गत असारदेखि राइड सेयरिङ कम्पनी 'टुटल' को सेवा बन्द भएको छ। अहिले राइड सेयरिङ कम्पनीको संख्या दर्जन हाराहारी पुग्न लाग्दा यसको सुरूआत गर्ने पहिलो कम्पनीको सेवा भने बन्द भएको हो।
योसँगै धेरैले प्रश्न गरेका छन्- के टुटल सधैंका लागि बन्द भएको हो?
हामीले यसबारे कम्पनीका संस्थापक तथा सिइओ शिक्षित भट्टलाई सोध्यौं।
उनले भने, 'टुटल बन्द हुन लागेको होइन। सिस्टम अपग्रेड भइरहेको छ। हामीले यो सेवा थाल्दा अहिलेजस्तो प्रविधि थिएन। नयाँ–नयाँ प्रविधि आइरहन्छ। सोहीअनुसार अपग्रेड गरिरहेका छौं। अब फेरि सेवा सुरू हुन केही समय लाग्न सक्छ।'
प्रतिस्पर्धा गर्न नसक्दा टुटल पूर्ण रूपमा बन्द हुन लागेको आशंका कतिपयको छ। काठमाडौंबासीलाई राइड सेयरिङ बुझाउने र चिनाउने टुटलको पहिचान धमिलो हुँदै गएको छ। सार्वजनिक यातायातको विकल्पका रूपमा राइड सेयरिङ स्थापित भइसक्दा टुटल भने ओझेलमा परेको छ।
सन् २०१६ मा टुटल बजारमा आउँदा यस्तो व्यवसाय पनि हुन्छ भन्ने धेरैलाई जानकारी नै थिएन। मोबाइल एपमार्फत् दुईपांग्रे सवारीसाधन बोलाउन सकिन्छ र त्यसले गन्तव्यमा पुर्याइदिनेछ भन्ने बुझाउन टुटललाई लामै समय लाग्यो। स्कुटर/मोटरसाइकलमा यात्रु बोकेबापत चालकले कमाउन सक्छन् भन्ने पनि हाम्रा लागि नयाँ थियो।
यसबाट यात्रु र दुईपांग्रे चालक दुवैलाई फाइदा भयो। कम मूल्यमा सहज यात्रा सेवा उपलब्ध हुँदा काठमाडौंमा यसको लोकप्रियता ह्वात्तै चुलियो। तर टुटललाई बजारमा स्थापित हुन सहज भएन।
एकातिर नयाँ प्रविधि भएकाले आफ्नै चुनौती, अर्कातिर कानुनी उल्झन र विरोध सुरू भयो। अनधिकृत रूपमा यात्रु बोक्न नपाइने भन्दै ट्याक्सी चालकले संस्थागत विरोध गरे। भौतिक आक्रमणसमेत भयो, पटकपटक टुटलका चालक कुटिए। ट्राफिकले पनि धरपकड गर्यो। राज्यले पनि कार्यान्वयन हुन नसक्ने नियम लाद्न खोज्यो।
त्यो बेला टुटलले हार मानेन। अवरोधकै बीच मानिसहरूलाई बुझाउँदै गयो। ट्याक्सीको मनलाग्दी शुल्क र रवाफले आजित यात्रुहरू सहुलियत मूल्यमा सहज यात्रा सुविधा पाउने भएपछि राइड सेयरिङतर्फ आकर्षित भए।
नेपालमा राइड सेयरिङको बजार राम्रो देखेपछि सन् २०१८ मा अमेरिकी कम्पनी पठाओ नेपाल आयो। यसले बजारमा राम्रो पकड लियो। त्यसपछि लगालग विदेशी तथा स्वदेशी लगानीमा यस्ता कम्पनी आए। अहिले केहीले त दर्ताबिनै सेवा दिइरहेका छन्। दुईपांग्रे सवारीबाट सुरू भएको राइड सेयरिङ सेवामा अहिले प्रायःजसो ट्याक्सी जोडिइसकेका छन्।
यस्तो प्रतिस्पर्धात्मक बजारमा टिक्न टुटललाई मुश्किल परेको छ। यहाँ अडिन कम्पनीले दह्रो खुट्टा टेक्नुपर्ने हुन्छ।
