आठ दशक वर्षअघि गोपाल राई 'संघई' ले काठमाडौंको इन्द्रचोकमा कपास व्यवसाय सुरू गरेका थिए।
उनको इन्द्रचोकमा घर थियो। त्यसको छेउमै उनले कपासको खुद्रा पसल थापे। व्यवसायसँगै परिवार पनि बढ्न थाल्यो। पाँच छोरा र दुई छोरीको हुर्किँदै गए। उनीहरूले काममा सघाउन थाले। विभिन्न देशबाट कपडा ल्याउने र नेपालमा बेच्ने उनीहरूको मुख्य काम थियो। पछि व्यापार कपडामा मात्रै सीमित रहेन, काम व्यापारमा मात्रै केन्द्रित भएन। उनीहरूले विभिन्न कम्पनी चलाए। उद्योग खोले।
गोपालले सुरू गरेको त्यो व्यवसाय आज त्रिवेणी समूह बनिसकेको छ। यो समूहअन्तर्गत हाल करिब तीन दर्जन कम्पनी सञ्चालनमा छन्। तीन दर्जन अन्तर्राष्ट्रिय ब्रान्डको आधिकारिक बिक्रेता पनि हो।
गोपालका पाँच छोरा पुरूषोत्तम, सुवास, वीरेन्द्र, रामचन्द्र र गोविन्द त्रिवेणी समूहको व्यवसाय सम्हालिरहेका छन्। नाति पुस्ता पनि व्यापारमा आइसक्यो। त्रिवेणी गोपालकी श्रीमतीको नाम हो।
'हामी पाँचै भाइका छोराहरू व्यापार-व्यवसायका सारथि भएका छन्,' गोपालका काइँला छोरा रामचन्द्र संघईले भने।
असी वर्ष लामो व्यावसायिक इतिहास भएको त्रिवेणी समूहमा रामचन्द्र पूर्णकालीन रूपमा लागेके चालीस वर्ष नाघ्यो।
'काठमाडौंमा उच्च शिक्षा पढिसकेपछि २२ वर्षको हुँदै व्यवसायमा केन्द्रित भएको हुँ,' ६३ वर्षीय रामचन्द्रले भने, 'पहिले हामी कपडाको व्यापारमा मात्रै थियौं। पछि अन्य आयात केन्द्रित व्यापारहरू गरियो। पछिल्लो २७/२८ वर्षदेखि भने उत्पादनमा केन्द्रित छौं।'
समूहले आफ्नो पृथक र मजबुत औद्योगिक घरानाको पहिचान बनाएको उनको भनाइ छ।
त्रिवेणीले उत्पादनमूलक उद्योगतर्फ सिमेन्ट, ग्यास, धागो, जडीबुटी प्रशोधन र चिया उद्योगमा लगानी गरेको छ। सगरमाथा, विश्वकर्मा र गोरखा सिमेन्ट यसका उत्पादन हुन्। हिमाल र नवज्योति ग्यास, अमृत तेल, टोकला चियाका साथै लहर, एकता जस्ता लुगा धुने साबुन र डल्फिन मोड्युल्ड फर्निचर पनि यसकै हो।
प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया बैंक र महालक्ष्मी विकास बैंकमा त्रिवेणीको लगानी छ। ऊर्जा, शैक्षिक, कृषि, अटोमोबाइल्स, सिनेमा हल, मार्ट पनि समूहको लगानी भएका क्षेत्र हुन्। त्यस्तै लोरियल, प्रान, सनफिस्ट, फुजिफिल्म, सान्सुई, पानासोनिक, हकिन्स, गार्नियर लगायत अन्तर्राष्ट्रिय ब्रान्डका सरसामानको बिक्रेता हो।
कुनै समय रामचन्द्रका बुबा गोपालले १८/२० जना श्रमिक राखेर व्यवसाय गरेका थिए। अहिले त्रिवेणी समूहमा करिब १८ हजार रोजगारी सिर्जना भएको रामचन्द्र बताउँछन्।
त्रिवेणीलाई बजारमा चिनाएको भने चियाले हो।
'हाम्रो ग्रुपलाई बजारमा टोकला चियाले पहिचान दियो,' रामचन्द्र भन्छन्, 'नेपाली चिया बजारमा टोकलाको उपस्थिति ३० प्रतिशत छ।'
चियासँगै त्रिवेणी स्पिनिङ मिल्सको धागोको बजार फैलिरहेको उनी बताउँछन्। उनका अनुसार त्रिवेणीको धागो टर्की, भारत र बंगलादेशमा निर्यात हुन्छ।
'नेपाल बाहिर चियाका साथै धागोले पनि समूहको पहिचान विस्तार गरेको छ,' उनले भने, 'धेरै धागो उत्पादन गर्नेमध्येको एक हो हाम्रो कम्पनी।'
रामचन्द्र त्रिवेणी स्पिनिङ मिल्सका अध्यक्ष हुन्। हालै मात्र बंगलादेशले बंगलाबन्ध सुख्खा बन्दरगाहबाट धागो निर्यात गर्न अनुमति दिएको छ। योसँगै अब धागोको निर्यात अझै बढ्ने अनुमान उनले गरेका छन्।
'बंगलादेशको ढोका खुलेको छ। निर्यात बढाउन पनि हामी उद्योग विस्तार गर्ने योजनामा छौं,' उनले भने।
