काठमाडौंमा संसारका विभिन्न देशका खानेकुरा पाइन्छ। इन्डियन, चाइनिज, कोरियाली, कन्टिनेन्टल लगायत परिकार खोज्न त मुश्किल छैन। भर्खरै फैलिन थालेको अरेबियन परिकार खान मन लाग्यो भने नि!
यसको एउटा विकल्प हुन सक्छ ठमेलको भगवती बहालमा रहेको 'मजाज मेडिटेरियन फुड एन्ड सिसा लाउन्ज।'
अरेबियन रेस्टुरेन्ट मजाज गत वैशाखमा मात्र सुरू भएको हो। तीन महिनामै मजाज अरबी खानाका पारखी र फरक परिकारको मजा लिन चाहनेहरूको रोजाइमा परेको सञ्चालकहरूमध्येका एक सुदीप बाँस्कोटा बताउँछन्।
'ठमेलमा खुलेको पहिलो अरेबियन रेस्टुरेन्ट भएर होला, मजाज धेरैको रोजाइमा परेको छ,' सुदीपले भने, 'रेस्टुरेन्टको डिजाइन अरेबियन शैलीको छ, खानाको स्वाद पनि उतैको छ।'
सुदीपका अनुसार अरेबियन भाषामा मजाजको अर्थ 'मुड' हो। रेस्टुरेन्ट पुग्नेको 'मुड रिफ्रेस' गर्ने वातावरण बनाएको उनको भनाइ छ।
रूफ टप रेस्टुरेन्ट भन्न मिल्ने गरी पाँचौं तलामा छ मजाज। यसमा सुदीपसहित चार जनाको लगानी छ। यसको डिजाइन पनि उनीहरूले नै गरेका हुन्।
पाँच तले घरको छतमा अरबी शैलीको संरचना बनाइएको छ। झट्ट हेर्दा माटाको जस्तो देखिन्छ तर कंक्रिटकै हो। बस्नलाई चिटिक्क परेका सोफा छन्। रेस्टुरेन्ट झिलीमिली बनाउन चम्किलो रंगीन प्रकाशको संयोजन गरिएको छ। रंगीन प्रकाशमा 'लाइभ म्युजिक' मा झुम्मिनेहरूले रेस्टुरेन्टको माहोल तताइदिन्छन्।
'अरबतिर यही शैलीमा रेस्टुरेन्ट बनाइएको हुन्छ। हाम्रो टिममा एक जना साथी इराकी हुनुहुन्छ। मजाज उहाँकै डिजाइन हो,' सुदीपले भने, 'रेस्टुरेन्ट सुरू गर्नुअघि हामीले थुप्रै ठाउँमा अवलोकन गरेका थियौं। यो डिजाइन फरक छ।'
मजाजमा अरबी खानाको मजा लिनेहरूलाई केही बेरका लागि नै सही, अरबतिरकै कुनै रेस्टुरेन्टमा पुगेको आभास हुन्छ।
अरेबियन रेस्टुरेन्ट भएकाले ९० प्रतिशत परिकार अरेबियन नै हुन्छ। यसबाहेक इटालियन र नेपाली परिकार, पिज्जा, पास्ता, मःमः, सुकुटी पनि पाइन्छ। कोही पनि फर्किनु नपरोस् भनेर अन्य परिकार पनि राखिएको सुदीपले बताए।
अरेबियन स्ट्रिट फुड यहाँको विशेषता हो। सुदीपका अनुसार मजाजमा पहिलो रोजाइको परिकार भएको छ मन्डी। चामल र चिकेन मिसाएर बनाइने मन्डी बिरयानीको अरबी नाम हो।
मन्डीपछि चिकेन मसावी र मटन मसावी, फलाफेल, कबाब, चिकेन सम्बो सेक लगायत परिकार बढी रूचाइएको छ। सम्बो सेक समोसा जस्तै हो तर आलुको साटो भित्र चिकेन राखिएको हुन्छ। शाकाहारीका लागि चीज राखेर सम्बो सेक बन्छ।
अरबी अचार मजाजको अर्को विशेषता हो। रेस्टुरेन्टको भान्साअगाडि विभिन्न थरीका अचार सजाएका छन्। अचार किनेर लैजान पनि मिल्छ।
खानामा राख्ने मसला उनीहरू भारत र इराकबाट मगाउँछन्।
अरबी स्वादका परिकार बनाउन मजाजमा प्यालेस्टाइनका नागरिक सेफ छन्। पक्का अरबी खानाको स्वाद दिन प्यालेस्टाइनी सेफ ल्याएको सुदीप बताउँछन्। अहिले थोरै परिकार छन्, बिस्तारै थप्दै जाने उनीहरूको योजना छ।
रेस्टुरेन्टको नाममा जोडिएअनुसार यहाँको अर्को विशेषता सिसा (हुक्का) पनि हो। सामान्य, फ्रुट, डबल लेयर फ्रुट, मजाज स्पेसल गरी यहाँ चार थरीको हुक्का पाइन्छ। यिनमा राख्ने 'फ्लेभर' इराकबाट मगाइने उनले बताए।