'यो सेवा सुरू त हामीले नै गर्यौं। तर सरकारको प्रष्ट नीतिको अभावमा अप्ठ्यारो पर्यो। आज हेर्नुहुन्छ भने दर्ता नगरी पनि कम्पनी सजिलै चलाइराखेको अवस्था छ,' टुटलका सिइओ भट्टले भने।
सरकारले नियमन नगर्दा र प्रष्ट कानुन नल्याउँदा राइड सेयरिङमा केही अप्ठ्याराहरू सिर्जना भएको भट्ट बताउँछन्।
अप्ठ्यारोको उदाहरण दिँदै उनले थपे, 'मानौं मैले नेपालमा नयाँ किसिमको गाडी उत्पादन गरेँ। त्यो गाडी बनाउँदा एकदमै दुःख पाएँ। त्यस्तो गाडी चलाउनुपर्छ भनेर हजारौं मान्छेलाई सिकाउनु पनि पर्यो। अर्थतन्त्रमा पनि निकै टेवा पुर्याइरहेको छ। तर अहिले विदेशबाट त्यस्तै खालको गाडी आयो र त्यसको भन्सार पनि नलिएर बिक्री गर्न दिइयो। राइड सेयरिङमा यस्तै भएको छ।'
टुटलले सेवा बन्द गर्दा नेपालीहरूको श्रमको मूल्य बाहिरिएको उनी बताउँछन्। उनका अनुसार एक जना राइडरले टुटलमा काम गर्दा कमाइको ९० प्रतिशत पाउँथे। १० प्रतिशत कम्पनीले लिन्थ्यो।
'हामीले लिए पनि हाम्रै देशमा बस्थ्यो,' उनी भन्छन्, 'तर विदेशी कम्पनीमा काम गर्दा पैसा बाहिरिएको छ। नेपालीहरूले आफ्नै देशमा श्रम गर्दा पैसा विदेशिनु दुःखद हो।'
पछिल्लो समय टुटलमा ८० हजारभन्दा बढी राइडर जोडिएका थिए। गत वर्ष सेतोपाटीसँग कुराकानी गर्दै भट्टले टुटलका दैनिक प्रयोगकर्ता ८ देखि १० हजारसम्म भएको बताएका थिए। तर पछिल्लो समय प्राविधिक तथा विदेशी कम्पनीसँग प्रतिस्पर्धाका कारण सेवाग्राही घट्न थालेका थिए।
टुटल आउँदा विश्वका धेरैजसो मुलुकमा राइड सेयरिङ प्रविधि विकास भइसकेको थियो। नेपालमा सार्वजनिक यातायात व्यवस्था राम्रो नभएको, ट्याक्सी भाडा सर्वसाधारणको पहुँचभन्दा धेरै भएको र आफ्नो सवारी नहुँदाको सास्ती भट्टले देखिरहेकै थिए। यी तीनै समस्याको समाधान राइड सेयरिङ हुन सक्ने उनलाई लागेको थियो।
'त्यो बेला मोटरसाइकल चलाएर कमाइन्छ र भन्थे, उद्यमशीलता भनेकै धेरै मान्छेको व्यवहार कसरी परिवर्तन गर्ने भन्ने हो। हामीले एपबाट राइडर लिन सकिन्छ भन्ने कुरा प्रमाणित गरिदियौं,' भट्ट भन्छन्।
डोटीको सिलगढीमा जन्मिएका भट्ट इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन इञ्जिनियर हुन्। इञ्जिनियरिङ गरेर युनाइटेड टेलिकममा ७ वर्ष जागिर खाए। त्यहीबीच एमबिए सके। सन् २००९ देखि नेपाल इन्भेस्टमेन्ट बैंकमा काम गरे।
सन् २०१५ तिर भने उनलाई आफ्नो क्षमता नयाँ काममा प्रयोग गर्न मनलाग्यो। के गर्ने भन्ने थाहा नहुँदा धेरैखाले प्रयास गरे। यसैबीच बस ट्र्याकिङ गर्ने एप बनाउने सोचे। तर विभिन्न झमेला सम्झेर झन्झट माने।
त्यस बेलासम्म उनले जागिर छाडिसकेका थिए। अनेक सोचे, के-के अड्कोले सबै योजना असफल भए। एकदिन उनलाई झल्याँस्स भयो, बस ट्र्याक गर्न सकिन्छ भने अरू सवारी पनि त ट्रयाक गर्न सकिएला नि!
