खुला डाँडामा बसेर रमिता हेर्दै खाने–पिउने कि स्विमिङ पुलको पेटीमा बसेर! कि बगैंचामा बस्न मन पर्छ! क्याम्प फायर पनि त गर्ने होला! हाइकिङ जाने कि!
डिजे र लाइभ ब्यान्डमा पनि झुम्ने होला नि! गर्मीमा नाइट स्विमिङ झन् कति मजा आऊला! बिहान योगमा सहभागी हुनुको मजा अर्को हुन सक्छ!
एकछिन ब्याडमिन्टन पनि खेल्ने कि! टिम पुग्छ भने भलिबल खेले पनि भयो! घोडा चढ्न किन छुटाउनु! स्पा पनि छ है!
खानाका स्थानीय परिकारहरू नखाने कुरै भएन। लोकल कुखुरा, हाँस, लोकल चामलको भात, ढिँडो, गुन्द्रुक, फापर इत्यादि के खाने! सुप तामाको कि सिस्नोको!
रमाइलो गर्न जाने व्यक्ति कसैको समयसीमामा बाँधिने कुरै भएन! खानमा होओस् कि पिउनमा वा सुत्नमै किन नहोओस्!
यसो हो भने एक पटक मकवानपुरको टिस्टुङस्थित 'ओम अध्याय रिट्रिट रिसोर्ट' किन नजाने!
रिसोर्ट हो नि! घाम अस्ताउँदै गएपछि रंगीबिरंगी बत्तीहरूले साँझ चम्किँदै जान्छ। रात चढ्दै जाँदा वातावरणमा मादकता मिसिन थाल्छ। ग्राहकको हुल डिजे र लाइभ ब्यान्डमा झुम्न थाल्छ। कोही स्विमिङ पुलको किनारमा बसेर मदिरा पिइरहेका हुन्छन्। कोही गिलास बोकेर बगैंचातिर घुमिरहेका देखिन्छन्।
'ठमेलको क्लबिङ जस्तै भने पनि हुन्छ। फराकिलो ठाउँ छ। यहाँ धेरै स्वतन्त्रता हुन्छ,' रिसोर्टका सञ्चालक अर्जुनसिंह ठकुरी भन्छन्, 'यहाँ सिसाको घेरामा बस्न आवश्यक छैन। माथि डाँडामा गएर खान्छु भन्न पनि पाइन्छ।'
प्रकृतिप्रेमीहरू डाँडामा गएर ब्रेकफास्ट खाने सुविधा छ। खुला ठाउँमा बसेर खान, रमाइलो गर्न र क्याम्प फायर गरेर बस्न पाउनु यो रिसोर्टको विशेषता हो।
'यहाँ रेस्टुरेन्टभित्रै बसेर खानु–पिउनु पर्छ भन्ने छैन। वरिपरि मन लागेको ठाउँमा बस्न पाइन्छ,' अर्जुनसिंहले भने।
स्विमिङ पुल नजिकै बार छ। पुल पार्टीको अवधारणाअनुसार बार राखिएको हो। उनका अनुसार सुत्न, उठ्न समयको सीमा छैन। राति अबेरसम्म गीतमा झुम्न पाइन्छ, बिहान जति ढिलो उठे पनि ब्रेकफास्टमा फरक पर्दैन। आफ्नो समयअनुसार ब्रेकफास्ट, लन्च र डिनर लिन पाइन्छ।
'यहाँ रिल्याक्स गर्न आउने, डाँडामा गएर रिट्रिट हुने मान्छे घडी हेरेर चल्ने कुरा भएन,' उनले थपे, 'हामीले उहाँहरूलाई समयसीमा तोक्न मिल्दैन। हाम्रो काम सेवा दिने हो।'
गर्मी याममा नाइट स्विमिङको मजा लिन पनि पाइन्छ। बालबालिकाका लागि छुट्टै बेबी स्विमिङ पुल छ।
ओम अध्याय रिट्रिट रिसोर्ट सञ्चालनमा आएको छ वर्ष भयो। अर्जुनसिंहले सुरूमा रिसोर्ट सोचेका थिएनन्। कहिलेकाहीँ साथीभाइ बसेर रमाइलो गर्न मिल्ने गरी ५० लाख रूपैयाँ लगानीमा फार्म हाउस खोलेका थिए। आठ कोठाको भवन थियो।
