स्थानीय महिलाहरूले घरघरमै उत्पादन गरेका विभिन्न सामग्रीको बिक्री वितरणमा सहज होस् भनी रूपन्देहीको भैरहवामा कोशेली घर सञ्चालन गरिएको छ।
सिद्धार्थनगर नगरपालिकाले अगाडि बढाएको उपप्रमुख उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत कोशेली घर सञ्चालनमा ल्याइएको हो। उक्त कोशेली घरको नगर उपप्रमुख उमा अधिकारीले शुक्रबार शुभारम्भ गरेकी हुन्।
सिद्धार्थनगर वडा नम्बर ५ को कार्यालय भवनमा सञ्चालन गरिएको कोशेली घरमा नगरपालिकाद्वारा सञ्चालन गरिएका विभिन्न सिपमूलक तालिममा सहभागी महिलाले उत्पादन गरेका अचार, जुत्ताचप्पल, स्याण्डल, पोते, माला, कपडा लगायतका सामग्री राखिएका छन्।
महिलाले एकल तथा समूहमै पनि अलग-अलग उत्पादन गरेका साना साना वस्तुहरू पनि एकै ठाउँमा बिक्री वितरण गर्न सके उद्यमशिलतामा महिलाहरूको आकर्षण बढ्न सक्ने भएकोले कोशेली घर सञ्चालन गरिएको नगर उपप्रमुख अधिकारीले बताइन्।
अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन सँगै भैरहवा पर्यटकीय हब बन्दै गएकोले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई पनि लक्षित गरी कोशेली घर सञ्चालन गरिएको बताइन्।
‘महिला दिदीबहिनीले तयार गरेका अचार, जुत्ताचप्पल, पोते, चुरा तथा विभिन्न हस्तकलाका उत्पादनले बजार पाउन सके उहाँहरूको आयआर्जन बढ्ने मात्र होइन नेपाली धन बाहिर जान पनि रोकिन्छ, अर्को कुरा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने विदेशी पर्यटकहरूले पनि नेपालको कोशेलीका रूपमा हस्तकलाका सामग्री लैजान सक्छन्,’ अधिकारीले भनिन्।
अधिकारीले आफू जनप्रतिनिधि नहुँदै पनि हस्तकलाका सामग्री उत्पादनमा जति मेहनत पर्ने गर्छ विक्री वितरणमा पनि त्योभन्दा धेरै झण्झट बेहोर्नु पर्ने समस्याबारे जानकार रहेकोले केही भए पनि त्यसको समाधान कोशेली घरले गर्न सक्ने बताइन्।
हाल वडा कार्यालयको दुइटा कोठाबाट सञ्चालन गरिएको कोशेली घरलाई सामग्रीको उत्पादन र बजारीकरण बढ्दै गएपछि थप गर्दै जाने बताइन्। उनले उत्पादन बढ्दै गए कोशेली घरलाई खुला स्थानमा पनि सञ्चालन गर्न सकिने बताइन्।
नगरपालिकाबाट तालिम लिएर विभिन्न सामग्री उत्पादन गर्दै आएको सक्षम सहारा बहुउद्देश्यीय महिला समूहका अध्यक्ष शान्ता कँडेलले नगरपालिकाबाट सीप सिकेर उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि नगरपालिकाले कोशेली घर सञ्चालन गरिदिएकोमा खुसी व्यक्त गरिन्।
‘सिप सिकेर विभिन्न सामग्री उत्पादन गरे पनि ती सामग्री कहाँ लगेर बिक्री गर्ने भन्नेमा हामीहरू चिन्तित थियौं, कोशेली घर सञ्चालनले त्यो चिन्ता हटेको छ,’ कँडेलले खुसी व्यक्त गर्दै भनिन्।
महिला उद्यमी बिन्दु न्यौपानेले नगरपालिकाले सिपमूलक तालिम दिएर मात्र आफ्नो दायित्व पूरा भयो भन्ने नसोची उत्पादित वस्तुहरूको बजारीकरणमा सहजीकरण गर्न सके सिपयुक्त महिलाहरू खाली बस्नुपर्ने अवस्था नआउने बताइन्।
हस्तकलाका सामग्री गुणस्तरीय र सस्तो समेत हुने भएकोले उपभोक्ताले पनि ढुक्क भएर किनेर उद्यमी महिलाहरूलाई प्रोत्साहित गर्न उनले आग्रह गरिन्।
कोशेली घरले स्थानीय उत्पादनको बजारीकरण, महिलाहरूमा उद्यमशिलताको विकास र आर्थिक चलायमानमा सघाउ पुर्याउने मात्र नभई नगरको पहिचानमा समेत टेवा पुर्याउने महिला उद्यमीहरूको विश्वास छ।