पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठको दैनिकी झिसमिसे उज्यालोसँगै चुलोको कामबाट सुरू हुन्छ। हरेक बिहान उज्यालो नहुँदै उनी दिनभरी पसलमा आउने ग्राहकले खाने परिकारको तयारीमा जुटिहाल्छन्।
बुवा खेतुराम र आमा रामकुमारीले २०५१ सालमा तिनाउ गाउँपालिका ५ जोरधारमा सुरू गरेको खाजाघरबाटै प्रेमले आफ्नो आर्थिक व्यवस्थापन मात्र होइन सामाजिक र राजनीतिक पहिचान बनाए।
बुटवल-पाल्पा सडक खण्डमा पर्ने जोरधारा सिद्धार्थ राजमार्गको सबैभन्दा व्यस्त हुने सडकखण्ड पनि हो। बुटवलदेखि पाल्पा, गुल्मी, अर्घाखाँची सँगै स्याङ्जा र पोखरासम्म पुग्ने सयौं सवारीसाधन यही सडक भएर चल्ने गर्छन्।
बुटवलको चर्को गर्मी छोडेर पाल्पाको चिसो मौसममा पुग्दै गर्दा सडक किनारमा रहेको प्रेमको खाजाघरका परिकारहरूको स्वाद र बास्नाले धेरैजसो यात्रुहरूको मन लोभ्याइदिन्छ। त्यसैले पनि प्रेमको खाजाघरमा बिहानैदेखि राती अबेरसम्म ग्राहकको भिड लागिरहन्छ।
घरपरिवारका सदस्य मात्रैले चलाएको खाजा घरमा प्रेमको मेहनत पनि कम छैन। खाजा घर चलाउनकै लागि यातायात क्षेत्र छोडेका प्रेमले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिनाउ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि पनि आफ्नो दैनिकीलाई छोडेका छैनन्।
धेरैलाई लाग्न सक्छ फुलटाइम राजनीतिमा लागेका व्यक्तिलाई अर्को कुनै पेशा र जिम्मेवारी प्रभावकारी बनाउन गाह्रो हुन्छ। झनै जनप्रतिनिधि भइसकेपछि त कार्यालय र जनताका काम, पार्टी कमिटीका दैनिक कार्यक्रम र भाषणमा मात्रै व्यस्त हुनुपर्छ भन्ने लाग्न सक्छ।
प्रेमले भने खाजाघरमा यसअघि गर्दै आएको काम सँगै कार्यालय, जनता र पार्टी कमिटीका सबै जिम्मेवारीहरू पूरा गर्दै आएका छन्।
बिहान सबेरै खाजाघरको चुलोमा भेटिने प्रेम १० बजेभित्रै गाउँपालिका पुगिहाल्छन्। दिनभरी कार्यालयमा जनताको सेवा र काममा खटिने उनी जनताका गुनासा र समस्याबारे बुझ्दै र जानकारी लिँदै घर फर्किन्छन्। घर फर्किएपछि राती नौ दश बजेसम्म फेरि त्यही खाजा घरमा विभिन्न परिकार पकाउने, ग्राहकहरूलाई दिने र टेबल सफा गर्ने र भाँडावर्तन माझ्ने काममै व्यस्त हुन्छन्।
श्रेष्ठको परिवारले तिनाउ गाउँपालिकाकै केराबारीबाट २०५१ साल मंसिर ७ गते जोरधारा आई खाजा पसल चलाउन थालेको हो। सुरूआतमा ५ हजार रुपैयाँबाट नामबिना सुरू गरिएको खाजा घरले अहिले नाम पाएको मात्र होइन दैनिक रूपमा कम्तीमा ३० हजारदेखि सवा दुई लाख रूपैयाँसम्मका परिकार बिक्री गर्छ।
‘तिहारको भोलिपल्ट शुक्रबार मात्रै एकदिनमा परिकार बिक्री गरेर साढे दुई लाख रूपैयाँ आम्दानी भएको रहेछ, बिहान ५ बजेदेखि राती ९ बजेसम्म खाजा खानेहरूको भिड थियो, साँझ एकैपटक हिसाब गर्दा सवा दुई लाख रुपैयाँ आम्दानी भएको रहेछ,’ श्रेष्ठले भने।
आम्दानी नै भएन भन्ने दिनमा पनि ३० हजार रूपैयाँभन्दा कम नहुने उनले बताए। प्रेमका अनुसार उनको खाजा घरमा एकदिनमा कम्तीमा डेढ दुई सयदेखि १ हजारभन्दा बढीले चिया खाजा खाने गर्छन्।
छाप्रोमा पकौडा, चुकौनी, बटुक, चना, अण्डा र चिया बिक्रीबाट सुरू भएको उनको खाजा घर अहिले तीन तले पक्की घरमा छोरा उत्तमको नामबाट सञ्चालित छ। दैनिक रूपमा सिद्धार्थ राजमार्ग हुँदै बुटवल पाल्पा ओहोरदोहोर गर्ने अधिकांश यात्रु उनको खाजा घरमा पसेकै हुन्छन्।
जोरधाराको पकौडा, चुकौनी, बटुक, सेलरोटी, माछा, भुटुवा जस्ता परिकार भनेपछि प्रेमको खाजाघर यो सडक भएर हिँड्नेहरूका बीचमा प्रख्यात छ।
