उद्योगी व्यवसायीको प्रतिनिधिमुलक संस्था, नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृच्व चयन गर्न काठमाडौंको प्रज्ञा भवनमा बुधबार बिहानदेखि मतदान सुरू भएको छ।
एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६० पदका लागि निर्वाचन हुँदैछ।
महासंघको विधानअनुसार अध्यक्षको लागि निर्वाचन नै गर्नुपर्ने छैन। तीन सदस्य निर्विरोध निर्वाचित भएका छन्।
६० पदका लागि भाग लिन १ सय १५ जनाबीच प्रतिस्पर्धा भइरहेको छ। यो निर्वाचनमा १ हजार ९ सय ९३ जनाले मत खसाल्दै छन्।
यी १ हजार ९ सय ५३ भोटलाई तीन भागमा विभाजन गरिनेछ- जिल्ला/नगर, एसोसियट र वस्तुगत। जिल्ला, नगरमा १ सय १७ जना मतदाता रहेका छन् भने बस्तुगतमा १ सय २३ र एसोसिटमा सबैभन्दा बढी १ हजार ७ सय ४८ जना रहेका छन्। साथै वरिष्ठ उपाध्यक्षको लागि द्विराष्ट्रिय ५ सदस्यको भोट पनि एसोसियटबाट नै गणना हुनेछ।
सम्बन्धित क्षेत्र (कलस्टर) मा उपाध्यक्ष वा सदस्य निर्वाचित हुनको लागि त्यही क्षेत्रमा बढी भोट ल्याउने विजयी हुनेछ।
तर वरिष्ठ उपाध्यक्षमा भने प्रतिशतको आधारमा मतको हिसाब हुने महासंघका प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले बताए।
महासंघको विधानअनुसार नै वरिष्ठ उपाध्यक्षमा जिल्ला, नगरको जम्मा मतभार ५० प्रतिशत रहनेछ भने एसोसियट र द्विराष्ट्रियको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहनेछ।
यस हिसाबले जिल्ला, नगरमा बलियो हुने वरिष्ठ उपाध्यक्षको उम्मेदवारलाई विजयी हुन सहज हुनेछ। कुनै एक वरिष्ठ उपाध्यक्षले जिल्ला, नगरको एसोसियटबाट १०० भोट र वस्तुगतबाट १० भोट पाउनु बराबरको मत सुरक्षा जिल्ला, नगरको ४ भोटले गर्नेछ।
अहिलेको मतदाता संख्याको हिसाबले एसोसियटको २५ भोट बराबर जिल्ला, नगरको एक र वस्तुगतको २.६ भोट बराबर जिल्ला नगरको एक भोट हुनेछ।
किनकि एसोसियट र द्विराष्ट्रियको गरी १ हजार ७ सय ५३ भोटको मत भार ३० प्रतिशत हुँदा, वस्तुगत १ सय २३ भोटको मतभार २० र जिल्ला, नगर १ सय १७ भोटको मत भार ५० प्रतिशत रहेको छ। जिल्ला, नगरबाट कुनै एक उम्मेदवारले पहिलो चरणमा ६५ भोट कटाएमा दोस्रो चरणमा प्रवेश हुने सम्भावना न्यून हुनेछ।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनको लागि ५० प्रतिशत बढी भोट अनिवार्य हुनेछ। पहिलो चरणबाट निर्वाचित नभएमा भने बढी भोट ल्याउने दुई उम्मेदवारको लागि बिहीबार मतदान गरिने कार्यतालिका महासंघ निर्वाचन समितिले तय गरेको छ।
वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई उम्मेदवार छन्। जिल्ला, नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, अरूणराज सुमार्गी र सुरकृष्ण वैद्य उम्मेदवार छन्।
बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, मनिषलाल प्रधान र सकुन्तला हिराचन उम्मेदवार छन्।
एसोसियट उपाध्यक्षमा भरत आचार्य र ज्योत्सना सुब्बा श्रेष्ठ उम्मेदवार छन्।