ठमेल जाने भन्नेबित्तिकै आजकालका युवायुवतीको जिब्रोमा झुन्डिने नाम हो 'एलओडी', अर्थात् लड अफ द ड्रिंक्स्। जब साँझ छिप्पिँदै जान्छ, तन्नेरीहरूको हुलले एलओडीको हल भरिँदै जान्छ।
क्लबमा पोतिएको रंगीचंगी बत्तीको दुनियाँमा बाँधिन थाल्छ हुल। गाढा हुँदै गएको साँझमा मिसिएका धुनसँगै मस्त झुम्छ। भिडभित्र उज्याला र अँध्यारा मिश्रित अनुहारले डान्स फ्लोर भरिन्छ। अनि सुरू हुन्छ गुञ्जिरहेको धुनलाई पृष्ठभूमिमा राखेर खाने-पिउने क्रम।
मानिसहरू मदहोस भएर नाच्दानाच्दै रात सकिन्छ, तर थाक्दैनन्। त्यहीँ गफिन्छन्, हाँस्छन्, रमाउँछन्, नयाँ साथी बनाउँछन्। कोही यत्तिकै पनि फर्किन्छन्।
साँझदेखि भोलिपल्ट अर्थात् बिहान चार बजेसम्म यो क्रम चलिरहन्छ।
पछिल्लो समय एलओडी नाइट क्लबको ठमेलमा एकछत्र राज नै छ।
तर धेरैलाई नाइट क्लब भनेको के हो, खास मानिसहरू यहाँ किन आउँछन् भन्नेबारे जानकारी हुँदैन।
हामीले एलओडीका सहसंस्थापक भूपेन कुँवरसँग यही प्रश्नबाट कुराकानी सुरू गर्यौं।
उनले एलओडी के हो भन्ने बुझाउने प्रयास गरे।
'खासगरी खाने, पिउने, नाच्ने र रमाइलो गर्ने ठाउँ हो एलओडी। साथीभाइ, परिवारजनसँग रमाइलो गरेर नाइट लाइफ रमाइलो बनाउने, आफूसँग आफैं रमाइलो गर्ने हो,' कुँवरले भने।
क्लबमा धेरैजसो मानिसहरू रमाइलो गर्न नै आउँछन्। रमाइलोसँगै पीडा भुल्न आउनेहरू पनि उत्तिकै हुन्छन्।
'यहाँ आउने हजारमध्ये आठ सय जना रमाइलो मात्रै गरौं भनेर आउँछन्। दुई सय जना चाहिँ पीडा भुल्न आएका हुन्छन्,' क्लबमा आउने ग्राहकका व्यवहारबारे भूपेन भन्छन्, 'यस हिसाबले हामीले पीडाको उपचार पनि गरिरहेका छौं जस्तो लाग्छ।'
उनका अनुसार सुरूमा दुःखी देखिने मानिसहरू क्लबबाट उज्यालो अनुहार लिएर फर्किन्छन्। कोही मदिराको नशामा बर्बराउँदै पनि निस्किन्छन्।
'हामी त यहाँ आएका सबैजना खुसी भएर फर्किऊन् भन्ने चाहन्छौं। कुरा गरेर उहाँहरूलाई बुझाऊँ जस्तो लाग्छ,' भूपेन भन्छन्, 'तर मदिरा खाएपछि धेरै बोल्न थाल्नुहुन्छ, हामी चुपचाप बस्छौं।'
पहिले राति दुई बजेसम्म मात्रै क्लब खोल्न पाइन्थ्यो। पछिल्लो समय बिहान चार बजेसम्मै चल्छ। कोरोना महामारी उत्कर्षमा नहुँदा नाइट क्लबमा झुम्नेहरू सयौं हुन्छन्। सातामा अरू दिन बढीमा राति एक बजेसम्म भिड बढी हुन्छ। शुक्रबार भने बिहान चार बजेसम्मै क्लबमा आउन-जाने क्रम चलिरहन्छ।
क्लबप्रति नेपाली युवा पुस्ताको मोह बढ्दै गएको छ।
'हामीले क्लब नेपालीका लागि भनेर खोलेकै होइन। क्लबमा खैरा टाउका मात्रै देखिन्थे,' भूपेन भन्छन्, 'कोभिड महामारीपछि भने नेपालीहरूको हुलले क्लब भरिन थालेको छ।'
पछिल्लो समय त एलओडी जाने भनेर परिवार नै आउन थालेका छन्। छिमेकी मुलुक भारत, युरोप, अफ्रिका, अमेरिका तथा अन्य मुलुकबाट एलओडी नै जाने भनेर मानिसहरू आउने गरेका उनले बताए।
