बुटवलको जेसिस चोकबाट हाटबजार तर्फको सडकमा ओहोरदोहोर गर्नेहरूको लर्को सधैं हुन्छ। साप्ताहिक हाट लाग्ने शनिबार र बुधबार चाहिँ भिड छिचोल्न निकै मुश्किल पर्छ।
जेसिसचोकबाटै सडकको दायाँबायाँ भुइँमा र ठेलामा सामान राखेर बिक्री गर्नेहरू खचाखच हुन्छन्। त्यही भिडमा भेटिन्छन् बेसार बच्दै गरेका ६५ वर्षीय रूकबहादुर गाहामगर।
बेसार प्लास्टिक बोरामा राखेका हुन्छन् र प्लास्टिक थैलोमा पोको पार्दै बेच्न व्यस्त देखिन्छन्।
पाल्पाको रामपुरमा जन्मिएका रूकबहादुर गाउँमै खेतीकिसानी गर्दै हुर्किए। आफूसँगैका केही साथीहरू भारतीय सेनामा गए। उनलाई अर्काको देश पस्न मन लागेन।
'मलाई आफ्नै देश प्यारो लाग्यो,' उनले भने।
रूकबहादुर पाल्पाबाट रूपन्देही झरेर एउटा होटल चलाउन चाहन्थे। धेरै पैसा थिएन, थोरै लगानीमा होटल खोलेर जीवन चलाउन चाहन्थे। ठाउँ खोज्दै भैरहवा विमानस्थलनजिक पुगे। उनले विमानस्थल नजिकै एउटा सानो होटल खोले। पाल्पाबाट झरेका रूकबहादुरले होटलको नाम पनि 'पाल्पाली' राखेका थिए।
होटलमा उनलाई श्रीमती खिनकुमारीले सघाउँथिन्। त्यो समय भैरहवाको लुम्बिनी रोड उति चल्तीको थिएन। श्रीमान–श्रीमती जुटेर मेहनत गर्दा पनि होटल राम्रोसँग चलेन। जसोतसो दुई वर्ष होटल चलाएर बसे। दैनिक गुजारा हुने गरी पनि आम्दानी नभएपछि होटल बेचे।
होटल बेचेर आएको पैसामा र केही ऋणधन थपथाप गरेर बुटवलको ट्राफिकचोक पछाडि एउटा सानो घडेरी किने। त्यहीँ सानो छाप्रो हालेर बसे।
'बस्नलाई आफ्नै छाप्रो त भयो तर साँझबिहान हातमुख जोड्न आम्दानीको स्रोत केही भएन। जीवन त जसरी पनि चलाउनै पर्थ्यो,' रूकबहादुरले भने।
उनले बुटवलमा तरकारीको खुद्रा व्यापार थाले। थोक व्यापारीसँग केही तरकारी किन्थे र डोकोमा राखेर बेच्थे। तरकारीको व्यापारबाट पनि उनलाई सोचेजस्तो आम्दानी भएन। दुई वर्ष जति तरकारी बेचे अनि त्यो पनि छाडिदिए।
पाल्पामा रूकबहादुरको गाउँमा बेसार र अदुवाको खेती हुन्थ्यो। उनले हाटबजारमा बेसारको थुप्रो राखेर बेचेको देखेका थिए। उनले त्यही बेसार आफ्नो सहारा हुने ठाने।
सोचे- दुई/चार दिन बिक्री नभए पनि नसड्ने र सुकेर नष्ट पनि नहुने। भान्सामा बिहानबेलुकै बेसार नभई पनि नहुने।
साँझबिहान दाल, तरकारी अचार जेसुकै परिकारमा पनि नभई नहुने बेसारको व्यापार राम्रै हुने लागेपछि उनले त्यही काम थाल्ने निधो गरे। अन्ततः रूकबहादुरले बेसारको व्यापार थाले।
अहिले उनले बेसार बेच्न थालेको २२ वर्ष भयो। होटल र तरकारीको व्यापारमा चार वर्ष भौंतारिएका उनी बेसारको व्यापारमा अटल भएर जमेका छन्।
'पाल्पाबाट बुटवल झरेर सुरूमै बेसार बेच्न थालेको भए होटल चलाउँदाको र तरकारी बेच्दाको दुःख खेप्नु पर्ने थिएन। घाटा सहनुपर्ने थिएन,' उनी भन्छन्।
सानै देखिए पनि रूकबहादुरलाई बेसारको व्यापार फापेको छ। उनी हरेक दिन बुटवलका साप्ताहिक हाटबजारमा बेसार बेच्न पुग्छन्। बुधबार र शनिबार स्थानीय हाटका दिन जेसिसचोक र कान्ति माविको बीचमा रहेको कल्भर्टमाथि बस्छन्। अन्य दिन बुटवलका हाटबजार घुम्छन्। उनको शरीर बेसारले पहेँलै भएको हुन्छ।
