पुक्क फुलेको सानो आकारको पुरीमा अमिलो, मसला र पकाएको तात्तातो मटर भरिएको फुल्की नखाने तराईमा कमै मान्छे होलान्!
सुजी र मैदाको पिठोबाट बनाएको पुरी तेलमा फुराएपछि स्वाद अनुसार मसला, खुर्सानी, अमिलो र मटर राखेर फुल्की बनाइन्छ।
बजारका मुख्य चोकसँगै बसपार्क, साप्ताहिक हाटबजार र विभिन्न पार्कहरूमा सजिलो गरी बेच्न र खान सकिने फुल्की बिहे, ब्रतबन्ध, जन्मदिन र अन्य उत्सवका पार्टीको अनिवार्य परिकार बन्दै गएको छ।
सडक किनारका ठेलामा राखेको मटरको बाक्लो झोलमा अमिलो र पिरो राखेर बनाएको फुल्की सम्झेर मुख नरसाउने को होला र!
इच्छाअनुसार चिसो वा तातो खान पाइने फुल्की ठाउँअनुसार पानीपुरी र गोलगप्पीको नामले पनि चिनिन्छ। जे नाम भने पनि तराईका हरेक सहरहरूमा सयौँ युवाहरूलाई यसले स्वरोजगार पनि बनाएको छ।
रुपन्देहीको तिलोत्तमा–९, मंगलापुरका विपीन, रवि र अर्जुन बानियाको बिहानको काम चाट, फुल्की, समोसा र टिकिया बनाउन थालेर सुरु हुन्छ।
बानिया परिवारमा ठेलाको व्यापार नयाँ होइन। बुबा रामकिशुन बानियाले भुइँकटहर, खरबुजा र काँक्रो ठेलामा राखेर बेच्दै चार छोरा हुर्काए, पढाए। सानैदेखि बुबाको मिहिनेत देखेका दाजुभाइले बुबाको पदचाप पछ्याउँदै चाट र फुल्कीको व्यापार सुरु गरे, स्वदेशमै स्वरोजगार बने।
तीनमध्ये माइलाभाइ रविले सात वर्षअघि नै चाट र फुल्कीको व्यापार सुरु गरेका हुन्। विपीन र अर्जुन चाहिँ तीन वर्षदेखि यस पेसामा छन्।
सातवर्ष अघि भाइले चाट फूल्किको व्यापार थाल्दा जेठा विपिन मलेसिया थिए। विदेशमा मिहिनेत गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि थियो उनमा। उनी मलेसियामात्र होइन संसारका राम्राराम्रा मुलुक पनि जान चाहन्थे। युरोप उनको सपना थियो। मलेसियाबाट फर्केपछि उनी युरोप जान कस्सिए।
विपीनले मलेसियामा कमाएर ल्याएको पैसामा बैंकको ऋण आठ लाख थपेर एजेन्टलाई बुझाए। नेपालबाट सजिलै भिसा पाइँदैन भनेपछि उनी भारतको बाटो हुँदै युरोप जान तयार भए।
जीनवनमा सबै कुरा आफूले सोचेजस्तो कहाँ हुन्थ्यो र! घरबाट हिँडेको पाँचौँ दिनमा टर्की पुगेपछि विपीनले आफू एजेन्टबाट ठगिएको थाहा पाए।
एजेन्टले जंगलको बाटो हुँदै गैरकानुनी रूपमा युरोप पुग्नुपर्छ भनेपछि आफैँले टिकट काटेर त्यहीँबाट घर फर्के।
सम्पत्तिको नाममा रहेको सात धुर जमिनमा बनेको घरसमेत धितो राखेर बैंकबाट ऋण निकालेका विपीन स्वदेशमै चाट र फुल्की बेचेर ऋण तिर्न कस्सिएका छन्।
विपीनलाई बुबा रामकिशुन स्वदेशमै सानोतिनो व्यवसाय गर्न भनिरहन्थे।
नगरे पो हुँदैन, गरे स्वदेशमै के हुँदैन र! रामकिशुन र रविको हौसलापछि तीन वर्षदेखि विपीन पनि चाट र फुल्कीको व्यापारमा छन् र सन्तुष्ट पनि छन्।
तीन दाजुभाइ घरमा बिहानभरि समोसा, टिकिया र फुल्की बनाउँछन्। दिउँसो एक बजेपछि फुल्कीले भरिएका तीनवटा ठेला लिएर घरबाट निस्किन्छन्। कान्छो भाइ अरुण पनि कहिलेकाहीँ दाजुहरूलाई सघाउन पुग्छन्।
घरमा सबै मिलेर बनाएको चाट–फुल्की दिउँसो केही घण्टामै बिक्री भइसक्छ। विपीन भन्छन्, ‘बाह्र, एक बजेसम्म घरमै बसेर बनाउछौँ। त्यसपछि बल्ल ठेला लिएर हिँड्ने हो।’
तीन जना आआफ्ना ठेला गुडाउँदै तीनतिर जान्छन्। उनीहरू तीन जनाले दैनिक दस हजार रुपैयाँसम्म आम्दानी गर्छन्।
‘सबै बिक्री भयो भने दिनमै नौ–दस हजार कमाइ हुन्छ,’ विपीन भन्छन्, ‘गर्मीमा भन्दा जाडोमा धेरै व्यापार हुन्छ। गर्मीमा मानिसहरू धेरै हिँड्दैनन्। दिनभरिमा सकिने गरी मात्रै सामान तयार गर्नुपर्छ।’
घरका सबै एउटै काममा भएकाले उनीहरू बिहे, ब्रतबन्ध र अन्य शुभकार्यमा होटलहरूमा हुने पार्टीमा चाट, फुल्की, जेरी बनाउने जिम्मा लिन्छन्।
विपीन भन्छन्, ‘कहिलेकाहीँ त एउटै पार्टीमा तीन चार सय प्लेट फुल्की बिक्री हुन्छ। अहिले पार्टीहरूमा चाट र फुल्की खानेहरू धेरै हुन्छन्। आम्दानी पनि राम्रो हुन्छ।’
सात वर्षअघिदेखि माइलाभाइ रविले गाउँ–सहरमा चाट र फुल्की चिनाएका हुन्। ‘रवि फुल्की चाट’ ब्रान्ड बनाएका छन्। तीन दाजुभाइको ब्रान्ड एउटै हो। सबैले बनाउने तरिका र बेच्ने सामान एकै हो।
बजारमा मेसिनबाट बनाइएका तयारी फुल्की पाइने भए पनि उनीहरू घरमै बनाउँछन्। फुल्कीमात्र होइन, त्यसको मसला, खुर्सानी, अमिलो (इमिली) पनि आफैँ तयार गर्छन्।
विपीन भन्छन्, ‘बजारमा किनेको मसलामा अखाद्य वस्तु मिसिएको हुन सक्छ। मानिसको स्वास्थ्यमा खेलवाड गर्नु भएन। हाम्रो व्यापार एक–दुई दिनको होइन। एक पटक नराम्रो भयो भने अर्को पटक कोही आउँदैन।’
विपीन भलवारी चोकमा ठेला राख्छन। माइलो रवि कुञ्जलापुरस्थित फुल्कीचोकमा र साइलो अर्जुन करहिया बजारमा राख्छन्।
अर्जुनले बुटवलको तिलोत्तमा कलेजबाट विज्ञान विषयमा बाह्र कक्षा उत्तीर्ण गरेका छन्। उच्च शिक्षा पढ्ने चाहना भए पनि दाजु विदेश जाँदा लागेको ऋण तिर्न पढाइ थाती राख्नु परेको उनले बताए। उनी केही वर्षपछि पढ्ने विचारमा छन्।
कान्छो अरुण बाह्र कक्षा पूरा गरेर होटल म्यानेजमेन्ट पढ्ने योजनामा छन्।
विपीन र रवि स्कुल पढ्दा पनि बिदाको दिन बदाम बेचेर पढाइ खर्च जुटाउँथे। यी दुई दाजुभाइ अर्जुन र अरुणलाई उच्च शिक्षा पढाउने सोचमा छन्।
‘हामीले एसएलसीपछि पढ्न पाएनौँ। दुईजना भाइलाई पढाउने हो,’ विपीनले भने।
नेपालमा रोजगारीको अवसर छैन भनेर युरोप पस्न खोज्दा ठगिएका विपीन रोजगारीको लागि विदेश जानु आवश्यक नरहेको निष्कर्षमा पुगेका छन्।
‘नेपालमा काम भएन भनेर कोही पनि विदेश जानु पर्दैन। परिश्रम गर्न सके नेपालमै पैसा कमाउन सकिन्छ, अब त बिर्सिएर पनि विदेश जाने योजना बनाउदिनँ,’उनले भने।
नेपाली युवालाई स्वदेशमै काम गर्न विपीनको सुझाब छ। यी बानियाँ दाजुभाइ आफ्नै ठाउँमा व्यवसाय गरेर स्वरोगारी सिर्जनाका दृष्टान्त भएका छन्।