टिस्टुङ पुग्ने विदेशी र आन्तरिक पर्यटकले फार्म हाउस राम्रोसँग चल्छ भन्ने उनलाई लागेको थियो। नभन्दै राम्ररी चल्यो। सुरूमा साथीभाइ मात्रै आउँथे, बिस्तारै पर्यटक आए। आठ कोठाले नपुग्ने भयो।
एकाएक उनले फार्म हाउसलाई रिसोर्टमा बदल्ने विचार गरे। पूर्वीय सँस्कृति झल्किने खालको नाम खोज्दै जाँदा ओम अध्याय जुर्यो। यसमा रिट्रिट रिसोर्ट थपिदिए।
ओम अर्जुनसिंहकी आमाको नाम हो, अध्याय उनका छोराको। उनी भन्छन्, 'ओम अध्याय रिट्रिट रिसोर्ट छोराछोरीदेखि आमाबासम्मको उमेरका मानिसका लागि हो भनेर यो नामले अर्थ राख्छ।'
उनले फार्म हाउसका लागि बनाएकै भवनमा तला थपे। एक वर्ष फार्म हाउस बन्द राखेर रिसोर्टको संरचना बनाए। रेस्टुरेन्ट बनाए। अरू भौतिक संरचना पनि थप्दै गए। अहिले पनि रिसोर्टमा सुविधा बढाउँदै लगेको उनी बताउँछन्।
अर्जुनसिंहले दुई रोपनी पुर्ख्यौली जग्गामा फार्म हाउस सुरू गरेका थिए। हाल रिसोर्ट २२ रोपनीमा फैलिएको छ। थप आठ रोपनीमा भौतिक संरचना विस्तारको योजना छ।
'केही जग्गा मैले किनेँ, अरू ठाउँको आफ्नो जग्गासँग पनि साटेँ,' उनले भने।
अहिले रिसोर्टमा ४८ वटा कोठा छन्। यिनमा कम्तीमा दुई जनादेखि बढीमा छ जनासम्म अटाउने क्षमता छ। बस्ने व्यवस्था भएका दस वटा पाल (टेन्ट) छन्। अर्जुनसिंहका अनुसार कोठा र पाल गरेर एक पटकमा दुई सय जना राख्ने क्षमता रिसोर्टमा छ।
यति धेरै क्षमताको रिसोर्ट एकै पटकमा बनेको होइन। सुरूमा यहाँ १६ जना मात्र अट्थे। त्यसपछि २४ जना, ५० जना र सय जना हुँदै छ वर्षमा दुई सय जना राख्न सक्ने क्षमता बनेको हो।
शुक्रबार र शनिबार यहाँ पाहुनाको अत्यधिक चाप हुन्छ। नयाँ वर्ष, होली र यस्तै अन्य अवसरमा पनि चाप धान्न मुश्किल पर्छ। उनी भन्छन्, 'यस्तो बेला दुई–तीन हप्ताअघिदेखि बुकिङ हुन्छ र चाँडै सकिन्छ। धेरैलाई त अहिले ठाउँ छैन भन्नु पर्छ।'
अर्जुनसिंहका अनुसार सहरी बासिन्दाहरू अधिक व्यस्त जीवनबाट थोरै समय निकालेर रमाइलो गर्न चाहन्छन्। यस्ता मानिस परिवारसहित वा साथीहरूको समूह बनाएर आउँछन्। रिसोर्टमा सबै उमेरका ग्राहक पुग्छन्। तर युवा संख्या बढी हुन्छ।
'रिसोर्टमा खान, बस्न र रमाइलो गर्न पाइन्छ,' उनी भन्छन्, 'व्यस्तताले थकित जीवनलाई आराम र स्फूर्ति दिन मानिसहरू आउँछन्।'
यहाँ योग, ध्यान, खेल र संगीतमा रमाउने सुविधा छ। कसैलाई जंगलमा गएर रमाइलो गर्न मन लाग्ला, कसैलाई हिमाल हेर्न। कसैलाई एक ठाउँमा बसेर पिउन मन लाग्ला! यी सबै सुविधाका लागि आफ्नो रिसोर्ट उपयुक्त भएको उनको भनाइ छ।