'फ्रुट हुक्का मजाजले नै पहिलोपटक ल्याएको हो,' सुदीपले भने, 'हामीकहाँ हुक्का एकदमै धेरै जान्छ। अन्त नपाइने फ्लेभर भएकाले पनि हामीले रेस्टुरेन्टको नामसँगै जोडेका छौं।'
मजाजमा पाइने परिकारको मात्रा धेरै हुन्छ। यो अरबकै विशेषता हो।
'सबैजसो खानेकुरा हेभी नै हुन्छ,' सुदीपले भने, 'परिकारअनुसार एक सेट खाना दुईदेखि चार जनासम्मलाई पुग्छ।'
यो रेस्टुरेन्ट अपराह्न एक बजेदेखि राति १० बजेसम्म खुला रहन्छ। एकपटकमा दुई सय जना अटाउने क्षमता छ। ठमेल पर्यटकीय केन्द्र भएकाले मजाजमा स्वदेशी र विदेशी दुवै ग्राहक उस्तैउस्तै संख्यामा आउँछन्। शुक्रबार र शनिबार अग्रिम बुकिङ नभए सेवा पाउन मुश्किल पर्छ।
छोटो समयमै रेस्टुरेन्टप्रति आकर्षण बढेकाले सञ्चालकहरू उत्साहित भएका छन्।
मजाज चलाउने योजना २६ वर्षीय सुदीप र उनका इराकी साथी हम्जाको हो।
आइटी (सूचना प्रविधि) इन्जिनियर सुदीप सानैदेखिको रूचिले रेस्टुरेन्ट व्यवसायमा आएका हुन्। हम्जा भने करिब एक दशकदेखि नेपालमा छन्। करिब दस वर्षअघि ठमेलकै एक क्लबमा उनीहरूको पहिलो भेट भएको थियो। दुबैलाई 'डिजे' को माहोल मनपर्ने भएकाले त्यो बेलादेखि सँगै भए। हम्जा पहिल्यैदेखि नेपालमा केही व्यवसाय गर्न चाहन्थे। यही क्रममा उनीहरूले केही फरक र नयाँ काम गर्ने योजना बनाए।
नयाँ तरिकाले काम गर्ने परिकल्पना गर्दागर्दै पाँच वर्षअघि अरेबियन रेस्टुरेन्टको सोच आयो।
'नेपालमा अरेबियन शैलीको रेस्टुरेन्ट बनाउन सके दामी चल्छ होला भन्ने लाग्यो,' सुदीपले भने, 'खानेकुरा पनि अरेबियन स्वादको भएपछि नेपालीका लागि फरक गन्तव्य हुन्छ भन्ने सोच्यौं।'
उनीहरूले सुरूमा काठमाडौंको हात्तीसारमा 'मजाज' नाममै रेस्टुरेन्ट सुरू गरे। तर अपेक्षाअनुसार चलेन। ठाउँ उपयुक्त नभएको निष्कर्षमा पुगे तर करिब डेढ वर्ष त्यहीँ जसोतसो चलाए। नयाँ ठाउँ खोज्दै थिए, त्यही समय कोरोना लकडाउन भयो। उनीहरूले सेवा बन्द गरे।
लकडाउनताका नै सुदीप र हम्जाले अब अलिक ठूलो ठाउँमा पूर्ण अरबी शैलीको रेस्टुरेन्ट चलाउने निधो गरे। यसका लागि अलि धेरै लगानी चाहिने भयो। दुवै जनाले एक–एक जना लगानीकर्ता साथी खोजे, हम्जाले विदेशी र सुदीपले नेपाली। चार जना मिलेर आठ करोड रूपैयाँ जुटाए।
फुर्सदमा उनीहरू ठमेलको एलओडी क्लब गइरहन्थे। त्यही आसपास रेस्टुरेन्ट चलाउने विचार गरेर ठाउँ खोजी गरे।
'ठमेल पर्यटकीय क्षेत्र भएकाले यस्तो ठाउँमा अरेबियन थिमको रेस्टुरेन्ट खोल्न पाए चल्थ्यो भन्ने हामी चारै जनाको निष्कर्ष आयो,' सुदीपले भने, 'कोभिडले ठमेलका थुप्रै होटल बन्द भएका बेला हामीले चाहेअनुसारै ठाउँ फेला पार्यौं।'
करिब आठ महिनाअघि उनीहरूले निर्माण काम थाले। अनि गत वैशाखदेखि रेस्टुरेन्ट सुरू भएको हो। हाल मजाजमा ४८ जना कर्मचारी छन्। अरबी परिकार क्रमशः काठमाडौं उपत्यकाबाहिर पनि पुर्याउने सञ्चालकहरूको लक्ष्य छ।
'नेपालमा अरेबियन थिमका रेस्टुरेन्ट थोरै छन्। अरेबियन साजसज्जा त झन् कम छ,' सुदीप भन्छन्, 'हामी ठमेलकै नम्बर-वन रेस्टुरेन्ट बनाउने गरी अघि बढेका छौं।'
तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी