काठमाडौं सहरमा न रेस्टुरेन्टको खाँचो छ न कुनै परिकारको अभाव। यहाँका सडक र गल्ली जताततै रेस्टुरेन्ट र क्याफे भेटिन्छन्। खानाका पारखीका लागि विश्वका चर्चित र थरीथरी स्वादका खानेकुरा उपलब्ध छन्।
संसारका कुनाकुनामा प्रसिद्ध स्वादहरूका भीडमा जुकोट दरबार रेस्टुरेन्ट एन्ड लाउन्ज बारले भने आफ्नो छुट्टै स्वाद पस्किने गरेको छ। दरबारमार्गमा रहेको यो रेस्टुरेन्टले नेपालका प्रचलित र परम्परागत खानेकुरा खुवाउँछ।
जुकोटको विशेष परिकार मार्सी थकाली, कालो सिमीको दाल, झानेको फापरको मःम, च्यांग्राको सुकुटी, गुन्द्रुक अचार, स्याउको सुकुटी आदि हुन्। मार्सी थकाली बँदेल, खसी वा लोकल कुखुरासँग खान पाइन्छ। शाकाहारीले सिस्नो वा मनपर्ने तरकारी रोजेर खान सकिन्छ।
'मार्सी थकाली, कालो सिमीको दाल र झानेको मःम निकै रूचाइएको छ,' रेस्टुरेन्टका सञ्चालक अमृतबहादुर शाहीले भने। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका २८ वर्षीय अमृतले २०७७ फागुनमा यो रेस्टुरेन्ट सुरू गरेका हुन्।
खानामा मात्रै होइन, रेस्टुरेन्टको नाममा पनि केही खास छ।
नामबारे प्रस्ट पार्दै अमृतले सेतोपाटीसँग भने, 'उहिले बाइसे–चौबिसे राज्य हुँदा बाजुरामा हाम्रा पुर्खाको जुकोट दरबार थियो। अहिले त्यो भत्किसकेको छ। त्यहाँको हाम्रो इतिहास दरबारमार्गमा प्रर्वद्धन गर्ने उद्देश्यले रेस्टुरेन्टको नाम रोजेको हुँ।'
अमृतका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका कृषिमा अग्रणी मानिन्छ। त्यहाँ विशेष गरी कालो सिमी र स्याउ धेरै फल्छ। उनी त्यहाँका खानेकुरा काठमाडौंलाई खुवाउन चाहन्छन्।
'हाम्रो गाउँपालिका एकदमै विकट छ। त्यहाँको कृषि उत्पादनले कहिल्यै बजार पाउँदैन। त्यहाँका किसानले उत्पादन गरेका रैथाने खानेकुरा दरबारमार्गमा ल्याएर पस्किएको हुँ,' उनले भने।
स्वामीकार्तिक खापरमा बजार नभएको होइन तर अझै पनि त्यहाँ वस्तु विनिमय प्रचलित छ। किसानहरू किनबेचभन्दा बढी साटासाट गर्छन्। कोदो र सिमी लगायत अन्य उत्पादन साटासाट नै हुन्छ।
अमृतले जुकोटमा धेरै जसो परिकार बाजुरा र जुम्लाबाट रैथाने उत्पादन ल्याएर बनाउँछन्। उनी देशका अन्य भूभागबाट पनि रैथाने उत्पादन ल्याएर काठमाडौंलाई खुवाउन लागि परेका छन्। पश्चिम नेपालको ६० प्रतिशत र पूर्वको ४० प्रतिशत रैथाने खाद्य परिकार पस्किरहेको उनले बताए।
काठमाडौंको दरबारमार्ग भन्नेबित्तिकै मानिसहरूले महँगो मूल्य सम्झन्छन्। आफ्नो रेस्टुरेन्टले भने सहुलियत मूल्यमा अर्गानिक परिकार पस्किने अमृतको भनाइ छ।
