विदेशी पर्यटकलाई हिमालको चुचुरोमा पुर्याउने ओखलढुंगाका लाक्पा दावा शेर्पा यति बेला सहरका मानिसहरूलाई घरघरमा सामग्री पुर्याउँदै गरेका भेटिन्छन्।
तीस वर्षीय उनको यो दिनचर्या कोभिड महामारीपछि फेरिएको हो।
उनले पर्यटकलाई हिमाल चढाउने काम चटक्कै छाडेका होइनन्। बरू कोभिडका कारण उनलाई दुबै हातमा लड्डु मिलेको छ। कोभिड महामारीअघि उनी पर्यटकहरूसँगै हिमाल चढ्थे। सिजनमा काम गरेरै वर्षभरिका लागि खर्च जुट्थ्यो।
अफसिजनमा काठमाडौं बस्थे। डुल्थे, रमाइलो गर्थे। फेरि सिजन आएपछि उसै गरी हिमालतिर फर्कन्थे। अर्को कुनै खास काममा संलग्न थिएनन्।
कोभिड महामारी फैलिएपछि पर्यटक आउन ठप्प भयो। उनको काम पनि बन्द भयो। सगरमाथा चढ्न पाएनन्। कोभिडको समयमा काठमाडौंमा दिदीको घरमा थिए। बेकामे भए। खल्ती रित्तिँदै गयो।
ती दिन सम्झिँदै उनले भने, 'बाहिर पनि कता जानु र! दिनभर सुत्ने, फेसबुक चलाउने। काम यति मात्रै भयो।'
समय कटाउन सामाजिक सञ्जाल चलाउने क्रममा उनले 'उपाय सिटी कार्गो' को पेज देखे। यो कम्पनीले एपमार्फत कार्गो सेवा दिन्छ। त्यस दिन पेजको पुच्छरमा पनि पुगेनन्, लाइक गरेर छाडिदिए।
लाइक गरेको पेजबाट त्यसका सूचनाहरू पाउन थाले। उपाय सिटी कार्गोका सामान मोटरसाइकलबाट ढुवानी गरेर राम्रो कमाइ गर्न सकिने सम्बन्धी सूचनाले लाक्पाको ध्यान तान्यो। धेरै दिन यतिकै बस्दा दिक्दार भएका उनले त्यहाँ उपलब्ध फोन नम्बर तुरुन्तै डायल गरे। संवादबाट उनी उत्साहित भए। आफ्ना लागि उपयुक्त काम हुन सक्ने अनुमान गरे।
लाक्पाले भने, 'बाइक छँदै थियो। बेरोजगार भएका बेला काम पाउने उपाय निस्क्यो। थप कुरा गर्न म कार्गोको कार्यालय अनामनगरमै पुगेँ।'
कार्यालयबाट उनले सबै कुराको जानकारी लिए। कामअनुसार कमाइ राम्रै हुन्छ भन्ने ठानेर सामग्री ढुवानी सुरू गर्न तयार भए। काम थाल्ने तयारी हुँदै थियो, त्यही बेला पर्यटकलाई हिमाल चढाउने काम आइपर्यो।
उनले भने, 'मलाई एकै पटक दुबै हातमा लड्डु भयो। म हिमाल चढेर फेरि आउँछु भनेर बिदा लिएर गएँ।'
हिमालबाट करिब एक महिनामा काठमाडौं फर्के। लगत्तै उपाय सिटी कार्गोमा काम सुरू गरे।
विदेशी पर्यटकहरूलाई हिमालको चुचुरो पुर्याउने लाक्पा सहरका मान्छेका घरघरमा सामान पुर्याउन थाले। उनको पहिलो ट्रिप हात्तीवनमा पर्यो।
नयाँ कामको पहिलो अनुभव स्मरण गर्दै लाक्पाले भने, 'के सामान थियो, त्यो मैले बिर्सेँ। तर पहिलो पटक ठाउँ नै देखिनँ। यता गयो, उता देखाउँछ। उता जाँदा यता देखाउँछ। म्याप हेर्न नजानेर हैरान भइगयो।'
सोधीखोजी गरेर जसोतसो ठाउँ फेला पारे, सामान बुझाए। पहिलो अनुभवले लाक्पालाई उत्साहित बनाएन तर हिम्मत हारेनन्।
उनले भने, 'बिस्तारै काम सिक्दै गएँ। कहिले ट्रिप नै नआउने, कहिले रिक्वेस्ट आउँदा पनि मोबाइल ह्याङ भएर एसेप्ट नै नहुने। कहिले ट्रिप गर्दागर्दै धेरै रिक्वेस्ट आउँथ्यो।'
जसोतसो उनले करिब साढे दुई महिना काम गरे।
कार्गोमा कमाइ कस्तो हुँदो रहेछ त?