'भारतबाट एलओडी नै भनेर आउने पाहुनाहरू धेरै हुनुहुन्छ। उहाँहरू यहीँ आएर रमाइलो गरेर फर्किने भनेर आएको भन्नुहुन्छ,' भूपेनले भने, 'कोभिडपछि चाहिँ पर्वतारोहण र घुमफिरका लागि आएका सीमित पर्यटक मात्रै आइराख्नु भएको छ।'
भूपेनका अनुसार क्लबमा सबभन्दा बढी चिनियाँहरू आउँछन्। तन्नेरी मात्र होइन, वृद्धवृद्धा पनि छिर्छन्। कोभिडपछि क्लब नेपालीहरूबाटै धानिएको छ। नेपालीहरू खर्च गर्न नडराउने भएकाले अप्ठ्यारो नपरेको उनको भनाइ छ।
नेपालीभन्दा बढी खर्च चिनियाँले गर्छन् तर कोभिडका कारण चिनियाँहरू फाटफुट मात्रै आइरहेका छन्।
नेपाल आएका पर्यटक एकपटक एलओडी छिरेरै जाने गरेको भूपेनको दाबी छ। उनले भने, 'हाम्रो देशमा नभएको एलओडी नेपालमा छ भन्ने सुन्नुभएको हुँदोरहेछ। उहाँहरू एक पटक त अवश्य छिर्नुहुन्छ।'
अनेक किसिमका मदिरासँग विभिन्न परिकार खाँदै नाच्न, रमाउन फराकिलो हल भएकाले पनि एलओडीप्रति मोह बढेको उनको भनाइ छ। मार्केटिङ नै नगरी एलओडी बजारमा चर्चित भएको पनि उनले बताए।
'यताबाट फर्केकाले नेपालमा एलओडी चाहिँ जा है भनेर साथीलाई भन्दा रहेछन्,' भूपेन भन्छन्, 'यसबाट हामीलाई धेरै फाइदा भएको छ।'
एलओडीमा रंगीचंगी बत्तीको सौन्दर्यसँगै गुञ्जिने धुनको वातावरणले पनि धेरैलाई आकर्षित गर्छ। सबै पक्षमा आकर्षक वातावरण बनाउन लगानी धेरै चाहिन्छ। फराकिलो ठाउँ पाउन पनि मुस्किल पर्छ। आफ्नो एलओडीमा सबै वातावरण उपयुक्त रहेको भूपेनको दाबी छ। एलओडी नौ हजार वर्ग फिटमा फैलिएको उनले बताए।
उनका अनुसार एक पटकमा पाँच हजार जना उभिएर रमाइलो गर्न सक्ने क्षमता छ। सामान्य अवस्थामा दैनिक एक हजार दुई सयको हाराहारीमा ग्राहक आउँछन्। शुक्रबार छुट्टै माहोल हुन्छ, चार हजारसम्म ग्राहकले भरिन्छ।
सेलेब्रेटीहरूको रोजाइ पनि धेरैजसो एलओडी नै हो। एक पटक पूर्वराजा ज्ञानेन्द्र शाह त्यहाँ पुगेर छमछमी नाचेका थिए। परिवारसहित एलओडी पुगेका उनी नाचेको तस्बिर र भिडिओले सामाजिक सञ्जाल तताएको थियो।
खैरो कोट, ढाका टोपी र टाइमा सजिएर अन्य सहभागीसँगै नाचेका ज्ञानेन्द्रलाई सेल्फी खिच्नेले घेरेका थिए। उनका साथमा बुहारी हिमानी र छोरी प्रेरणा पनि थिए।
भूपेनका अनुसार कहिलेकाहीँ एलओडीमा राजपरिवारका केही सदस्यहरू जान्थे। पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र हिमानी भने पुगेका थिएनन्।
'उहाँ (पूर्वराजा ज्ञानेन्द्र) ले हाम्रो साथीलाई फोन गरेर आफू आउने जानकारी गराउनुभएछ,' भूपेनले सम्झिए, 'ब्याड लक भनौं कि के, त्यो दिन म घरमै थिएँ, छुटेँ।'
त्यस दिन ज्ञानेन्द्र एलओडीमा तीन घन्टा रमाए।
'उहाँ एकछिनका लागि आउने होला भन्ने लागेको थियो। तर पूरै तीन घन्टा अरूसँगै छमछमी नाच्नुभएछ,' उनले भने, 'भिड थेग्न साथीहरूलाई गाह्रो परेछ।'
यसपछि एलओडीले बजारमा झनै चर्चा पायो। तीन वर्षमै ठमेलमा एकछत्र राज गर्ने एलओडी कसरी सुरू भयो त?