'गाडी भएका मान्छेले, नभएका मान्छेलाई ट्र्याक गर्न सकियो भने त राइड सेयरिङ गर्न सकिन्छ भन्ने लाग्यो,' भट्टले त्यो बेलाको अनुभव सेतोपाटीसँग साटेका थिए।
उनलाई यो सेवा गाडी वा ट्याक्सीमा सुरू गर्नुपर्छ भन्ने लाग्यो। हत्तपत्त चित्त नबुझ्ने उनलाई त्यो पनि जमेन। भट्टले यो सेवाबारे धेरै नै सोचे। सडकमा गएर हेरे। कारहरू भए पनि तर जताततै मोटरसाइकल देखे। त्यो बेला करिब ८ लाख मोटरसाइकल कुद्थे।
उनले देखे- १० मोटरसाइकलमध्ये ८ वटामा एक जना मात्र यात्रा गर्ने रहेछन्।
पछाडिको सिट खाली राख्नुको सट्टा प्रयोग गर्ने हो भने बाटामा गाडी कम गुड्छ। जाम कम हुन्छ।
अनि जन्मियो टुटल अर्थात् आरामदायी राइड।
२०१७ जनवरीमा उनीहरूले परीक्षण सुरू गरे। मान्छेलाई बुझाउन सास्ती भए पनि उनले सम्झाउन छाडेनन्। बिस्तारै सञ्चारमाध्यमहरूमा खबर छापिन थाल्यो। सोधखोज गर्नेहरू बढे।
'नयाँ प्रविधि प्रयोगकर्तालाई बुझाएर व्यवहारमा ल्याउन झन्डै डेढ वर्ष लागेको थियो,' उनले भने। त्यो बेलाको प्रविधिले टाढा–टाढाका राइडरले पनि रिक्वेस्ट लिन मिल्थ्यो। राइडरको इच्छाअनुसार जहाँको यात्रुलाई पनि सेवा दिन सक्ने व्यवस्था थियो।
टुटल प्रविधिको परीक्षण चरणमै थियो। राम्रोसँग व्यवसाय विस्तार पाएकै थिएन, बजार प्रतिस्पर्धी भयो। बामे सर्दै गरेको टुटल दौडमा पछाडि धकेलियो।
'जुन समयमा हामीले टुटल सुरू गर्यौं, त्यही समयमा स्थापित विदेशी कम्पनी आयो। प्रविधि र ज्ञानसँगै पैसा पनि भएकाले उनीहरू सजिलै अगाडि बढे,' भट्ट भन्छन्।
अहिले पनि टुटलमा कुनै विदेशी कम्पनीले लगानी गर्न चाहे सहज नभएको उनी बताउँछन्। लगानीको उचित वातावरण नहुँदा नेपाली कम्पनीलाई संघर्ष गर्न समय लाग्ने भट्टको भनाइ छ।
'प्रविधि र पैसा दुइटै कुरा नेपालमा छिर्न कानुन चाहियो नि! अहिले मेरो कम्पनीमा २० करोड लगानी गर्न त मान्छे तयार होलान् रे, तर जबसम्म कानुनी रूपमा लगानीको सुरक्षा हुँदैन, कसले लगानी गर्ने? त्यति नभएपछि हामी आफैंले गर्नुपर्छ। त्यही भएर समय लाग्छ। जुन चिज विदेशी कम्पनीले दुई दिनमा गर्छन्, हामीलाई दुई महिना लाग्न सक्छ,' उनले भने।
प्रतिस्पर्धी बजारमा टुटलले टिक्ने प्रयास नगरेको होइन। तर राइड सेयरिङ कम्पनी थपिने क्रम बढेसँगै टुटलको गति धिमा हुँदै अन्ततः रोकियो।
कम्पनीका संस्थापक भट्ट टुटल फेरि सुरू हुन्छ भन्छन्। अप्ठ्यारा चिर्दै नयाँ स्वरूपमा सञ्चालन गर्न सकिनेबारे अध्ययन गरिरहेको बताउँछन्। कहिले र कुन स्वरूपमा आउँछ भन्नेबारे चाहिँ खुलाउन चाहेनन्।
'अब बजारले जतिखेर खोज्छ त्यतिखेरै टुटलले फेरि सेवा सुरू गर्छ। बजारलाई पनि नेपाली सेवाको महत्व अनुभूति हुनुपर्छ,' भट्टको तर्क छ, 'कहिलेकाहीँ कुनै ब्रान्डको उपस्थिति मान्छेलाई वास्ता भइरहेको हुँदैन। त्यसको कमी र हामीलाई आफ्नै ब्रान्ड चाहिने रहेछ भन्ने भयो भने हामी जति बेला पनि उपलब्ध हुन्छौं।'