पुच्का भन्ने सुन्नुभएको छ? छैन भने यो पानीपुरीकै अर्को नाम हो। खासगरी नेपालको पूर्वी तराई र भारतमा पानीपुरीलाई पुच्का भनेर चिनिन्छ।
आफ्नो घरगाउँतिर बोलिचाली भाषामा प्रयोग हुने नाम दिएर झापाका २५ वर्षीय रोहित शाहले काठमाडौंको थापागाउँमा 'पुच्काको दुनियाँ' सुरू गरेका छन्। 'पुच्का वर्ल्ड' नामको बोर्ड बाहिरै देखिन्छ। सुरू भएको जम्मा पाँच महिना भयो। सुरूसुरूमा धेरैले यो पुच्का भनेको के भनेर सोध्थे।
'सुरूमा त मानिसहरूलाई बुझाउनै समय लाग्यो। पुच्का भनेको के हो भनेर धेरैलाई जिज्ञासा हुन्थ्यो,' रोहितले भने, 'हामीले पुच्का भनेको पानीपुरी हो भनेर बुझिने गरी चित्र राख्यौं। अहिले चाहिँ धेरैजसोले बुझिसक्नुभएको छ।'
नयाँ बानेश्वर चोकबाट थापागाउँ जाने बाटोतर्फ दुई मिनेट जति हिँडेपछि देखिन्छ पुच्का वर्ल्ड। सफा र चिटिक्क पारेर सजाइएको ठाउँ छ जहाँ बसेर पानीपुरी खान सकिन्छ।
'पानीपुरी धेरैतिर पाइन्छ। तर सफा पानी प्रयोग गरिएको नहुन सक्छ,' रोहितले भने, 'कतिपय ठाउँमा त उभिएर खानुपर्छ। यहाँ मज्जाले बसेर स्वच्छ पानीपुरी खान सकिन्छ।'
पुच्का वर्ल्डमा पाँच फरक स्वादमा पानीपुरी पाइन्छ; इम्ली, पुदिना, अकबरे, स्वीट जिन्जर (गुलियो स्वादको) र जल्जिरा। जल्जिरा भनेको हाजमोलाको स्वादमा हो। यहाँ सबैभन्दा धेरै रूचाइएको अकबरे स्वाद हो। पुदिना स्वाद पनि उत्तिकै रूचाइएको रोहित बताउँछन्।
सफा र चटक्क ठाउँमा बसेर खान पाइने भएकाले पानीपुरी धेरै महँगो पर्छ कि भन्ने पनि लाग्न सक्छ। यहाँ त्यस्तो छैन। रोहितका अनुसार ५० रूपैयाँमै एक प्लेट पानीपुरी पाइन्छ।
'पछिल्लो समय पानीपुरी पारखीहरूको आकर्षण बढ्न थालेको छ। धेरै आम्दानी नभइहाले पनि भाडा तिर्न र कर्मचारीलाई पारिश्रमिक दिन पुगिरहेको छ,' उनले भने।
रोहितले अहिले एक जना कर्मचारी राखेका छन्। सबै खर्च कटाएर २० हजार रूपैयाँ जति बच्न थालेको उनले बताए।
सुरूआती दिनमा त पाँच प्लेट पनि बिक्थेन। तीन महिनासम्म पुच्का वर्ल्ड चल्दै चलने। भाडा तिर्नै ऋण खोज्नुपर्यो। रोहित अत्तालिएनन्। उनका बुबा किराना पसल चलाउँछन्। त्यसैले रोहितलाई सानैदेखि पसलबारे ज्ञान थियो। सुरूमा नचले पनि केही समयपछि चल्छ भन्ने विश्वास राखे।
'६ महिनासम्म हेर्छु, त्यसपछि पनि नचले मेरो व्यवसायमा केही समस्या छ भन्ने बुझेर विकल्प खोज्छु भन्ने सोचेको थिएँ। अहिले आश पलाउन थालेको छ,' उनले खुसी हुँदै भने।
उनी ढुक्कै भने हुन सकेका छैनन्।
'आफूले धेरै थोक छाडेर सुरू गरेको छु,' रोहित भन्छन्, 'कस्तो हुने हो? तर मेरो सपना पूरा गर्न काम गरिरहेको छु।'
पुच्का वर्ल्डलाई ब्रान्ड बनाउने उनको सपना छ। व्यवसाय राम्रो हुँदै गयो भने फ्रेन्चाइज खोल्ने पनि योजना बनाएका छन्। काठमाडौंका भिडभाड हुने क्षेत्रमा पुच्का वर्ल्डका फ्रेन्चाइज खोल्ने लक्ष्य रहेको उनी बताउँछन्।
उनले भने, 'भोलिका दिनमा फ्रेन्चाइज दिन सकियो भने ठूलो व्यवसाय बनाउन सक्छु भन्ने आश छ।'
पुच्का वर्ल्डमा पानीपुरी मात्रै होइन, चटपटे, दहीपुरी, समोसा-चाट पनि पाइन्छ। अब छिट्टै आलु-निम्की र पापडी-चाट पनि थपिने उनले बताए। त्यस्तै अब अन्य धेरै थरीका स्टिक-फुड पनि थप्ने योजना छ।