‘मोटरसाइकल र साना निजी गाडीहरूमा हिँड्नेहरू त धेरैजसोले चिया खाजा खाने ठाउँ नै यहीँ हो, सार्वजनिक सवारीमा यात्रा गर्नेहरू बसेर खान नभ्याए पनि प्याकिङ गरेरै भए पनि लैजानुहुन्छ,’ प्रेम भन्छन्।
तिहारको भोलिपल्ट एक हजारभन्दा बढी यात्रुले खाजा खाएको उनले दाबी गरे। यति धेरै ग्राहकले खाने खाजा उनीहरू आफैंले तयारी गर्छन्। ६५ वर्षका बुवा-आमा सँगै श्रीमती मनकुमारी र स्नातक पढ्ने छोरा र १२ पढ्ने छोरीले समेत कलेज बाहेकको समय खाजा घरमै दिने गरेको प्रेमले बताए।
‘हामी सबै परिवारका सदस्य बिहान ५ बजेदेखि नै परिकार बनाउन लाग्छौं, ६ बजेदेखि चिया र खाजा खाने ग्राहक आउन थाल्नुहुन्छ, त्यतिबेलासम्म थोरै थोरै भए पनि सबै परिकार पाकिसक्छन्,’ प्रेम भन्छन्, ‘ग्राहक आउने क्रम जति बढ्दै जान्छ, पकाउने क्रम पनि बढ्दै जान्छ। बिहान ५ बजेदेखि राती ९/१० बजेसम्म चुलो यत्तिकै बलिरहन्छ। एकातिर पकाउँदै जाने अर्कोतर्फ खान दिँदै जाने हो।’
गत शनिबार बिहान ८ बजे प्रेमलाई भेट्दा उनी माछा पकाइरहेका थिए। छेवैको अर्का दुइटा चुल्होमा आमा र श्रीमतीले पकौडा र बटुक पकाइरहेका थिए। छोरा-छोरी खाजा खान आउनेहरूलाई खाजा दिन व्यस्त थिए।
गाउँपालिकाको दैनिक जिम्मेवारी बाहेक फुर्सदको सबै समय होटलमै बिताउने प्रेमले होटलको कुनै पनि काममा संकोच नलाग्ने बताउँछन्।
‘मेरो पहिचान र आम्दानीको स्रोत नै यही हो, आफ्नो पसलमा काम गर्न मलाई कुनै संकोच लाग्दैन। यसैबाट त परिवार पालिएको छ, आफ्नो जीविका जहाँबाट चलेको छ, त्यसमा काम गर्दा केको संकोच,’ उनी भन्छन्।
बरू होटलकै कारण गाउँपालिका अध्यक्षमा निर्वाचित हुन सहयोग पुगेको उनको ठम्याइ छ।
‘दिनमा कम्तीमा दुई सयदेखि १ हजार जनासम्म चिया खाजा खान होटलमा पस्नुहुन्छ, धेरैजसो चिनेका हुनुहुन्छ, मलाई जनसम्पर्क बढाउनेदेखि पसलबाटै राम्रै आम्दानी हुने भएकोले निर्वाचित भएपछि गलत काम गर्दैन भनेर विश्वास गर्नुभयो भन्ने लाग्छ,’ प्रेम भन्छन्।
सानो उमेरदेखि नै यातायात क्षेत्रमा लागेका प्रेम यातायात क्षेत्रभन्दा होटल चलाउन थालेपछि जनसम्पर्क बढ्दै गए पनि राजनीतिमा सक्रिय भएको बताउँछन्।
२०६७ सालमा नेकपा एमालेको पार्टी सदस्यता लिएका उनी २०७० सालमा पार्टीलाई जिताउन सक्रिय रूपमा लागेका थिए भने २०७९ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
२०७४ सालको चुनावमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र बराबर जस्तै रहेकोमा २०७९ सालको चुनावमा सत्ता गठबन्धनलाई एमाले एक्लैले पराजित गर्न सफल भएको उनले बताए।
‘अघिल्लो निर्वाचनमा एमालेको २८१८ मत थियो, नेपाली कांग्रेसको २७०६ र माओवादी केन्द्रको २३९० मत थियो। गत निर्वाचनमा भने एमाले एक्लैले ५ हजार ९० मत ल्याउँदा सत्ता गठबन्धनले ४ हजार ४ सय ६६ मत ल्याएको छ यसमा मेरो पहिचान र मेहनत पनि जोडिएको छ,’ प्रेम भन्छन्।
होटल चलाएरै राम्रो आम्दानी गर्ने प्रेमले गाउँपालिकाबाट प्राप्त गर्ने सबै तलब भत्तालाई कार्यकाल पूरा भएपछि एकमुष्ठ रूपमा कुनै सामाजिक काममा लगाउने योजना बनाएका छन्।
‘घरपरिवार चलाउन मलाई गाउँपालिकाको तलब भत्ता आवश्यक छैन, अहिले छुट्टै खातामा बचत गरेर राखेको छु, ५ वर्षसम्म जति पनि तलब भत्ता प्राप्त हुन्छ त्यसलाई शिक्षा, स्वास्थ्य, खेलकुद कुनै एउटा काममा लगाउने योजना बनाएको छु,’ उनले भने।