार्यमा विगत चार वर्षदेखि यसप्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए।
तिलोत्तमा नगरपालिका अन्तर्गतको यो चौथो संस्करण कार्यक्रम गरिएको दायित्वका कार्यकारी निर्देशक सुशिल ढकालले जानकारी दिए। प्रतिष्पर्धीहरूले संचालन गरेको व्यवसाय, उनीहरूले दिएको रोजगारी, त्यसबाट राज्यलाई पुग्ने आर्थिक योगदान र व्यवसायप्रति उनीहरूको प्रतिबद्धतालाई हेरेर उत्कृष्ट घोषणा गरिएको ढकालले बताए।