'आलुचप पकौडा, आलु-स्टिक जस्ता खानेकुरा देख्यो कि सबैलाई खान मन लाग्छ। त्यसैले सफा र स्वच्छ स्टिक फुड पनि पस्किन मन छ।'
रोहितले ६ लाख लगानीमा पुच्का वर्ल्ड सुरू गरेका हुन्। चार जना साथीहरूको सहयोगमा पुच्का वर्ल्ड सुरू गरिएको उनी बताउँछन्। जसमा ७० प्रतिशत आफ्नो र बाँकी ३० प्रतिशत लगानी साथीहरूको भएको उनले बताए।
पानीपुरी व्यवसाय चहलपहल हुने ठाउँमा हुने हो भने राम्रो चल्छ। आम्दानी राम्रो हुन्छ। तर उनले अहिले पुच्का वर्ल्ड सञ्चालन गरेको सडक बानेश्वरचोकबाट थोरै भित्र छ। त्यहाँ चहलपहल कमै छ। पुच्का वर्ल्डको बारेमा थाहा हुने हो भने चोकमा पुग्ने पानीपुरी पारखीहरू त्यहाँसम्म पुग्न धेरै समय लाग्दैन। दुई मिनेटमै पुगिन्छ। तर यसबारे धेरैलाई जानकारी छैन। जसकारण व्यवसाय अझै सोचेअनुसार चल्न नसकेको उनले बताए।
'तैपनि यसमा लगानी कम छ र जोखिम पनि कम छ। भोलिका दिनमा केही भइहाल्यो भने धेरै डुब्दैन,' रोहित मन बुझाउँदै भन्छन्।
झापाबाट स्नातकसम्मको अध्ययन सकेर स्नातकोत्तर अध्ययनका लागि काठमाडौं छिरेका रोहितले काठमाडौं स्कुल अफ म्यानेजमेन्टबाट एमबिए पूरा गरिसकेका छन्। एमबिए पूरा गरेपछि छोराले बैंकमा जागिर खान्छ भन्ने सपना आमाबुबाले देखेका थिए।
रोहितले भने जागिरे हुने सपना कहिल्यै देखेनन्। बरू व्यवसाय कसरी गर्ने भनेर दिनरात घोत्लिरहन्थे। भन्सार एजेन्टका लागि लोकसेवाले खुलाएको परीक्षा भने उनले दिए। उत्तीर्ण पनि भएको उनी बताउँछन्।
'तर मलाई आफ्नो व्यवसाय छाड्ने मन छैन,' भन्छन्, 'मैले एमबिए गरेको पनि व्यवसाय गर्नै हो। जागिर खान होइन। तर आमाबुबाको सपना थियो। मैले पुच्का वर्ल्ड खोलेपछि अहिले पनि बुबाले मन दुखाउनुभएको छ।'
घरगाउँका मानिसले पनि बुबालाई 'त्यत्रो पढेको छोरालाई किन पानीपुरी बेच्न राखेको' भनिदिन्छन् रे। त्यसपछि त बुबालाई झन् दिक्क लाग्ने भयो। आफ्नो व्यवसायमा समाजले हेर्ने नजरका कारण रोहितको पनि मन कहिलेकाहीँ बहकिन्छ।
'पढेलेखेको युवालाई यो व्यवसाय गर्न गाह्रो रहेछ। समाजले हेर्ने नजर नै फरक छ,' उनले भने, 'त्यसमाथि कहिलेकाहीँ व्यवसाय नचल्दा तनाव पनि हुन्छ। त्यस्तो बेला चाहिँ बेकार गरेछु भन्ने लाग्छ। फेरि भोलिपल्ट उठ्दा मैले थालेको काम ठीक छ, आफूलाई विश्वास गर्दै अगाडि बढ्ने हो भन्ने सोच आउँछ।'
जेजस्तो भए पनि व्यवसायले विस्तारै राम्रो लय समात्नेमा रोहित आशावादी छन्। उनलाई ठूलो लगानी गरेर अरू व्यवसाय गर्ने रहर नभएको होइन। तर सुरूमा थोरै लगानीबाट राम्रो आम्दानी हुने व्यवसाय बुझ्दै जाँदा उनले पुच्का वर्ल्ड सुरू गरेका हुन्।
अब पानीपुरी भन्नेबित्तिकै पुच्का वर्ल्ड सम्झिने बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए।
'पानीपुरी जताजतै पाइन्छ। तर व्यवस्थित ढंगले अगाडि बढाउने अवधारणा मेरो छ,' उनले भने, 'केही गर्छु भनेर लागेका युवालाई समाजले पनि प्रोत्साहन गर्नुपर्छ। कुनै पनि काम सानो वा ठूलो हुँदैन भन्ने सोच समाजबाटै आउनुपर्छ।'