'उमेर र कमाइ भन्नु हुँदैन भन्छन्,' उनी खित्का छाडेर हाँसे अनि फेरि भने, 'कमाइ त एपमै हेर्नु पर्छ। सुरूमा खासै कमाइ नभए पनि राम्ररी खट्दा महिनामा ३५ देखि ४० हजारसम्म भयो। जति ट्रिप गर्न सक्यो त्यति नै कमाइ हुने हो। यही काम गरेर पनि काठमाडौंमा खानबस्न र रमाइलो गर्न दुःख हुँदैन।'
सामान ढुवानीको काम चलिरहेको थियो। उनी अचानक एक दिन सडक दुर्घटनामा परे।
उनले घटना सुनाए, 'राति गइरहेको थिएँ। टर्निङ काट्न लागेको थिएँ। अँध्यारो थियो, झ्याप्पै बाइक पल्टियो। मेरो एउटा खुट्टा भाँचियो।'
लाक्पा आराम गरिरहेका थिए। पूरा निको भएका थिएनन्। फेरि आरोहीलाई सगरमाथाको चुचुरोमा पुर्याउनु पर्ने भयो। उनलाई कोभिडपछि आएको अवसर गुमाउन मन लागेन। उनी लाठी टेकेर हिमाल चढ्ने हिम्मत गरेर निस्किए।
उनले भने, 'सुरूमा त खुट्टा अलिअलि दुखिरहेको थियो। बीच बाटोमा पुगेपछि पनि हिँड्न नसकिने हो कि भनेर डर लागिरहेको थियो तर जति माथि पुग्यो त्यति निको हुँदै गयो।'
उनी संलग्न पर्यटक समूह गत जेठ २ मा सगरमाथाको चुचुरोमा पुग्यो। उनका अनुसार पर्यटकलाई चुचुरोमा पुर्याउने उनीहरू १७ जना शेर्पा थिए। विदेशी पर्यटक पनि १७ जना नै थिए। आइसफलमा सहयोग गर्ने र पिकअप गर्ने छुट्टै पाँच जना साथी थिए। उनीहरू साँझमा चुचुरोमा पुगे।
लाक्पाले उपाय सिटी कार्गोको ब्यानर पनि सगरमाथा चुचुरोमा देखाए। उनले त्यो क्षणको स्मरण सुनाए, 'अलि अँध्यारोमा पुगिएको थियो। विदेशी साथीको आइफोनबाट फोटो खिचियो र त्यहाँबाट झरियो।'
उनले सन् २०१६ मा हिमाल चढ्न सुरू गरेका हुन्। पहिलो पटक उनले सोलुखुम्बुको आमादब्लम हिमालमा पर्यटकहरूलाई सफल आरोहण गराएका थिए। आमादब्लम आरोहरणका निम्ति प्राविधिक रूपमा निकै गाह्रो भएको उनी बताउँछन्। तै पनि उनीहरू सफल भए। त्यसपछि अरू थुप्रै हिमाल चढे।
'अरू हिमाल चढ्न सकेपछि सगरमाथा चढ्न थालेँ,' लाक्पाले भने, 'हिमाल चढ्न तालिम पनि लिएँ।'
खास गरी हिमाल दुई सिजनमा चढिन्छ, वसन्त र शरद ऋतुमा। लाक्पाले एक सिजनमा दुई पटकसम्म ट्रिप पाउँछन्।
यो वर्षको वसन्तमा पनि लाक्पाले दुई पटक सगरमाथा चढ्ने अवसर पाए। पछिल्लो पटक मे २४ को ट्रिप थियो। त्यो ट्रिपमा उनी एक जना विदेशीसँग आठ हजार मिटर उचाइमा पुगे। क्याम्प फोरमा पुगेपछि मौसम खराब भयो। हावाहुरी चलेकाले माथि उक्लने हिम्मत भएन।
लाक्पाले मौसम हेर्ने समूहलाई जानकारी गराए। उताबाट 'मौसम एकदमै खराब भएकाले खतरनाक हुनसक्छ, फर्किनुस्' भने। चुचुरोमा पुग्न पाएनन्, त्यहीँबाट ओर्लिए।