भूपेनका अनुसार एलओडी एकाएक जन्मिएको होइन, पृष्ठभूमि निकै लामो छ। भूपेनले एलओडी सुरू गर्नुअघि धेरै वर्ष यही क्षेत्रमा काम गरेका थिए।
काभ्रे जिल्लाका भूपेन २०५२ सालसम्म उतै बस्थे। त्यही साल एसएलसी परीक्षा दिएर उनी काठमाडौं छिरे। उनको घरका केही सदस्यहरू ठमेलमै बस्थे। उनी पनि बिस्तारै ठमेलको परिवेशमा घुलमिल हुन थाले। पब्लिक युथ क्याम्पसमा व्यवस्थापन विषय लिएर पढ्थे।
उनले जीवनमा के गर्ने भन्ने केही सोचेका थिएनन्, योजनाविहीन थिए। पहिला साथीहरूले 'तँ हिरो छस्' भन्थे। उनी आफूलाई ऐनामा हेर्थे। त्यो बेला दुब्लो शरीरका भूपेन फिल्ममा आफूलाई कुन भूमिका सुहाउला भनेर सोच्थे। तर त्यता लागेनन्।
भूपेनको पढाइ चलिरहेको थियो। उनका दाजु र एक जना साथी राजुसिंह मिलेर रात्रिकालीन व्यवसाय गर्ने योजना बनाए। दाजु एउटा विद्यालयको प्रशासनिक काम हेर्थे। विद्यालय र रात्रिकालीन व्यवसाय एक साथ हेर्न असहज भयो। दाजुले व्यवसाय हेर्ने जिम्मा भूपेनलाई दिए, राजुसँग चिनजान गराइदिए।
राजु र उनका पाँच जना साथी मिलेर स्नुकर हाउस खोलेका थिए। त्यो निकै चल्यो। बिस्तारै स्नुकर हाउस टोलटोलमा उम्रिन थाले। त्यसपछि भूपेन र राजु कुनै नयाँ व्यवसाय सोच्न थाले।
रात्रि व्यवसाय सम्हाल्दै पढाइ निन्तर गर्न सजिलो भएन। व्यवसाय डुब्ने चिन्ता हुन थाल्यो। भूपेन पढाइ स्नातक तहमै थन्क्याएर व्यवसायमा तल्लीन भए।
यस बेलासम्ममा धेरै पर्यटन व्यवसायीहरूसँग राम्रो चिनजान भइसकेको थियो। राजु र भूपेन मिलेर क्लब खोल्ने सोच बनाए। साथीहरूले हौसला दिए। ठमलेमा स्थापित व्यापारीहरूले 'ग्राहकको चिन्ता नगर, हामी सहयोग गर्छौं' भनेर आँट दिए।
त्यस बेला क्लब र पब नेपालीका लागि सोचिँदैन थियो। उनीहरूले विदेशीलाई नै लक्षित गरेर क्लब खोले। विदेशी ग्राहकले क्लब भरिन थाल्यो, राम्ररी चल्यो। क्लब चलाएको धेरै समय भएको थिएन। अचानक दरबार हत्याकाण्ड भइदियो। त्यसले व्यवसायमा नराम्रो असर पार्यो। नौ महिना बन्द भयो।
लामो समय व्यवसाय बन्द हुँदा चिन्ता भएको थियो। क्लब किन्ने मानिस पनि आएका थिए। दस वर्षका लागि जग्गा करार गरेर खोलेको क्लब बेच्न मन लागेन।
त्यस बेला उनीहरू मासिक १९ हजार रूपैयाँ भाडा तिर्थे। किन्न आएका मानिसले मासिक ३५ हजार दिने भएपछि राजु र भूपेनले केही समयका लागि चलाउन दिए।
नयाँ टिमले तीन–चार महिना राम्ररी नै चलायो। अचानक साझेदारहरूबीच मतभेद भयो, क्लब चल्न छाड्यो। अन्ततः 'बियर बार' नाम राखेर राजु र भूपेनले नै चलाउन थाले। बियर बार निकै राम्ररी चल्यो। ग्राहकहरू भित्र छिर्न लाइन लाग्नुपर्ने भयो। शुक्रबार थामिनसक्नु भिड हुन थाल्यो।
उक्त बार अहिले पनि चलिरहेको छ।
