रूस-युक्रेन युद्धपछि पेट्रोलियम पदार्थको बढ्दो मूल्यले विश्वभर आर्थिक वृद्धि घट्ने र महँगी बढ्ने चिन्ता व्यक्त गरिएको छ।
यसबीच संयुक्त अरब इमिरेट्सले तेल उत्पादक राष्ट्रहरूको संगठन (ओपेक) लाई कच्चा तेलको आपूर्ति कम हुन नदिन आह्वान गरेपछि मूल्य घटेको त छ, तर स्थिर भइसकेको छैन।
युद्ध तुरून्तै रोकिएन भने कच्चा तेल २०० डलर प्रतिब्यारेल पुग्ने अनुमान गरिएको छ। युद्ध चर्कियो र पश्चिमी देशहरूले रूसी तेलमा पूर्ण प्रतिबन्ध लगाए ३०० डलर पुग्ने आकलन छ। यसरी मूल्य बढ्दै जाँदा त्यसको असरबाट नेपाल अछुतो रहन सक्दैन।
नेपाल आयल निगमलाई अहिले नै मासिक ५ अर्ब रूपैयाँभन्दा बढी घाटा छ। यो संकटको एउटा हल लागतअनुरूप मूल्य समायोजन हो तर यसले उपभोक्तामाथि धेरै ठूलो भार पर्छ।
त्यसो भए दिगो समाधान के त?
विज्ञहरूले तेलको अन्तर्राष्ट्रिय मूल्य वृद्धिको भारबाट बच्न जैविक इन्धन खपत घटाउँदै जानुपर्नेमा जोड दिइरहेका छन्। भान्सामा एलपी ग्यासको सट्टा विद्युतीय चुह्लोको प्रयोग भरपर्दो विकल्प हुनसक्छ।
एलपी ग्यासलाई विद्युतीय चुह्लोले प्रतिस्थापनको कुरा गर्दा हामी सबैको दिमागमा एउटा प्रश्न उठ्छ- यी दुईमध्ये कुन सस्तो हो?
हामीले यही प्रश्न विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईलाई सोध्यौं।
अहिले एक सिलिन्डिर ग्यासको मूल्य १ हजार ५ सय ७५ रूपैयाँ पर्छ। त्यसबाट जति दिन खाना पाक्छ, बिजुली प्रयोग गर्ने हो भने त्यति नै खाना १ हजार १ सय ८० रूपैयाँमै पाक्ने उनले बताए।
कसरी त?
भट्टराईले हामीलाई दुइटा समीकरण हिसाब गरेर सम्झाए।
पहिलो समीकरण: ग्यास र बिजुलीको इफिसियन्सी तुलना गर्दा एक केजी ग्यासले ५० प्रतिशत (०.५) इफिसियन्सी दिन्छ भने त्यही बराबर विद्युतले ९० प्रतिशत (०.९) इफिसियन्सी दिन्छ।
दोस्रो समीकरण: एउटा सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ। ग्यास र बिजुलीको क्षमता दाँज्ने हो भने एक किलो ग्यासलाई ६.८ किलोवाट आवर बिजुलीसँग तुलना गर्न सकिन्छ। यसको मतलब, १४.२ केजी (एक सिलिन्डर) ग्यास बराबरको काम ९६.५६ किलोवाट आवर बिजुलीबाट हुन्छ।
अब यी दुई समीकरणलाई हिसाब गरौं।
यहाँ ९६.५६ किलोवाट आवरलाई बिजुलीको इफिसियन्सी ०.९ ले भाग गर्दा १०७.२९ किलोवाट आवर आउँछ। यो १०७.२९ किलोवाट आवर भनेको एक सिलिन्डर ग्यास बराबरको ऊर्जा हो।
अब यो ऊर्जालाई पैसामा बदलौं।
एक युनिट बिजुलीको महसुल ११ रूपैयाँ छ। भनेपछि १०७.२९ किलोवाट आवरलाई ११ रूपैयाँले गुणन गर्दा १ हजार १ सय ८० रूपैयाँ २९ पैसा आउँछ। यो भनेको हामीले तिर्नुपर्ने महसुल हो।
'यो हिसाबबाट के देखिन्छ भने, एक सिलिन्डर ग्यासले जति ऊर्जा उत्पादन गर्छ, बिजुलीबाट त्यति नै ऊर्जा उपभोग गर्न ३ सय ९५ रूपैयाँ सस्तो पर्छ,' उनले भने।
यो त भयो ग्यास र बिजुली चुह्लोको कुरा। अब हामी पेट्रोल र बिजुली सवारीको खर्च तुलना गरौं।
भट्टराईका अनुसार पेट्रोलका तुलनामा बिजुली सवारी पनि कम खर्चिलो हुन्छ।
एक लिटर पेट्रोलले औसत २५ किलोमिटर गाडी कुद्छ। त्यति नै दुरी तय गर्न बिजुली गाडीलाई तीन युनिट विद्युत भए पुग्छ। अहिले २५१ देखि ४०० युनिटसम्म विद्युत खपत गर्दा ११ रूपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्छ। यस आधारमा तीन युनिटको महसुल ३३ रूपैयाँ हुन्छ। जबकि पेट्रोल एक लिटरको १५० रूपैयाँ छ।
'यसरी हेर्दा पेट्रोल गाडीको दाँजोमा बिजुली गाडी प्रयोग गर्ने हो भने २५ किलोमिटर गाडी कुदाउँदा ११७ रूपैयाँ सस्तो पर्छ,' उनले भने।
यो इन्धनको सिधा हिसाब मात्र हो। बिजुली गाडी चलाउँदा ब्याट्रीमा पनि लगानी गर्नुपर्छ। ब्याट्रीको लागत पनि सँगसँगै जोडिन्छ। ब्याट्री नै बिग्रियो भने ठूलो खर्च गर्नुपर्छ।
