रूपन्देही, भैरहवाका सुरज मल्लाहलाई आफ्ना पूर्वजले माछाका परिकार खुवाउने पसल कहिले सुरू गरे भन्ने ठ्याक्कै हेक्का छैन। उमेरले ४० कटेका सुरज थाहा पाउने हुँदा उनका बुवा बैजनाथ मल्लाह भैरहवाको देवकोटा चोकमा बसेर तावामा माछा तार्थे।
बैजनाथले उनका बुवा बिन्दुश्री मल्लाहले सुरू गरेको पसललाई नै निरन्तरता दिएका थिए। उमेरले ८० वर्ष पुगेका बैजनाथलाई पनि आफ्ना बुबाले कहिले माछाका परिकारको पसल सुरू गरे, थाहा छैन।
उनलाई यत्ति थाहा छ, अहिले भैरहवाको देवकोटा चोकमा, लक्ष्मीप्रसाद देवकोटाको शालिक भएको ठाउँनजिकै टिनको छाप्रोमा बिन्दुश्री पसल चलाउँथे।
देवकोटा चोकमा अहिलेजस्तो सडक थिएन। चोक र बिन्दुश्रीको पसल सबै बेनामे थिए। भैरहवा बजार पातलो थियो। बिन्दुश्रीको पसलमा माछाका परिकार खान आउनेहरूको भिड दिउँसै सुरू हुन्थ्यो। भारतीय बजार सुनौलीबाट पनि माछाका पारखीहरू बिन्दुश्रीकै पसलमा आउँथे।
अहिले रूपन्देही माछा उत्पादनमा आत्मनिर्भर छ। रूपन्देहीको छपिया माछापालन र मत्स्य पर्यटनका लागि देशभर प्रख्यात छ। छपिया, सियारी, सुद्धोधन, ओमसतिया, मायादेवी लगायत स्थानमा माछापालनका धेरै पोखरी छन्। यहाँ उत्पादित माछा देशका विभिन्न सहरमा पुग्छ।
बिन्दुश्रीले पसल सुरू गर्दा रूपन्देहीमा माछा पाल्ने चलन फाटफुट मात्रै थियो। बिन्दुश्रीले बरफमा राखेर भारतबाट ल्याइएका माछा तारेर खुवाउँथे।
'हजुरबुवाले ज्यानले सक्दासम्म माछा तारेरै परिवार पाल्नुभयो। बुढ्यौलीले अशक्त भएपछि बुवा बैजनाथले सम्हाल्नुभएको हो,' बिन्दुश्रीका नाति सुरजले भने।
उनका बुवा बैजनाथले झन्डै ६० वर्ष यही काम गरे। बैजनाथलाई उनकी श्रीमती रामपति मल्लाहले साथ दिइन्।
अहिले बिन्दुश्री र बैजनाथको पेसालाई तेस्रो पुस्ताका सुरजले निरन्तरता दिएका छन्। बैजनाथ पसलमा बस्न नसक्ने भएका छन्। रामपति भने अहिले पनि सक्रिय छिन्।
बिहानैदेखि माछा किन्ने, माछा र मसला तयारी चट्नी इत्यादिको काममा सुरज व्यस्त हुन्छन्। उनकी आमा रामपति ग्राहकको सेवामा लागेकी हुन्छिन्।
बिन्दुश्रीले देवकोटा चोकबाट सुरू गरेको पसल अहिले आफ्नै घरमा पुगेको छ र 'सुवास माछा पसल' नामबाट पारखीहरूका बीचमा सुपरिचित छ।
सुरज भन्छन्, 'देवकोटा चोकमा टिनको छाप्रो हालेर नामबिना चलेको पसल तीन ठाउँ सर्दै अहिले आफ्नै घरमा चलाएका छौं।'
आफ्नै घरमा पुगेको तीन महिना मात्रै भएको छ। सुवास माछाका परिकार बुटवल, लुम्बिनी, कपिलवस्तु, नवलपरासी, काठमाडौं र भारतको सुनौली बजारका पारखीसम्म सुपरिचित रहेको सुरजको भनाइ छ।
कसरी यति लोकप्रिय भयो त यो पुस्तैनी माछा परिकार?
'हामी आफैं तयार गरेको मसला प्रयोग गर्छौं। माछा त सामान्य तरिकाले नै पकाउँछु। बजारको मसला चलाउँदिनँ। ग्राहकले घरमा बनाएको मसला रूचाउनुहुन्छ,' सुरज भन्छन्, 'नुन, बेसार, चामलको पिठो, लसुन, अदुवा र खुर्सानीको पेस्ट मोलेर माछा बनाउँछु। यहाँ जिरा र धनियाँ कम प्रयोग हुन्छ।'
ओमसतियाका शिव राना सुवास माछा पसलका नियमित ग्राहक हुन्। भैरहवामा उनको कपडा पसल छ। एक-दुई दिन बिराएर तारेको माछा खाएर निस्किन्छन्। शिवलाई सुरजले बनाएको माछा स्वादिलो लाग्छ।
भन्छन्, 'यति मिठो त जहाँसुकै खान पाइँदैन।'
अर्का पारखी राधेश्याम तेली पनि एक-दुई दिन बिराएरै पुग्छन्।
'यहाँ पकाएको माछाको स्वाद फरक हुन्छ। घरमा यसरी पकाउनै सकिँदैन। घरमा झन्झट पनि हुन्छ खान मन लागेको दिन यहीँ आइहाल्छु,' उनले भने।
शिव र राधेश्यामले भनेजस्तै सुवास माछा पसलको स्वादले काठमाडौंका पारखीलाई पनि तानेको छ। यहाँ आएर एकपटक माछा खाएर गएकाले हवाईजहाजबाट आउने गरी अर्डर गर्ने सुरज बताउँछन्।
उनले भने, 'हप्तामा दुई-चार जनाले काठमाडौंबाट अर्डर गर्नुहुन्छ। चालीस–पचास पिस माछा पठाइदिनू भनेर पैसा पठाइदिनुहुन्छ। माछा तारेर हवाईजहाजबाट पठाइदिन्छु।'
सुरज धेरै जसो रूपन्देही, छपियाको कमन ग्रास, सिल्भर कार्प, मागुर, बैखी लगायत प्रजातिका ताजा माछाका परिकार बनाउँछन्। भारतीय माछा चलाउँदैनन्। छपियाको चिसो पानीको पोखरीको माछा भारतमा पनि लोकप्रिय छ।
माछाका परिकार पाइने रेस्टुरेन्टहरूमा झोल माछा, माछा सेकुवा, स्टिम, ब्वाइल, माछा तावा, माछा मःमः, माछा चिल्ली, बोनलेस, फिसबल, फिस फिंगर, माछा छोइला लगायत परिकार पाइन्छ। यता सुरजलाई भने तावा माछा नै बनाउन भ्याइनभ्याइ हुन्छ।
'यहाँ आउने सबै जसोले तावा माछा नै मन पराउनुहुन्छ। जाडो समयमा कसैकसैले झोल खान मन पराउनु हुन्छ,' सुरज भन्छन्।
तावामा तारेको माछासँगै भुजा, टमाटरको चट्नी, खुर्सानी र तेलमा तारेको लसुन सुवास माछा पसलको विशेषता हो। धेरैजसोले घरमा पनि लैजान्छन्।
सुरजका अनुसार जाडो याममा माछा खपत धेरै हुन्छ। गर्मीमा कम हुँदा पनि दैनिक पचास किलोसम्म माछा तार्ने उनले बताए। जाडोसँगै चाडपर्व र सार्वजनिक बिदाका दिन पसलमा ग्राहकको भिड लाग्छ। सुरज बिहान छ बजेदेखि नै पसलमा व्यस्त हुन्छन्।
माछा ल्याउने, काट्ने र मसलामा मोलेर तयार गर्ने काम गर्दै दिउँसो भइसक्छ। एक बजेतिर माछा पकाउन सुरू गर्छन्। यो क्रम राति दस बजेसम्म चलिरहन्छ।
भैरहवाका केही ठूला होटलले आफ्नै पसलबाट तारेको माछा लैजाने सुरज बताउँछन्।
सुरजका अनुसार उनको पसलबाट दैनिक २५ हजार रूपैयाँसम्मको माछा बिक्छ। होटलहरूमा अर्डर हुँदा अझै बढी हुन्छ।
'सरदर दैनिक लगानी १५ हजार भए पनि दस हजार रूपैयाँ सजिलै बचत हुन्छ,' उनले भने।
सुरज चौध वर्षअघि रोजगारीका लागि दुबई गएका थिए। दुई वर्ष बसेर फर्केपछि माछा तारेर बेच्ने आफ्नै पुर्ख्यौली पेसामा लागेका हुन्। आफ्नो पसलमा काम गर्न थालेपछि विदेश जाने मोह भंग भएको उनले बताए।
'महिनामा एक-दुई लाख रूपैयाँ कमाउन र परिवार पाल्न विदेश जानु पर्दैन। घरमै बसेर सानोतिनो व्यवसाय गरे आफ्नै देशमा कमाउन सकिन्छ,' उनी भन्छन्।
विदेशको मोहले छाडेपछि स्वदेशी कमाइको राज थाहा पाएको उनी बताउँछन्।