ग्राहकका लागि खाना परिकारको गुणस्तर अर्को महत्वपूर्ण पक्ष हो।
'हाम्रो रिसोर्टले स्वस्थ र गुणस्तरीय खाना खुवाउँछ, अनेक परिकार पाइन्छ,' उनी भन्छन्, 'आइतबारदेखि बिहीबारसम्म लोकल खानेकुरा पाइन्छ। गुन्द्रुक, ढिँडो, लोकल कुखुरा र कालिजको परिकार पाक्छ।'
परम्परागत नेपाली स्वाद पस्किन रिसोर्टले ध्यान दिएको उनको भनाइ छ। जिम्मु र घिउले झानेको दाल र लोकल चामलको खाना, फापरको रोटी, तामाको सुप, सिस्नोको सुप रिसोर्टको खास विशेषता हो। रिसोर्टले कालिज पालेको छ। कोरोना फैलिनुअघि हाँस पनि थियो। अहिले नभएकाले बाहिरबाट मगाइन्छ। शनिबार र शुक्रबार ग्राहकको अधिक चाप हुने भएकाले सबैलाई एकै थरी खाना पाक्छ।
रिसोर्टमा बिहानभरि योगको सुविधा छ। स्नुकर, ब्याडमिन्टन, भलिबल, टिटी जस्ता खेल खेल्न पाइन्छ। स्पा यहाँको अर्को आकर्षण हो। घोडा चढ्ने रहर पनि पूरा हुन्छ।
हिँड्न मन पराउनेले नजिकका गाउँ, जंगल र पहाडमा हाइकिङ गर्न सक्छन्। दिउँसो कुलेखानी गएर डुंगामा सफर गरेर, मोहिनी झरनाको दृश्यावलोकन गरेर बेलुका रिसोर्ट फर्किन सकिन्छ।
'खाना, बसाइ, प्रकृति, स्थानीय सँस्कृति, हाइकिङ, खेल सबै मिलाउँदा मानिसले आफ्नो थकान मेटाउने चौतारी हो हाम्रो रिसोर्ट,' अर्जुनसिंह भन्छन्।
यो रिसोर्टको अर्को आकर्षण हो बगैंचा। कोठाभन्दा बढी समय बगैंचामा बितोस् र आनन्द मिलोस् भन्ने उद्देश्यले बगैंचामा लगानी गरेको उनको भनाइ छ। बगैंचामा थरीथरीका फूल र बिरुवा हुने नै भए, पानीको फोहरा पनि छ। करिब चार रोपनीमा बनेको बगैंचामा कुर्सीटेबल राखिएका छन्। शान्त र हरियो फाँटमा रहेको रिसोर्टबाट पहाडी भित्तामा लाली छर्दै झुल्किने घाम देखिन्छ।
अर्जुनसिंहका अनुसार रिसोर्टमा आउने करिब ९९ प्रतिशत ग्राहक नेपाली हुन्।
'कोरोनापछि नेपालीकै भरमा रिसोर्ट चलेको छ। अधिकांश आगन्तुक सहरी क्षेत्रका हुन्छन्। काठमाडौंबाट पुग्ने ९० प्रतिशत हुन्छन्। पोखरा, वीरगन्ज, सिमरा, बनेपा, धुलिखेल लगायतका ठाउँबाट पनि आउँछन्,' उनले भने।
केही स्थानीयबासिन्दाहरू जन्मोत्सव मनाउन रिसोर्ट पुग्छन्। स्थानीयबासीले सातामा एक दिन रिसोर्ट निःशुल्क घुम्न पाउँछन्। कहिलेकाहीँ गाउँका वृद्धहरू पुग्छन्। उनीहरूले चिया खान पाउँछन्।
ओम अध्याय रिट्रिट रिसोर्टमा कन्सर्ट र सेमिनार जस्ता कार्यक्रमका लागि फराकिला हल छन्। रिसोर्टले आइतबारदेखि बिहीबारसम्म हल उपलब्ध गराउँछ। काठमाडौं उपत्यकाका विद्यालय र कलेजबाट आफ्नो रिसोर्टमा आउने गरेको अर्जुनसिंहले बताए। उनका अनुसार तीस वटाभन्दा बढी विद्यालय र क्याम्पससँग हरेक वर्षका लागि सम्झौता भएको छ।
