भारतमा विद्युत संकट हुँदा नेपालले दैनिक ८० मेगावाट बिजुली मात्र पाउन थालेको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई यो पनि मुस्किलले पाइरहेको बताउँछन्।
‘अहिले भारतकै १८ वटा राज्यमा लोडसेडिङ सुरू भइसकेको जानकारी आएको छ। त्यहाँका धेरै उद्योग बन्द भइसकेको अवस्था छ। यसले हामीलाई भारतबाट बिजुली पाउन मुस्किल छ,’ उनले सेतोपाटीसँग भने।
रूसले युक्रेनमाथि सैन्य हमला गरेपछि भारतको बिजुली उत्पादन प्रभावित भएको हो। भारतले जलविद्युत, वायु, कोइला, आणविक तथा सोलारबाट बिजुली उत्पादन गर्दै आएको छ। युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य अत्यधिक बढेपछि त्यसको असर बिजुली उत्पादनमा परेको हो। डिजेल, पेट्रोल लगायत इन्धनको भाउ पनि अकासिँदा भारतीय बजारमा बिजुली खपत पनि बढेको छ। यसले एकातिर बिजुलीको मूल्य चर्किएको छ भने अर्कातर्फ नेपालले पाउने बिजुलीसमेत कटौती भएको छ।
सामान्य अवस्थामा नेपालले भारतबाट दैनिक करिब ४०० मेगावाट बिजुली आयात गर्दै आएको थियो। सुख्खा सिजनमा पनि उद्योगधन्दा चलाउन सहज थियो। भारतबाट ल्याउने बिजुली कटौतीपछि अहिले नेपालका उद्योगहरूमा दैनिक ३०० मेगावाट बिजुली अभाव भएको प्राधिकरणले जनाएको छ।
‘हाम्रा उद्योगमा दैनिक पाँच सय मेगावाट बिजुलीको माग छ। हामीले दैनिक करिब दुई सय मेगावाट मात्र दिन सकेका छौं,’ भट्टराईले भने।
सामान्य अवस्थाको तुलनामा नेपालले भारतबाट किन्ने बिजुलीको मूल्य पनि तीन गुणा बढेको छ। प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार सामान्य अवस्थामा नेपालले भारतबाट औसत प्रतियुनिट चार रूपैयाँमा किन्ने गरेको थियो। अहिले बढेर औसत प्रतियुनिट १२ रूपैयाँ ८५ पैसा तिर्नुपरेको उनले जानकारी दिए।
हामीकहाँ बर्खा याममा मनग्य बिजुली उत्पादन हुन्छ। सुख्खा याममा भने पूर्ण क्षमतामा बिजुली उत्पादन नहुँदा समस्या आउने प्रवक्ता भट्टराई बताउँछन्।
प्राधिकरणका अनुसार नेपालले सिजनमा करिब २ हजार २ सय मेगावाट बिजुली उत्पादन गर्दै आएको छ भने माग सरदर १ हजार ३ सय ५० मेगावाट छ। तर सुख्खा याममा आधाभन्दा बढी उत्पादन घटेर समस्या निम्तिएको उनको भनाइ छ। उनका अनुसार हिउँदको समय (कात्तिकदेखि चैतसम्म) दैनिक छ सय मेगावाट बिजुली उत्पादन हुन्छ।
‘हाइड्रो (जलविद्युत) ३६५ दिन नै एकनास उत्पादन हुँदैन। बर्खा याममा शतप्रतिशत उत्पादन हुन्छ। सुख्खा याममा कतिपय आयोजनाको उत्पादन त मुस्किलले १५ प्रतिशत हुन्छ। यसले बिजुली अभाव हुन्छ,’ उनले भने।
अहिले उद्योगीहरूलाई आवश्यकताअनुसार कसरी बिजुली प्रवाह गर्न सकिन्छ भन्ने विषयमा प्राधिकरणले सोचिरहेको उनले बताए।
‘सुख्खा सिजन छ। जताततै पावर संकट छ,’ उनले भने, ‘उद्योगलाई आवश्यक बिजुली कहिलेदेखि दिन सक्छौं भनेर भन्न सकिने अवस्था छैन।’
भारतबाट बिजुली आयात बढाउन नसक्ने अवस्था भए पनि प्राधिकरणले प्रयास गरिरहेको उनले बताए।
प्राधिकरणले कुलेखानी, तामाकोसी, कालीगण्डकी, मर्स्याङ्दीजस्ता ‘रन अफ द रिभर’ आयोजना बढाउन प्रयास गरिरहेको छ। ‘यस्ता विभिन्न आयोजना अध्ययनमा छन्। कतिपय आयोजना अन्तिम चरणमा पुगेका छन्। दूधकोसी, बूढीगण्डकी लगायत आयोजना अध्ययन भइरहेको छ,’ उनले भने।