'भेज खाना थालीको जम्मा २९५ रूपैयाँ पर्छ। मार्सी ३९५ रूपैयाँ। भेजको दरमा एक सय रूपैयाँ थप्दा चिकेन खान पाइन्छ,' परिकारको मूल्यबारे उनले भने, 'धेरै महँगो पनि होइन, ज्यादै सस्तो पनि होइन। सबैतिरको मेनु हेरेर हामीले मध्यमस्तरको मूल्य राखेका छौं।'
मःम, चाउमिन, पिज्जा जस्ता खानेकुरा पनि आफ्नो रेस्टुरेन्टमा पाइने अमृतले बताए। उनका अनुसार जुकोट दरबार रेस्टुरेन्टमा नचलाई नहुने अवस्थामा मात्र मैदा चल्छ। मैदाका परिकारले स्वास्थ्यमा पुर्याउने हानी ख्याल राखेर फापरको पीठो चलाइन्छ। फापर मन नपर्नेलाई भने मैदामै मःम खुवाउने गरेको उनले बताए। कतिले मार्सी पनि मन पराउँदैनन्। मार्सी थाली मन नपर्नेलाई जुकोटले चलनचल्तीको चामलको थाली खुवाउँछ।
ग्राहकको रूचिबारे अमृत भन्छन्, 'धेरैजसो मार्सी थकालीकै लागि आउनुहुन्छ। उहाँहरू घरमा खाइरहेको भन्दा नौलो स्वाद लिन मनपराउनु हुन्छ।'
उनका अनुसार रेस्टुरेन्टमा देशभरिका ग्राहक आउँछन्। कोभिडका कारण विदेशीहरूको चहलपहल भने अत्यन्तै कम छ।
रेस्टुरेन्ट चलाउनु अमृतको धेरै पुरानो सपना होइन। उनी डाक्टर बन्ने सपना बोकेर पढाइका लागि २०६६ सालमा बाजुराबाट काठमाडौं आएका थिए। विज्ञान विषयमा बाह्र कक्षा पूरा गरे। उच्च शिक्षाका लागि अमेरिका जाने योजना थियो। सबै तयारी गरे तर भिसा लागेन। डाक्टर बन्ने सपना पनि यसै बिलायो। अनि त्रिचन्द्र कलेज भर्ना भएर समाजशास्त्रमा स्नातक पढाइ सुरू गरे।
'यहाँको समाज बुझियो। थोरै राजनीति पनि बुझियो। विकल्प दुइटा थिए– विदेश जाने वा आफ्नै देशमा केही गर्ने,' दुविधाका ती दिनबारे सुनाउँदै अमृतले भने, 'साथीहरूसँग गफ हुँदा पनि आफ्नै देशमा केही गर्ने कुरा हुन्थ्यो तर ठ्याक्कै के गर्ने भनेर फुरेको थिएन।'
चार–पाँच वर्षअघिको कुरा हो। अमृत पढ्दै थिए। गाउँबाट आमाले कहिलेकाहीँ मार्सी चामल, सिस्नोको धूलो र अन्य स्थानीय खानेकुरा पठाइदिन्थिन्। काठमाडौंमा त्यस्तो खाने कुरा महँगो थियो।
उनले भने, 'ममीले पठाएको खानेकुरा मेरा साथीभाइले पनि चाख्न पाउँथे। कति साथीहरूको होटल थियो। त्यसपछि साथीहरूले आफ्नो होटलका लागि मगाउन थाले।'
हुँदाहुँदै अमृतले केही साथीका होटलमा गाउँका उत्पादन पुर्याए। यस्तो काम व्यावसायिक रूपमै गर्ने विचारले अघि बढे। माग बढ्दै गयो।
यही क्रममा उनले गाउँमा बजार नपाएका खाद्यान्न काठमाडौंवासीलाई बेच्ने योजना बनाए। त्यहाँका किसानको जीवन उक्सिने, यहाँका मानिसहरूले पनि अर्गानिक खानेकुरा खान पाउने भएकाले दुवै पक्षलाई फाइदा हुने देखियो।
तर उनी विद्यार्थी, सुरूमा लगानी गर्ने पैसा थिएन। बुबासँग मागेर तीन लाख रूपैयाँ जति लगानी गरे। किसानलाई सामान बिक्री भइसकेपछि मात्रै पैसा दिने शर्तमा काम थाले।