'अर्को कुरा, बिजुली गाडी चाहिँ नचलाई राख्दा पनि ब्याट्री बिग्रिने समस्या हुन्छ। राख्दाराख्दै चार्ज घट्छ,' भट्टराईले भने, 'छोटो दुरीमा नियमित प्रयोग हुने अवस्थामा विद्युतीय सवारी निकै सस्तो हुन्छ। काठमाडौं लगायत सहरी क्षेत्र र तराई क्षेत्रमा बिजुली गाडीको प्रयोग निकै किफायती हुन्छ।'
सरकारले पेट्रोलियमबाट चल्ने सवारी प्रयोग कम गर्दै विद्युतीय सवारीलाई बढावा दिने नीति अघि सारेको छ। सन् २०३० सम्म पेट्रोलियम गाडीलाई ८० प्रतिशत बिजुली सवारीले प्रतिस्थापन गर्ने योजना छ।
यसको कार्यान्वयन भने त्यति प्रभावकारी छैन। बिजुली उत्पादन र आपूर्ति सधैं एकनास नभएकाले उपभोक्ताहरू बिजुली गाडी वा बिजुली चुह्लोतर्फ आकर्षित हुन सकेका छैनन्।
हामीकहाँ बर्खा याममा मनग्य बिजुली उत्पादन हुने हुँदा त्यो बेला प्राधिकरणले घरायसी प्रयोजनमा विद्युत खपत बढाउन आह्वान गर्छ। सुख्खा याममा पूर्ण क्षमतामा बिजुली उत्पादन नहुने हुँदा समस्या आउने प्रवक्ता भट्टराई बताउँछन्।
बर्खा र सुख्खा दुवै याममा पूर्ण क्षमतामा विद्युत उत्पादन हुने हो भने ढुक्कैसँग पेट्रोलियम प्रतिस्थापन गर्न सकिने उनको भनाइ छ।
'हाइड्रो (जलविद्युत) को एउटा समस्या के भने यो ३६५ दिन नै एकनास उत्पादन हुँदैन। बर्खा याममा शतप्रतिशत उत्पादन हुन्छ। सुख्खामा कतिपय आयोजनाको उत्पादन मुश्किलले १५ प्रतिशत हुन्छ। यसले बिजुली अभाव हुन्छ,' उनले भने।
प्रवक्ता भट्टराईका अनुसार असारदेखि कात्तिक महिनासम्म हाम्रो बिजुली उत्पादनले सबै क्षेत्रलाई पुग्छ। यसको मतलब नेपालका हरेक कुनाकाप्चामा बिजुली समस्या हुँदैन भन्ने होइन। अझै पनि कयौं ठाउँमा प्रसारण लाइनको समस्या छ।
'सुख्खा याममा विद्युत उत्पादन कम हुँदा पिक समयमा नपुग बिजुली नेपालले भारतबाट आयात गर्दै आएको छ,' उनले भने।
'हिउँदको समय (कात्तिकदेखि चैत) भने दैनिक छ सय मेगावाट बिजुली उत्पादन हुन्छ। जलाशययुक्त आयोजना व्यवस्थापन र रन अफ रिभर (दिनभर पानी जम्मा गरेर बिजुली उत्पादन गर्ने) आयोजना विस्तार गर्न सके नेपाल आत्मनिर्भर हुनेछ। यसले पेट्रोलियम प्रतिस्थापनमा ठूलो भूमिका खेल्नेछ,' उनले भने।
कुलेखानी, तामाकोशी, कालीगण्डकी, मर्स्याङ्दीजस्ता 'रन अफ द रिभर' आयोजना निजी क्षेत्र वा सरकारले विस्तार गर्न सके बिजुली आपूर्ति सहज हुने उनले बताए।
यस्ता विभिन्न आयोजना अध्ययन क्रममा छन्। कतिपय आयोजना अन्तिम चरणमा पुगेका छन्। दूधकोशी, बुढीगण्डकी लगायत आयोजना अध्ययन भइरहेको छ।
प्राधिकरणका अनुसार नेपालले करिब २ हजार २ सय मेगावाट बिजुली उत्पादन गर्दै आएको छ। माग सरदर १ हजार ३ सय ५० मेगावाट छ। उत्पादनको पिक समयमा बिजुली खेर जाने गरेको प्राधिकरणको भनाइ छ। खेर जाने बिजुली सदुपयोग गरे पेट्रोलियम प्रतिस्थापन गर्न सकिने विज्ञहरू बताउँछन्।
पेट्रोलियम मूल्य वृद्धिको असर उद्योगधन्दादेखि सर्वसाधारण सबैलाई परिरहेकाले सरकारले संकट व्यवस्थापन निम्ति वैकल्पिक इन्धनतर्फ ध्यान दिनुपर्ने अर्थविद् डिल्लीराज खनाल बताउँछन्।
'पेट्रोलियमको उच्च मूल्यका कारण हरेक दैनिक उपभोग्य वस्तुको भाउ बढेको छ। विदेशी मुद्रा सञ्चिति घटिरहेको छ। हाम्रो व्यापार घाटा बढिरहेको छ,' उनले भने, 'यसको दीगो समाधान भनेको बिजुली ऊर्जाको बढीभन्दा बढी प्रयोग नै हो।'
'शतप्रतिशत बिजुली उत्पादन हुने बर्खा याममा समस्या हुँदैन। हिउँदका बेला समस्या पर्छ। त्यसलाई ध्यान दिएर जलाधार क्षेत्र प्रयोग गरी विद्युत उत्पादन बढाउन सके पेट्रोलियम पदार्थ प्रतिस्थापन गर्न सकिन्छ,' खनालले भने।