निजी क्षेत्रबाट पहिलो सिमेन्ट उद्योग स्थापना त्रिवेणी समूहले नै गरेको हो। विश्वकर्मा सिमेन्ट मार्फत बजार प्रवेश गरेको यसले अहिले लगानी विस्तार गरिरहेको छ। केही समयअघि मात्रै अन्य घरानाहरूसँगको सहकार्यमा घोराइ सिमेन्टमा ११ अर्ब रूपैयाँ लगानी विस्तार गरिएको उनले बताए।
खाद्य उद्योगमा पनि समूहको बलियो उपस्थिति भएको रामचन्द्र बताउँछन्। अमृत तेल यसको सबभन्दा चलेको उत्पादन हो। नेपालबाट बंगलादेशमा दाल निर्यात पनि गरिरहेको छ।
समूहले अहिले ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्दैछ। ५२.४ मेगावाटको लिखु-४ जलविद्युत आयोजनामा लगानी छ। ८२ मेगावाटको सोलु जलविद्युत आयोजनामा पनि लगानी गर्ने योजना बनेको र सोहीअनुसार काम अघि बढाइएको उनले जानकारी दिए।
'हाम्रो अर्थतन्त्र आयातमुखी भएको छ। यस्तो अर्थतन्त्रले देशलाई असहज बाटोमा लैजान्छ। त्यसैले हामी उत्पादनमुखी बन्न आवश्यक छ,' उनले भने।
यो बाटोमा बाधाहरू भने भएको उनी बताउँछन्। प्रोत्साहन अभाव, बिजुली तथा श्रमिकका समस्या लगायत कारण उद्योगीहरू व्यापार केन्द्रित भएको उनको बुझाइ छ।
'उत्पादकका लागि सबैभन्दा ठूलो आवश्यकता बिजुली हो। तर अहिले पनि उद्योग क्षेत्रमा लोडसेडिङ छ। यसको मर्म नै बुझिँदैन,' उनले भने, 'एकपटक झ्याप्प बत्ती जाँदा उद्योगलाई कति हानि पुग्छ भन्ने कसले हिसाब गर्ने?'
उनका अनुसार सरकारले प्रोत्साहन नीतिहरू लिने तर कार्यान्वयनमा आलटाल गर्दा व्यवसायी निरूत्साहित भएका छन्। त्यस्तै उद्योगी-व्यवसायी र बैंकहरूबीच सुमधुर सम्बन्ध हुनुपर्छ।
'उद्योगमा लगानीकर्ताको ३० प्रतिशत लगानी हुन्छ। अरू बैंकबाट गरिएको हुन्छ। बैंकमा निक्षेप जम्मा गर्ने पनि सर्वसाधारण र हामी व्यवसायीले नै हो। त्यसैले बैंक र उद्योगी व्यवसायीबीच नङमासुको सम्बन्ध हुन आवश्यक छ,' नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष समेत रहेका रामचन्द्रले भने।
यही चैत २९ गते हुने महासंघको चुनावमा रामचन्द्र वरिष्ठ उपाध्यक्षका उम्मेदवार छन्। विधानअनुसार निर्वाचित वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष हुन्छ। यसपालि वरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्रसँगै अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले पनि उम्मेदवारी दिएका छन्। व्यापारिक घराना लक्ष्मी ग्रुपमा निर्देशक अन्जन हाल महासंघमा वस्तुगत उपाध्यक्ष छन्। त्यस्तै महासंघका वस्तुगत पूर्वउपाध्यक्ष उमेशलाल क्वेस्ट फर्मास्युटिकल्स नामक औषधि उद्योग चलाउँछन्।
रामचन्द्र उद्योगीले भोग्ने समस्या समाधानका लागि सरकारसँग उचित पहल गर्न महासंघको नेतृत्वमा पुग्न चाहेको बताउँछन्।
'उद्योग भनेको तीन अक्षरको संरचना मात्र होइन, यसभित्र धेरै ठूलो संरचना हुन्छ। प्रत्येक दिन समस्या आइरहेका हुन्छन् जुन मैले भोगेर आएको छु,' उनले भने, 'संस्थामा आबद्ध नभएको उद्योगीको आवाज हराउन सक्छ। संस्थागत रूपमा आवाज गयो भने सरकार पनि सोच्न बाध्य हुन्छ। म सबै उद्यमीको समस्या बुझ्न सक्छु।'
ठूला उद्योगबाट मात्रै सबै कुरा गर्न सम्भव नभएको भन्दै उनी दिगो आर्थिक विकासका लागि साना र मझौला उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताउँछन्।
'मेरो अहिलेको पहिलो प्राथमिकता नै साना र मझौला उद्योगको प्रवर्द्धन गर्नु हो,' रामचन्द्रले भने।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी
यी पनि पढ्नुहोस्- कहाँ पुग्दै छ व्यवसायमा अन्जन श्रेष्ठको यात्रा, के छन् योजना?
आमाको जागिर खोसिएपछि राजनीतिबाट टाढिएर व्यवसायमा लागेँ- उमेशलाल श्रेष्ठ