रूकबहादुरको पहिचान नै बेसार व्यापार हो। उनका अनुसार दुई दशकभन्दा लामो अवधिको व्यवसायमा उनका आफ्नै ग्राहकहरू छन् जो सधैं उनीसँगै बेसार किन्छन्।
'एकपटक मेरोबाट बेसार किनेपछि फेरि पनि मलाई खोज्दै आउँछन्। २२ वर्षमा मैले कमाएको यही हो,' उनले भने।
रूकबहादुर बुटवलका हाटबजारहरूमा बेसारको 'ब्रान्ड' बनेका छन्। स्थानीय बजारहरूमा उनलाई नचिन्ने कोही छैन भने पनि हुन्छ। आफूले बेच्ने बेसारको गुणस्तरमा उनको शतप्रतिशत दाबी छ।
'अन्तबाट लगेको बेसारमा किरा लाग्यो भनेको सुन्छु। मेरोबाट लगेकोमा अहिलेसम्म कसैले कुनै गुनासो गरेको छैन,' उनले भने, 'राम्रो नभए फर्काउनुहोला भनेर पठाउँछु। अहिलेसम्म कसैले पनि फर्काएको थाहा छैन।'
आफूले बेच्ने बेसारमा कुनै किसिमको मिसावट नहुने रूकबहादुरको दाबी छ।
'कतिपय व्यापारीहरूले बेसारमा काठको धूलो, चामल र गहुँको पिठो मिसाउँछन् भन्ने सुनेको छु,' उनी भन्छन्, ‘मैले बेच्ने बेसार शुद्ध हुन्छ। मिसावट छ भने मात्रै किरा लाग्ने हो।'
रूकबहादुरका अनुसार उनी गाउँबाट हलेदो र सुठो किनेर आफैं बेसार बनाउँछन्।
उनी पाल्पाको सत्यवती, कोलडाँडा, गोठादी लगायतका गाउँबाट हलेदो र सुठो किनेर ल्याउँछन्। हलेदो आफैं काट्छन्, सुकाउँछन् र मिलमा पिसाएर बेसार बनाउँछन्। हलेदो भनेको काँचो बेसार हो। काँचो बेसार टुक्रा बनाएर सुकाएपछि सुठो हुन्छ। सुठो पिसेर धूलो बेसार बनाउने हो।
उनी दैनिक १५ किलोसम्म बेसार बेच्छन्। थोरै भनेका दिन पनि ५ किलोभन्दा कम हुँदैन।
'महिनाको ५०–६० हजार (रूपैयाँ) आम्दानी बस्छ,' उनले भने।
बेसारको सुठो प्रतिकिलो १८० देखि २ सय रूपैयाँसम्ममा किन्छन् उनी। बेसार प्रतिकिलो ४ सय रूपैयाँसम्ममा बिक्री हुन्छ। उनका अनुसार 'माउ' हलेदो र 'छोरा' हलेदोको बेसारको मूल्य फरक हुन्छ। माउको बेसार बढी मूल्यमा बिक्छ।
'छोराको बेसार देख्दा बढी पहेँलो देखिन्छ तर तरकारीमा धेरै लगाउनु पर्छ। माउको बेसार धेरै पहेँलो देखिँदैन तर थोरैले धेरै पहेँलो बनाउँछ,' उनी बेसारबारे भन्छन्।
अधिकांश नेपालीको भन्सामा बेसारको प्रयोग अनिवार्य नै मानिन्छ। दाल, तरकारी, अचार इत्यादि परिकार पहेँलो बनाउन मात्रै होइन औषधिका रूपमा पनि बेसार खाने चलन छ।
कोरोना फैलिएपछि बेसारको माग अझ बढेको रूकबहादुरले बताए।
'कोरोना महामारीका बेला लकडाउनमा पनि घरघरमा बेसार पुर्याएँ,' उनले भने, 'एक दिनमा ७ हजारसम्मको बेचेँ।'
रूकबहादुर बेसारसँगै सालको पात, चुक, बाँसका सिन्का, अदुवाको धूलो पनि बेच्छन्। चुक पनि पाल्पाबाटै किनेर ल्याउने गरेको उनले बताए।
सालको पात बुटवलको दीपनगर, पाल्पाको दोभान र देवदहको चरंगेबाट ल्याउँछन्। देख्दा सानै सही तर रूकबहादुर आफ्नो व्यवसायमा सन्तुष्ट देखिन्छन्। यसैबाट उनको परिवार चलेको छ।