बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योगीहरूले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन्।
उद्योगीहरूका संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले आइतबार व्यवस्थापन कार्यालयमा तालबन्दी गरेका हुन्।
आइतबार बिहान १० बजे नै कालो ब्यानरसहित व्यवस्थापन कार्यालयमा पुगेका उद्योगीहरूले कार्यालयमा विरोध प्रदर्शन गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन्।
उनीहरूले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा औद्योगिक क्षेत्रको भाडा वृद्धि गरेको भन्दै भाडा वृद्धि खारेजीको माग गरेका छन्।
उनीहरूले कोभिड महामारीका कारण थला परेका उद्योगहरूको प्रवर्द्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यवहारिक रूपमा भाडा वृद्धि गर्नु उद्योग विरोधी कार्य भएको बताएका छन्।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले एकैपटक ७ सय देखि ८ सय प्रतिशतसम्म भाडा वृद्धि गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए।
उनले व्यवस्थापन कार्यालयले अहिले बढाएको भाडा उद्योगीहरूले तिर्न सक्ने अवस्था नरहेको भन्दै कार्यालयको भाडा बढाउने निर्णय फिर्ता लिनुपर्ने बताए।
‘आर्थिक अवस्था धरासायी भइरहेको अवस्थामा उद्योग व्यवसाय बन्द भइरहेका छन्, यस्तो अवस्थामा औद्योगिक क्षेत्रको भाडा वृद्धि गर्नु सिधै उद्योग बन्द गर भन्नु हो, हाम्रा माग सुनुवाइ नगरेसम्म र भाडा वृद्धिको निर्णय फिर्ता नलिएसम्म हामीहरू आन्दोलनमा हुने छौं,’ आलमले भने।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले आइतबार २४ घण्टाको लागि सांकेतिक रूपमा तालाबन्दी गरिए पनि व्यवस्थापन कार्यालय निर्णय फिर्ता नलिए थप आन्दोलनका कार्यक्रम अगाडि सार्न बाध्य हुने बताए।
बुटबल औद्योगिक व्यवस्थापन कार्यालका प्रमुख निमेश अधिकारीले करिब १० वर्षदेखि औद्योगिक क्षेत्रको भाडा वृद्धि नगरिएको र अहिले उठाउने भनिएको भाडा पनि २०७५ सालमा गरिएको निर्णय अनुसारको रहेको बताए।
‘हामीले त औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिले २०७५ सालमा गरेको निर्णय अनुसारको भाडा बुझाउन पत्राचार गरेका हौं, यो भाडा वृद्धि अहिले गरिएको पनि होइन,’ अधिकारीले भने।
उनले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिको निर्णय र निर्देशन अनुसार कार्यालयले भाडा बुझाउन पत्रचार गरेको बताए।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार चालु आर्थिक वर्षको १३ करोडसहित देशभरका १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट ५३ करोड रुपैयाँ भाडावापतको बक्यौता उठाउन बाँकी छ।
२०७५ साल साउनदेखि लागु हुने गरि लिमिटेडको सञ्चालक समितिले औद्योगिक क्षेत्रको ६३ देखि साढे पाँच सय प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो।
औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ को नियम २३ को उपनियम १ मा उत्पादनमूलक उद्योगको हकमा ५/५ वर्षमा भाडादर पुनरावलोकन गर्ने व्यवस्था उल्लेख छ।
लिमिटेडले देशका विभिन्न १० वटा औद्योगिक क्षेत्रबाट यसअघि पनि अलग-अलग भाडा लिँदै आएको थियो भने वृद्धि गर्दा पनि सोही अनुसार वृद्धि गरेको जनाएको छ।
बुटवल औद्योगिक क्षेत्रमा हाल प्रतिरोपनी वार्षिक ८ हजार ३ सय २८ रुपैयाँ भाडा लिँदै आएकोमा २०७५ सालमा १६ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरिएको थियो। यो भाडावृद्धि ११६ प्रतिशत हो।