रिसोर्टको समग्र अवधारणा आगन्तुकलाई पूरा प्याकेज दिएर रिट्रिट गराउनु हो। यसैअनुसार रिसोर्टले सकेसम्म पूरै प्याकेज बेच्छ। सुविधा र आकारअनुसार एउटा कोठाको शुल्क कम्तीमा ३५ सयदेखि बढीमा १८ हजार रूपैयाँसम्म छ। त्यस्तै बिहान पुगेर बेलुका फर्किनेका लागि पिकनिक प्याकेज प्रतिव्यक्ति १८ सय रूपैयाँ पर्छ। यससँगै अन्य मनोरञ्जनको पनि सुविधा छ।
अर्को प्याकेज हो नाइट स्टे। यस प्याकेजमा रिसोर्टका सबै सुविधा उपयोग गर्न पाइन्छ। सुविधाअनुसार फरक फरक मूल्यका प्याकेज छन्। दस वर्षभन्दा कम उमेरका लागि शुल्कमा आधा छुट छ। दुई वर्षभन्दा मुनिकाले सबै सुविधा निःशुल्क पाउँछन्।
मध्यम आर्थिक अवस्थाका मानिसलाई लक्षित गरेर रिसोर्ट सञ्चालन गरेको अर्जुनसिंहको भनाइ छ।
'रिसोर्ट सफाचट र आरामदायी रहोस् भन्ने हिसाबले संरचना बनाएका छौं,' उनी भन्छन्, 'कोठामा टिभी पनि नहोस्, एक दिन भए पनि मानिसहरू स्क्रिनबाट ढाटा रहन सकून् भन्ने चाहन्छौं। तर यसो गर्न सकिएको छैन।'
रिसोर्टमा हप्ता दिन वा अझ बढी बिताउने पाहुना पनि आउने भएकाले उनीहरूका लागि टिभी राख्नुपरेको उनको भनाइ छ।
'राम्रो आम्दानी छ। पचास लाख रूपैयाँबाट सुरू गरेको रिसोर्टको पुँजी हाल जग्गाबाहेक २५ करोड नाघिसक्यो,' उनले भने, 'कोरोनाका कारण आम्दानीमा असर भने परेको छ।'
रिसोर्टमा २८ जना स्थायी कर्मचारी छन्। रिसोर्टले आफैं तालिम दिएर गाउँका युवालाई रोजगारी दिएको उनले बताए। धेरै चाप हुने भएकाले शुक्रबार र शनिबार ज्यालामा थप केहीले काम पाउँछन्। काठमाडौंबाट पनि जनशक्ति मगाउनु पर्छ।
ग्राहकको चाप बढ्दै गए पनि बिजुली, खानेपानी र बाटो सुविधा राम्रो नरहेको अर्जुनसिंह बताउँछन्। स्थानीय स्रोतमै प्रशस्त पानी भए पनि प्रशोधित पिउने पानीको समस्या छ। भएको बिजुलीले रिसोर्टका सबै विद्युतीय उपकरण चलाउन धान्दैन। ट्रान्सफर्मरको क्षमता बढाउनु पर्छ।
'विद्युत पुग्ने भए स्विमिङ पुल तातो बनाउन सकिन्थ्यो। साउना र कति मेसिन चलाउनै पाइएन,' उनी भन्छन्, 'सम्बन्धित निकायमा हाम्रो कुराको सुनुवाइ पनि हुँदैन।'
आफूले फार्म हाउस र रिसोर्टको काम सुरू गर्दा बिजुली, बाटो र इन्टरनेट सुविधा नभए पनि गाउँमै केही राम्रो काम गरौं भनेर जोखिम उठाएको उनले बताए।
तर काम गर्छु, रोजगारी सिर्जना गर्छु, राज्यलाई कर तिर्छु भन्नेलाई हैरान पार्ने गरेको उनको अनुभव छ।
'काम गर्छु भन्नेलाई प्रोत्साहन छैन,' उनी भन्छन्, 'कम्पनी दर्तादेखि नै झमेला सुरू हुन्छ। सानो काममा पनि शक्ति केन्द्र धाउनुपर्छ। पैसा खर्च गर्न नसके व्यवसाय गर्न नसकिने रहेछ।'
रिसोर्ट अर्जुनसिंहको पहिलो रोजाइको पेसा भने होइन। पढाइमा अब्बल उनी डाक्टर बन्न चाहन्थे। एसएलसीपछि डाक्टर बन्न पढ्नुपर्ने विषय र पढाइ खर्चबारे बुझे। चौबीस वर्षअघिको कुरा, उनले पढाइ खर्च आफ्नो बुताबाहिरको रहेछ भन्ने थाहा पाए।
डाक्टर बन्ने रहर त्यागेर उनले सबभन्दा सस्तो क्याम्पस खोजे। काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा अंग्रेजी मुख्य विषय लिएर मानविकीमा स्नातक पढे। विद्यार्थी हुँदा उनी एउटा छापाखानामा काम गर्थे। होम ट्युसन पनि पढाउँथे। यही क्रममा बीस वर्षअघि एउटा निजी विद्यालयमा शिक्षक भए।
कम्प्युटरमा सामान्य साक्षर उनले विद्यालयमा आधारभूत कम्प्युटर पढाउनु पर्ने भयो। उनले आँटे। शिक्षणकै क्रममा कम्प्युटरको कुनै कोर्स पढ्ने विचार गरे। पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटरमा डिप्लोमा गरे। यसपछि एउटा आइटी कम्पनी खोले। आइटी पढाउन पनि थाले।
सन् २०१० सम्ममा उनी तीन वटा आइटी कम्पनीका मालिक भए। आइटीले उनलाई कति राम्रो आम्दानी दियो भने आफू शिक्षक बन्न गएको विद्यालय नै किनिदिए। अहिले पनि स्कुल उनकै स्वामित्वमा सञ्चालित छ।
राम्रो कमाइ भएपछि ग्रामीण र प्राकृतिक वातावरणमा रमाउने आफ्नो स्वभावअनुसार फार्म हाउस सुरू गरेर सुविधायुक्त रिसोर्टसम्म आइपुगेको उनी बताउँछन्।
अब टिस्टुङको यही रिसोर्टमा उनी सम्भावना खोजिरहेका छन्।
'टिस्टुङमा पर्यटक संख्या क्रमशः बढ्दैछ। यता आउने धेरैजसो पर्यटक चित्लाङ र कुलेखानी पुग्छन्,' उनले भने। उनी विदेशी पर्यटक तान्ने उपायको खोजीमा छन्।
'लभ द लोकल' ब्रान्डमा देशका लोकप्रिय र पौष्टिक खानाका साथै लोकल मदिरा राख्ने उनको सोच छ। पर्यटकको रूचिअनुसार भौतिक सुविधा थप्ने र बिहे तथा अन्य शुभकार्यका लागि ब्यांक्वेट सञ्चालन गर्ने योजना बनाएका छन्। त्यस्तै माथि डाँडातिर आफैं पकाएर खाने सुविधा दिने सोचेका छन्।
'मेरो व्यवसायले स्थानीय समुदायलाई पनि केही न केही लाभ दिनुपर्छ भन्ने हिसाबले काम गरिरहेको छु,' अर्जुनसिंह भन्छन्, 'स्थानीयबासीलाई सबै सुविधा सकेसम्म न्यूनतम शुल्कमा उपलब्ध गराउने विचार छ।'
स्थानीयस्तरमा एकीकृत पर्यटन विकास उनको लक्ष्य हो। टिस्टुङ पालुङलाई एउटा पर्यटकीय हबका रूपमा विकास गर्न आफू सक्रिय रहेको अर्जुनसिंहले बताए। उनले 'टिस्टुङ एड्भेन्चर' नामको कम्पनी पनि सुरू गरेका छन्। यसमार्फत साहसिक खेलहरू चलाउने उनको सपना हो।