'हिमाल चढ्न सुरूमा त रमाइलै हुन्छ। बीचमा धेरै दुःखहरू पार गर्नुपर्छ,' उनले भने, 'जब चुचुरोमा पुगिन्छ, मनै फुरूंग हुन्छ। दुःख जति सबै भुलिन्छ।'
उनका अनुसार सगरमाथा आरोहणमा सबैभन्दा गाह्रो ठाउँ खुम्बु आइसफल हो। त्यहाँ ठूलो जोखिम उठाउनु पर्छ, धेरै अप्ठ्यारो छ। कतै न कतै हिउँ पहिरो गइरहन्छ। बाटो पनि परिवर्तन भइरहन्छ। दिउँसो सुतेर रातभरि हिँड्नुपर्छ। सुतेको बेला पनि हुरीले पाल उडाउँछ। मान्छे नै उडाउने खालको हावाहुरी चल्छ। क्याम्प थ्रीभन्दा माथि पुगेपछि अक्सिजन लगाउनुपर्छ।
लाक्पा चीनतर्फबाट पनि दुई पटक सगरमाथा चढेका छन्। सन् २०१८ मा चीनतर्फबाट सगरमाथा आरोहण गर्दाको अनुभव पनि सुनाए।
'क्याम्प थ्रीमा एकदमै ठूलो हावा चल्यो। पाल उडायो। हामी त कति जना बाहिर भइगयौं,' उनले भने, 'सेफ्टी लगाएन भने त्यहाँ त मान्छे नै पो उडाउँछ त।'
सगरमाथाको चुचुरोबाट नेपाल र चीनतर्फका केही भूभाग हेर्न सकिन्छ।
'जति माथि पुग्यो त्यति अब त आकाश छुन लागियो जस्तो पनि लाग्छ, तर छुन चाहिँ सकिँदैन रहेछ,' यसो भनेर उनी फेरि खित्का छाडेर हाँसे।
लाक्पा पहिलो पटक सन् २०१८ मै सगरमाथा चढेका हुन्। हालसम्म पाँच पटक चुचुरोमा पुगे। अब अरू हिमाल ताक्दैछन्। सोलुखुम्बुका धेरै हिमाल चढिसके। आउने सिजनमा मनास्लु चढ्ने योजना छ।
लाक्पाले हिमाल चढेरै घर खर्च पुर्याउँछन्। उनका अनुसार एक पटक हिमाल चढ्दा आठ लाख रूपैयाँसम्म कमाइ हुन्छ। घरमा दाजु र आमाबुबा छन्। कहिलेकाहीँ आमाबुबालाई घरखर्च पनि दिन्छन्। काठमाडौंमा दिदीको घर छ। यता हुँदाको बसोबास दिदीकै घरमा हो।
लाक्पाका लागि उपाय सिटी कार्गोको काम काठमाडौंमा अलमलिने मेलो भएको छ। फुर्सदमा साथीहरूसँग भेटघाट गर्न, चियाखाजा काठमाडौंकै कमाइले पुग्छ। कार्गोमा काम गरेको पैसाले खर्च टारेर हिमालबाट कमाएको पैसाले काठमाडौंमा घर बनाउने लक्ष्य छ लाक्पाको। पर्यटकहरूलाई हिमाल चढाएरै काठमाडौंमा घडेरी जोडेका छन्।
उनले भने, 'उताको सिजनमा हिमाल चढ्ने, अफ सिजनमा यतै काम गर्ने हो। कार्गोमा काम गर्दा काठमाडौंको खर्च धानिन्छ। उताको पैसा सबै बच्छ।'
ग्रामीण परिवेशका लाक्पा गाउँबाट 'लामा' पढ्न काठमाडौं छिरेका थिए। स्वयम्भूमा लामा पढ्थे। त्यही क्रममा हिमाल चढ्ने पर्यटकहरूलाई खाना पकाउने कुकहरू भेटे। अनि सबै छाडेर ट्रेकिङतिर लागे। पहिलो पटक भरिया भएर ट्रेकिङ गएका थिए। माउन्टेन गाइड भएर हिमाल चढ्न थालेको भने आठ वर्ष भयो।
अब लाक्पाले हिमाल आरोहण र कार्गो डेलिभरी दुवै कामलाई निरन्तरता दिने भएका छन्।
'मेरा दुवै हातमा लड्डु भएको छ,' उनले भने, 'अब काठमाडौंमा घर बनाएर आमाबुबालाई यतै ल्याएर राख्ने सपना छ।'