केशव पराजुली सानै उमेरदेखि उद्यमी हुने चाहना राख्थे। देशमै काम गरेर केही रोजगारीको अवसर सिर्जना गर्ने सपना थियो।
अहिले २४ वर्ष भएका केशवको सपना र चाहनाले त्यही बाटो समातेको छ। र, यो यात्राको रथमा उनको सारथि हो 'नौलो कोसेली'।
नौलो कोसेली उपहारहरू घरघरै पुर्याइदिने अनलाइन गिफ्ट डेलिभरी कम्पनी हो। नेपालमा बनेका आकर्षक उपहारहरू साथीसंगी, आफन्तका लागि यहाँबाट अर्डर गर्न सकिन्छ।
यसले खास गरी क्यानभास, इम्ब्रोइडरी, फूलका गुच्छाहरू, फोटो फ्रेम, केक, धागोबाट हातले बुनेका उपहारका सामग्री अर्डरअनुसार घरघरै पुर्याइदिन्छ। पछिल्लो समयमा पहिरनमा सजिएका दुलहादुलही, उनीहरूको नाम र विवाहको मितिसहितको 'इम्ब्रोइडरी' (कपडामा सियो र धागोको सहायतामा हातले बुट्टा भरएको) अत्यधिक रूचाइएको कम्पनीका सिइओ केशव बताउँछन्।
यी सामान नौलो कोसेली आफैंले बनाउने भने होइन। कम्पनीले यस्ता सामग्री बनाउने व्यक्तिहरूबाट लिएर उपभोक्तासम्म पुर्याउने हो।
विभिन्न सामाजिक सञ्जालमा आकर्षक सामग्री देखेपछि उनीहरूसँग सम्पर्क गर्ने र जोडिने केशवले बताए।
'नेपाली उत्पादन बिक्री गरियो भने उत्पादन गर्ने व्यक्तिलाई प्रोत्साहन हुन्छ। उपभोक्तालाई पनि नेपाली सामग्री उपभोग गर्ने बानी पर्छ। त्यसैले यहीँ बनेका उपहारका सामग्री मात्रै हामी उपलब्ध गराउँछौं,' उनले भने।
ललितपुर, कुसुन्तीका बासिन्दा हुन् केशव। उनले यो कम्पनी २०७९ वैशाखमा सुरू गरेका हुन्। एक वर्षमा कम्पनीको कारोबार निरन्तर बढ्दै गएको छ। कम्पनीमा हाल सात जनाले रोजगारी पाएका छन्। त्यस्तै सामानको प्रकृतिअनुसार विभिन्न क्षेत्रमा काम गर्ने २४ जना व्यक्ति जोडिइसके। नौलो कोसेलीले यिनै व्यक्तिहरूले बनाएका केकदेखि अरू उपहारका सामान सामाजिक सञ्जालमा विज्ञापन गर्छ। त्यसपछि अर्डरअनुसार प्याकिङ गरेर उपभोक्तासम्म पुर्याउँछ।
यसरी उपहार पुर्याउँदा कम्पनीले थोरै कमिसन राख्ने उनले बताए।
'हामी उत्पादकसँग सहकार्य गरेर थोरै फाइदा राख्छौं। लगभग बजारकै मूल्यमा ग्राहककहाँ सामान पुर्याउँछौं,' उनले भने, 'हाम्रो फाइदाले ग्राहकलाई मूल्यमा असर पर्दैन।'
नौलो कोसेलीमार्फत विदेशमा रहेका नेपालीहरूले पनि कोसेली आदानप्रदान गर्छन्। प्रियजनबीचको दुरी कम गर्न आफूहरूले मद्दत गरेको केशवको विश्वास छ।
'हामी कोही देशभित्रै छौं, कोही विदेशमा छौं। जहाँ भए पनि आफन्त वा प्रिय मान्छेको विशेष दिनमा नजिक आभाष गराउन प्रयत्न गरिरहेका छौं,' उनले भने, 'यसो गर्दा सम्बन्ध मजबुत हुन्छ। खुसी पनि बाँडिन्छ।'
कतिपयले 'सर्प्राइज गिफ्ट' अर्डर गर्छन्। जन्मोत्सव, वैवाहिक वर्षगाँठ र अन्य विशेष अवसरमा धेरै अर्डर आउँछ। प्रणय दिवस (भ्यालेन्टाइन्स डे) मा पनि भ्याइनभ्याइ भएको उनले बताए।
केक र उपहार सामग्रीको माग काठमाडौं उपत्यकामा धेरै छ। पोखरा, धरान, विराटनगर, झापा, बुटवल, भैरहवा, नेपालगन्जबाट पनि माग आउँछ।
'काठमाडौंमा धेरै मानिस छन्। उपहार साटासाट गर्ने प्रचलन पनि बढ्दै गएको छ। उत्सवहरूमा केक काट्ने चलन व्यापक भएको छ, त्यसैले यसको व्यापार पनि राम्रो छ,' उनले भने।
सामान पुर्याउन डेलिभरीमा एक जना कर्मचारी छन्। आवश्यकताअनुसार डेलिभरी कम्पनीहरूसँग समन्वय गरेर पनि पुर्याइन्छ।
अहिले नौलो कोसेलीले मासिक चारदेखि पाँच लाख रूपैयाँको कारोबार गरिरहेको उनले बताए। आम्दानी भने झन्डै डेढ लाख रूपैयाँ हुन्छ। यसबाट खर्च कटाएर बचत गर्न भने नसकेको उनी बताउँछन्।
'अहिले फाइदामा गइसकेका छैनौं। तर भाडा लगायतको खर्च र सात जनाको टिम धानिएको छ। मेहनत गर्दै जाँदा राम्रो हुन्छ भन्ने आशा छ,' उनले भने।
उनका अनुसार अहिलेसम्म नौलो कोसेलीबाट ५१ हजार जनाले सेवा लिइसके। उनीहरूमध्ये १० प्रतिशत फेरि फर्किएर आएका छन्। नियमित सेवाग्राही हुनु व्यापारका निम्ति राम्रो हो।
'उपहार नजिकको मान्छेलाई दिने कुरा हो। त्यसमा पनि पटकपटक त दिइँदैन,' उनले भने, 'हामीकहाँ फर्केर आउने जति सेवाग्राही हुनुहुन्छ, त्यो संख्या उत्साहजनक छ।'
आगामी ६ महिनामा नियमित सेवाग्राहीको हिस्सा १५ प्रतिशत पुर्याउने उनको लक्ष्य छ।
केशवको उद्देश्य यति मात्र भने होइन। देशकै राम्रो र ठूलो गिफ्ट डेलिभरी कम्पनी बनाउने सपना देखेका छन्। यो सपनाको बिउ भने उनले ८ कक्षा पढ्दा नै रोपेका हुन्। केशव जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा कक्षा ८ मा पढ्थे। उनले पहिलोपटक एउटा अनलाइन बजारबाट व्यापार गरे। त्यति बेला उनले सेकेन्ड ह्यान्ड मोबाइल सस्तोमा किनेर फाइदा राखी बेचेका थिए।
त्यही समयदेखि उनलाई व्यापारमा आकर्षण बढ्यो। त्यति बेला उनी जम्मा १३ वर्षका थिए। केही समयपछि नै त्यही अनलाइनबाट किनेर उनले एउटा गितार पनि फाइदामा बेचे।
'त्यो बेला मेरो काम गर्ने उमेर थिएन। मलाई घरबाट बाहिर नजाऊ भन्नुहुन्थ्यो। त्यसैले मैले सामान किन्दा र बेच्दा मान्छेहरूलाई घरनजिकै बोलाउँथेँ। म अलि सानो छु, यतै ल्याइदिनुस् न भन्थेँ, ल्याइदिनुहुन्थ्यो,' उनले सुनाए।
केशवले घरबाट खाजा खान दिएको पैसा बचाएर व्यापार गरिरहेका थिए। त्यही बेलादेखि आफूमा व्यापारको क्षमता छ र भविष्यमा यसैलाई सदुपयोग गरेर अघि बढ्छु भन्ने सोचे। एसएलसीपछि भने पढाइमै ध्यान दिए। रूचिअनुसार व्यवस्थापन संकायमा प्लस-टु सके। अनि एउटा निजी विद्यालयमा पढाउन थाले।
'तर दिनभरि खट्दा महिनामा तलब ३५ सय आउँथ्यो। मलाई अब अरूको काम गर्न सक्दिनँ भन्ने भयो,' उनले सुनाए, 'तीन महिना मुस्किलले काम गरेँ। त्यसपछि आफ्नै व्यवसाय गर्ने सोचेर जागिर छाडिदिएँ।'
यसपछि उनले एउटा मेसिन किने र टिर्सट प्रिन्ट गरेर बेच्न थाले। उक्त मेसिन ३० हजार रूपैयाँ परेको थियो। स्कुल पढ्दा अनलाइन व्यापार गरेको पैसाबाटै त्यो मेसिन किनेको उनी बताउँछन्।
उनी घरमै टिसर्ट प्रिन्ट गरेर बेचिरहेका थिए। एकपटक टिसर्टको ठूलो अर्डर आयो। तर उनको कम्पनी दर्ता नभएकाले कारोबारका लागि दिनुपर्ने बिल भएन। यो अवसर चुक्यो। तैपनि करिब पाँच महिना यही काम गरे। करिब ९० हजार रूपैयाँ आम्दानी भयो।
'यो अवधि बुझाइका लागि राम्रै भयो,' केशवले भने।
स्नातकमा उनी बिबिए पढ्न थाले। त्यही बेला उनले एउटा अनलाइन बजार दर्ता गरे।
यसमा उनका बुबा पनि संलग्न भए। त्यसअघि बुबा ललितपुरमै फलफूल पसल चलाउँथे। पसल राम्रै चले पनि अचानक बन्द गर्नुपर्ने अवस्था आयो। त्यसैले बुबा घरमै थिए। केशवले त्यही मौकामा बुबालाई अनलाइन बजारमा संलग्न गराए। यो अनलाइन झन्डै डेढ वर्ष चलाए। त्यो समयमा चार लाख रूपैयाँ आम्दानी गरेको उनी बताउँछन्।
'त्यो बजार यो चिजका लागि हो भनेर खास भएन। लुगाकपडादेखि घरायसी प्रयोजनसम्मका सबै सामान एकै ठाउँ अलि नमिलेजस्तो भयो। यसरी एउटा ब्रान्ड बनाउन नसकिने रहेछ भन्ने भयो,' उनले भने, 'त्यसपछि व्यवसाय गर्नेभन्दा पनि उद्यमशीलता विकास गर्ने र एउटा ब्रान्ड बनाउने हिसाबले मैले नौलो कोसेली सुरू गरेको हुँ।'
देशमै केही गर्छु भन्ने सोच राखेका युवाहरूलाई प्रोत्साहन गर्न सरकारले पनि सोच्नुपर्ने उनको भनाइ छ।
(नौलो कोसेलीको फेसबुकका लागि यहाँ र वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।)