'खाजा के खाने' प्रश्नमा प्रायः युवा जमातको उत्तर हुन्छ- मम, बर्गर वा पिज्जा।
३३ वर्षीय बसन्त लामालाई यो कुरा राम्ररी थाहा थियो। एक दशक कुक पेसा गर्दै देश-विदेश चहारिसकेका उनलाई नेपाल फर्किएर आफ्नै केही गर्नु थियो।
कुन व्यवसाय रोज्दा ठीक हुन्छ भनेर अन्यौलमा परेका बसन्तले आफूले जानेकै पेसा रोजे।
'मैले जानेको भनेको यही मःम, चाउमिन, बर्गर बेच्न हो। यसलाई नयाँपन दिएर निरन्तरता दिन मैले बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनको सुरूआत गरेँ,' उनले भने।
नेपालमा बर्गरको व्यापार फस्टाउन सक्ने देखेर उनलाई बर्गर हाउसको आइडिया फुरेको हो। यसमा उनलाई साथी र परिवारले सहयोग गरे।
'क्रन्ची फ्राइड चिकेनको रेसेपी मेरो साथीले लिएर आयो,' बसन्तले भने, 'बर्गर र क्रन्ची फ्राइड चिकेन नै हाम्रो मुख्य परिकार भएकाले नाम यही राख्यौं।'
बसन्तका अनुसार व्यवसाय सुरू गर्दा उनी, फ्राइड चिकेनको आइडिया ल्याउने साथी, परिवारका केही सदस्य र अरू केही व्यक्तिले मिलेर १०-१५ लाख प्रति व्यक्ति लगानी जोहो गरे। अनि सुरू भयो बर्गर हाउस एन्ड क्रन्ची फ्राइच चिकेनको यात्रा।
२०७२ चैत ३० गते सुरू भएको यो चेन रेस्टुरेन्ट व्यवसायको अहिले नेपालभर ८८ वटा आउटलेट भएका बसन्तले जानकारी दिए।
उनी भन्छन्, 'आज मानिसले खाजा खान बर्गर हाउस जाऔं भनेको सुन्दा मन प्रफुल्लित भएर आउँछ।'
आफूले बर्गर बेच्न सुरू गर्दा नेपालमा बर्गर पाइए पनि खाने 'ट्रेन्ड' भने बसिनसकेको उनी सम्झिन्छन्।
'युवा पुस्तामाझ बिस्तारै बर्गर लोकप्रिय हुँदै थियो। तर विदेशमा जस्तो नेपालमा यसको क्रेज थिएन,' उनले भने।
बर्गर हाउसको पहिलो आउटलेट शंखमूलमा छ। तर भुइँ तला, त्यो पनि अलि भिरालो परेको ठाउँ भएकाले धेरैको नजर यसमा परेन।
उनीहरूले डिस्काउन्ट, रिफरल, गिफ्टहरू जस्ता सुविधा दिएर ग्राहकलाई आफ्नोबारे थाहा दिए। अनि ग्राहक आफैंले अरू ग्राहक ल्याउन थालेपछि बल्ल उनीहरूको व्यवसाय फस्टाउन थाल्यो।
रेस्टुरेन्टको नाममै बर्गर र क्रन्ची फ्राइड चिकेन भएकाले ग्राहकले यति मात्र पाइन्छ कि भन्ने पनि ठान्दा रहेछन्। तर आफूहरूले तन्दुरी परिकारबाहेक सबै खाले खाजा बेच्दै आएको उनी बताउँछन्।
बर्गर हाउस एन्ड क्रन्ची फ्राइच चिकेनको एउटा आउटलेटमा न्यूनतम ६० जना अट्ने क्षमता छ। समयसँगै व्यापार र माग बढ्दै गएपछि उनले बर्गरका निम्ति बन पाउरोटी उत्पादन गर्न बौद्धमा आफ्नै उद्योग खोले।
'त्यहाँ दैनिक करिब चार हजार वटा बन बन्छ,' उनले भने, 'अहिले हामीले पिज्जा, बेकरी आइटम पनि बनाउन थालेका छौं।'
शाखा विस्तारसँगै जनशक्ति पनि बढ्दै जान्छ। बसन्तका अनुसार सबै बर्गर हाउसमा गरेर दुई हजार छ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
उनीहरूले प्रायः बिहान कलेज गएर ११ बजेपछि फुर्सद हुने विद्यार्थीलाई रोजगारी दिएका छन्। अप्रत्यक्ष रूपमा अन्य १५०० जनालाई काम दिइरहेका उनी बताउँछन्।
बर्गर हाउस खुलेको ७ वर्ष पूरा भयो। आउटलेटसँगै बर्गर हाउसका आठ-दस वटा फ्रान्चाइज पनि बनिरहेको उनले जानकारी दिए।
'अहिले रेस्टुरेन्टमा खाजा खाने ट्रेन्ड छ। हामीले दिएको सेवा सस्तो, सुलभ र छरितो छ। सायद यही कारणले हामी बजारमा रूचाइएका छौं,' उनले भने, 'टिमले मिलेर जानेको काम मेहनत गरेर गर्यो भने विदेशभन्दा नेपालमै राम्रो गर्न सकिने रहेछ।'
सबै तस्बिर र भिडिओ सुसन चौधरी/सेतोपाटी