अन्न र गेडागुडी किन्ने ग्राहकले तपाईंहरूले पकाएको पनि खान पाए हुन्थ्यो भन्न थालेपछि अमृत रेस्टुरेन्ट खोल्ने निर्णयमा पुगेका हुन्।
उनले भने, 'दरबारमार्गमा भनेजस्तै चिटिक्क परेको पार्किङसहितको ठाउँ भेटियो। अनि जुकोट दरबार रेस्टुरेन्टबाट देशभरका उत्पादन पस्कन थालेँ।'
रेस्टुरेन्टका लागि उनले सुरूमा ५० लाख रूपैयाँ लगानी गरे। अहिले लगानी ८० लाख रूपैयाँ पुगिसकेको उनी बताउँछन्। अझै केही मेसिन र सुविधा थप्न लगानी बढाउने योजना गरिरहेका छन्। आम्दानी पनि राम्रै भइरहेको उनले बताए।
उनले भने, 'रेस्टुरेन्ट सञ्चालनमा आएपछि केही समय त कोभिडका कारण मन्दी छायो। अहिले धेरै नाफामा त छैनौं तर घाटामा पनि छैनौं। रोजगारी दिएका छौं। सञ्चालन खर्च उठेको छ।'
अमृतका अनुसार राम्रो चल्ती हुँदा मासिक २० लाख रूपैयाँसम्मको कारोबार हुन्छ। ठीकै चल्दा पनि नौ लाख रूपैयाँभन्दा कम कारोबार भएको छैन। हाल रेस्टुरेन्टमा १२ जना कर्मचारी छन्। सिफ्टमा गरी बिहान ८ बजेदेखि राति १ बजे खुला रहन्छ। दरबारमार्गमा रातको समयमा पनि चहलपहल हुन्छ। राति ढिलासम्म रेस्टुरेन्टले सेवा दिने हुँदा सेवाग्राही र आफू दुवैलाई फाइदा भएको उनी बताउँछन्।
जुकोट दरबार रेस्टुरेन्टले खाद्यान्नहरू बिक्री पनि गर्छ। ती खाद्यान्न पकाउने र खाने तरिका सिकाउँछ पनि।
'मार्सीको भात कालो सिमीको दालसँग मात्रै मीठो हुन्छ। हामी ग्राहकलाई यस्तो कुरा सिकाएर पठाउँछौं,' उनले भने।
जुकोट दरबार रेस्टुरेन्टले कुक र वेटर तालिम पनि दिन्छ। डेढ वर्षमा १५ जनालाई निःशुल्क तालिम दिएको छ। अन्य ५० जनाले भने सशुल्क तालिम लिए।
अमृतको विदेशमा पनि जुकोट दरबार रेस्टुरेन्ट विस्तार गर्ने सपना छ। उनका कान्छा भाइ जापानमा छन्। उनले अमृतलाई सहयोग गर्छन्। गत वर्ष नै जापानमा शाखा खोल्ने योजना थियो। कोभिडका कारण सफल भएनन्। योजना भने बनिरहेकै छ।
यसबाहेक उनी आफ्नो गाउँको स्याउको बजारीकरण गर्न पनि लागिरहेका छन्। अमृतका बुबा सरकारी कर्मचारी हुन्। उनी आफ्नै गाउँपालिकामा कृषि विकास कार्यालयमा काम गर्छन्। बुबाले स्याउ फार्म चलाएका छन्। त्यो स्याउले बजार पाउन सकेको छैन।
'बाजुरासहित नेपालका विभिन्न जिल्लामा उत्पादन हुने रैथाने खाद्यवस्तु विश्व बजारमा पुर्याउन अघि बढ्ने योजना छ,' अमृतले भने।
बजार पाउन नसकेका उत्पादन विश्व बजारमा पुर्याएर लाभ लिन सके किसानलाई पनि हौसला मिल्ने अमृतको विश्वास छ।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी