काठमाडौंबाट अरनिको राजमार्ग हुँदै भक्तपुर, पलाँसे पुग्दा चोकको बायाँतर्फ देखिन्छ 'पलिसेड रिसोर्ट'।
रिसोर्टको चारैतिर हरिया पहाडले घेरेको छ। पारितर्फ देखिने निलगिरि हिमालको सुन्दरता पनि यहिँ मिसिन्छ। रिसोर्टबाट साँगाको महादेवको मूर्ति नजिकै देखिन्छ। रूफटपमा बसेर नियाल्दा टाढासम्मका बस्तीहरू पनि देखिन्छन्।
'यहाँ निकै शान्त छ। अझ रातको समयमा झिलिमिली सहर सुन्दर देखिन्छ। साँझ बत्ती बलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि देखिन्छ,' रिसोर्ट सञ्चालक घनश्याम केसीले भने।
यो रिसोर्ट २०७८ चैत २६ गतेबाट सञ्चालनमा आएको हो। आठ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट त्यहाँका स्थानीय, आन्तरिक पर्यटक तथा विदेशी गरी सबैका लागि लक्षित गरिएको केसी बताउँछन्।
रिसोर्टको अर्को विशेषता भनेको यसले आफ्नै बारीमा फलेको अर्गानिक तरकारी पकाएर पाहुनाहरूलाई पस्किन्छ। आठ रोपनीमध्ये पाँच रोपनीमा अहिले तरकारी लगाइएको छ।
'यहीँ उत्पादन भएका तरकारीहरू पकाउँछौं। सकभर तरकारी बाहिरबाट नल्याउने हाम्रो योजना हो,' उनले भने।
अहिले टनेलमा बोडी, काउली, बन्दा, खुर्सानी जस्ता तरकारी लगाइएको छ। सिजनअनुसार फरकफरक तरकारीहरू फलाइन्छन्। सकेसम्म विषादी नराखिएको आफ्नै बारीको तरकारी पस्किने योजना अघि सारिएको छ।
रिसोर्टले विशेष परिकारका रूपमा लोकल कुखुराको मासु, कालो कुखुराको मासु र कालिजको मासु पनि पस्किन्छ। लोकल कुखुराको मासु धेरै रूचाइएको केसीले बताए।
बगैंचामा सांगीतिक माहोलमा रमाउँदै बार्बिक्यु पनि गर्न सकिन्छ। समूह वा दुई जना मात्रै किन नहुन्, क्याम्प फायर गरेर रमाइलो गर्न सकिने रिसोर्टका म्यानेजर कृष्ण लामाले बताए।
'बार्बिक्युका लागि हामी खयर, सिसौका दाउरा ल्याउँछौं। ती दाउरामा पोलेर खाएको मासुको स्वाद छुट्टै मीठो हुन्छ,' उनले भने।
अहिले काठमाडौंको भिडभाडबाट केही पर पुगेर आनन्दले बसेर खान कि नगरकोट वा धुलिखेल पुग्नुपर्छ, नभए सुकुटे।
'त्यसको विकल्पमा यो रिसोर्ट बन्ने विश्वास हाम्रो हो। धुलिखेल पुग्नु र पलाँसेमै रमाइलो गर्नुमा फरक छैन। यहाँबाट र धुलिखेलबाट देखिने दृश्य, हरियाली उस्तै हो। शान्त पनि उत्तिकै छ,' लामाले थपे।
रिसोर्ट राजमार्गको छेवैमा छ। कसैले झलक्क देखेर पनि पुग्छन्। कोही योजना बनाएरै पुग्न थालेका छन्। एक पटक सेवासुविधा लिइसकेकाहरू फेरिफेरि पनि पुगिरहने उनले बताए।
'सहरको भिडभाडबाट थोरै पर शान्त ठाउँ हो यो। बेलुका बाहिर रमाइलो गरेर बिहानै फर्किन खोज्नेहरूका लागि उपयुक्त गन्तव्य हो,' लामाले भने।
तीन वर्षअगाडिदेखि निर्माण थालिएको यो रिसोर्टको अहिले एउटा चारतले भवन छ। जसमा स्ट्यान्डर्ड, डिलक्स र सुपर डिलक्स कोठाहरू छन्।
रिसोर्टको क्षमता एकपटकमा ५५ जनासम्म बास बस्न सक्ने हो। सञ्चालनको ६ महिना मात्र भए पनि ७० प्रतिशत कोठाहरू भरिभराउ हुन थालेका छन्। कुनै कोठामा दुइटा मास्टर बेड र एउटा सिंगल बेड मिलाएर राखिएको छ। मिलेर सुत्ने साथीभाइ वा परिवार पाँच जनासम्म अटाउने उनले जानकारी दिए।
स्ट्यान्डर्ड कोठाको मूल्य दुई हजार पाँच सय र डिलक्सको तीन हजारदेखि तीन हजार पाँच सय रूपैयाँसम्म तोकिएको छ।
लामाका अनुसार ग्राहकहरूको प्रतिक्रिया पनि राम्रै आइरहेको छ। तीन-चारतारे होटल तथा रिसोर्टमा बसेर आएकाहरूले पनि त्यहाँभन्दा राम्रो सेवासुविधा भएको प्रतिक्रिया दिएका उनको भनाइ छ।
रिसोर्टमा सेमिनार तथा गोष्ठीका लागि ४० देखि ५० जनासम्म अटाउने मिनीहल छ। सय जनासम्म अटाउने ठूलो पनि हल छ। पहिलो चरणको निर्माण सकेर सेवा सुरू गरेको रिसोर्टले दोस्रो चरणमा स्विमिङ पुल, जुम्बा, विवाहका लागि मण्डपसहितको तीन सय जनासम्म अटाउने पार्टी प्यालेस बनाउने तयारी गरेको छ। अर्को तीनतले भवन पनि बन्दै छ।
'यहाँका समुदायलाई विवाह, ब्रतवन्ध जस्ता सामाजिक कार्यका लागि हामीले लक्षित गरेका छौं। संघसंस्थाहरूका कार्यक्रम लक्षित गरेर सेमिनारका लागि आवश्यक हल पनि उपलब्ध गराएका छौं,' सञ्चालक केसीले भने।
रिसोर्टमा अहिले १५ जना कर्मचारी छन्। पूरा सञ्चालनमा आउँदा २५ जनाभन्दा धेरैले रोजगारी पाउन सक्छन्। तर पछिल्लो समय लगानीमा समस्या भइरहेको सञ्चालक केसीले बताए।
'मैले त्यत्रो लगानी गरिसकेँ, अब थपका लागि ऋण पाइएको छैन। होटलका नाममा ऋण नै दिइएको छैन,' उनले भने, 'ऋण लिन जाँदा उल्टो बचन गरिदिनुपर्यो भन्छन्। अनि के भन्ने?'
अहिलेसम्म साथीभाइसँग सरसापट मागेर र आफ्नो पुरानो व्यवसायबाट आएको आम्दानीबाट लगानी गरिरहेको उनले बताए। तर पुर्याइपुर्याइ लगानी गर्दा आवश्यक भौतिक संरचना तथा मेसिनहरू थप गर्न समस्या भएको छ।
'भौतिक संरचनाहरू बनाउन राम्रोसँग लगानी गर्छु भन्दा पनि सकेको छैन। धेरै कुरामा अझै सुधार गर्नुपर्ने छ,' उनले भने।
रिसोर्ट सञ्चालक केसी पेट्रोलियम व्यवसायी पनि हुन्। काभ्रेमा नारायण आयल स्टोर चलाउँछन्। भक्तपुर, सूर्यविनायक नगरपालिका-९ का बासिन्दा केसीले २०५७ सालदेखि पेट्रोलियम व्यवसाय थालेका हुन्।
त्यसअघि नेपाल आयल निगम लगायत विभिन्न कार्यालयमा जागिर खाएको उनी बताउँछन्। भक्तपुरकै एक सहकारीको अध्यक्ष भएर पनि आठ वर्ष काम गरे। पछिल्लो समय पेट्रोल व्यवसाय गर्दागर्दै उनले रिसोर्टमा हात हालेका हुन्।
'आफैं व्यवसाय गर्नुपर्छ भन्ने सोच आएपछि व्यवसायतर्फ तानिएको हुँ,' उनले भने।
रिसोर्ट बनाएको ठाउँमा पनि उनले आधुनिक पेट्रोलपम्प लगायत अरू सेवासुविधा सहितको व्यापारिक भवन निर्माण गर्ने सोचेका थिए। सुपरमार्केट, रेस्टुरेन्ट, पेट्रोलपम्प सबै एकै ठाउँमा चलाउने योजना थियो।
'पेट्रोलपम्पकै लागि पाँच रोपनी जग्गा चाहिने। तर जग्गा नपुग्नेजस्तो देखियो। वरपरका छिमेकीसँग कुरा मिलाउनुपर्ने भएकाले अलि झमेला जस्तो भएपछि मैले अरू छाडेर रिसोर्ट चलाउने सोचेँ,' उनले भने।
उनका अनुसार अहिलेसम्म रिसोर्ट निर्माणमा जग्गाबाहेक ७ करोड रूपैयाँ लगानी भइसकेको छ। अब दोस्रो चरणको निर्माण सक्दासम्म थप ४ करोड रूपैयाँभन्दा बढी लागत लाग्ने उनको अनुमान छ।
'सबै थोकको भाउ बढ्दो छ। चार करोडले पुग्छ कि भन्ने हो तर काम गर्दै जाँदा कति लाग्छ भर नहुने रहेछ,' केसीले भने।
दोस्रो चरणको काम सक्दा यो रिसोर्टको लगानी कम्तीमा ११ करोड रूपैयाँ हुने उनले बताए।
सुरूआतमै रिसोर्ट राम्रो चलिरहेकाले उनी आशावादी छन्। कोभिड महामारीका कारण अर्थतन्त्र शिथिल भएको अवस्थामा पनि रिसोर्ट राम्रै चलिरहेकाले भविष्यमा पनि राम्रो चल्ने अपेक्षा छ।
'चलेन भने एक्लै भए पनि बस्छु भनेर यो रिसोर्ट बनाएको हुँ। जग्गा आफ्नै हो। राम्रो ठाउँ छ। के भयो त,' उनले हाँस्दै भने।