'त्यो बेला हामीलाई सहयोग गर्नेहरूले अहिले बियर बार चलाउँछन्,' भूपेनले भने।
त्यहीबीचमा भूपेन र राजुले पर्वतारोहण सम्बन्धी एउटा एजेन्सी चलाए, दुवैको बराबरी लगानीमा। ट्राभल एजेन्सीमा पनि लगानी गरे। अहिले पनि ती कम्पनी चलिरहेका छन्। साथीभाइ मिलेर भीमसेनगोलामा एउटा सहकारी खोले, मेट्रो सहकारी। त्यसमा भूपेनका दाजु रविन अध्यक्ष थिए, भूपेन कोषाध्यक्ष। भूपेनले सहकारीमा समय दिन सकेनन् तर बाहिरबाट आवश्यक सहयोग गरिरहे।
एलओडी सञ्चालनको तयारी भने भूपेन र राजुले पाँच वर्षअघि मात्र गरेका हुन्।
उनीहरू फरक तरिका के हुनसक्छ भनेर सोचिरहेका थिए। ठमेलकै 'रिफ' रेस्टुरेन्टको व्यवस्थापन र डेकोरेसन निकै आकर्षक छ भन्ने सुनेका थिए। हेर्न गए, साँच्चै राम्रो लाग्यो।
उनीहरूले रिफका सञ्चालकहरूसँग चिनजान गरे। कुराकानी गरे। उनीहरूलाई आफ्नो योजना सुनाए। त्यो समय राति ११ बजेसम्म बार खोल्न पाइन्थ्यो। जति रात छिप्पिँदै जान्थ्यो, त्यति नै ग्राहक ओइरिन्थे। ग्राहकको यस्तो प्रवृत्तिले उनीहरूलाई रात्रिकालीन व्यवसायमा केही नयाँ काम गर्ने अठोट दियो।
भूपेनका साथी रविन श्रेष्ठ सिंगापुरमा होटल म्यानेजमेन्ट पढेर फर्केका थिए। अर्का साथी रूदीप श्रेष्ठको आर्थिक अवस्था बलियो थियो।
'सबै कुरा हेर्दा हाम्रो टिम मिल्ने देखियो,' भूपेन भन्छन्, 'अनि हामीले बियर बार भत्काएर छेउको जग्गा पनि भाडामा लिएर क्लब खोल्ने सोच्यौं।'
बियर बार र वरपरको जग्गा करिब २७ आना थियो। जग्गा धनीसँग कुरा गरे। तर नदिने भएपछि तत्कालको योजना रद्द भयो। क्लब खोल्ने कुरा ठमेलमा एक कान दुई कान हुँदै मैदान भइसकेको थियो। अहिलेको ठाउँ त उनीहरूले सोचेकै थिएनन्। त्यहाँ फोहोरको डंगुर थियो। ढुंगाको थुप्रो थियो।
एक जना साथीको प्रस्तावमा उनीहरूले त्यही जग्गा उचित ठाने। अनि सुरू भयो संरचना बनाउने काम, पाँच वर्षअघि।
सबै फोहोर र ढुंगा पन्छाएर भौतिक संरचना बनाउन दुई वर्ष लाग्यो। व्यवसाय सुरू भएको तीन वर्ष भयो। एलओडीमा चार जना साझेदार छन्– राजुसिंह, भूपेन कुँवर, रविन श्रेष्ठ र रूदीप श्रेष्ठ।
भूपेनका अनुसार उनीहरूले १२ करोड रूपैयाँ लगानी गरेर काम थालेका थिए। अहिले २५ करोड रूपैयाँको पुँजी छ। एलओडीमा १७० जना युवाले रोजगारी पाएका छन्, महिला र पुरुषको संख्या करिब बराबर छ।
'कतिपयको मानसिकता रात्रिकालीन व्यवसायमा युवतीहरू मात्रै राखिन्छन् भन्ने छ तर त्यस्तो हुँदैन,' भूपेन भन्छन्, महिला, पुरुष भनेर विभेद हुँदैन। जसको जे काम गर्ने क्षमता र रूचि छ त्यही गर्नुहुन्छ।'
रात्रिकालीन व्यवसायमा काम गर्नेमाथि यौन शोषण हुन्छ भन्ने आरोप भूपेनले आफ्नो व्यवसायको सन्दर्भमा अस्वीकार गरे।
'कहीँ कतै होला, हाम्रो क्लबमा त्यस्तो (यौन शोषण) छैन। मेरो क्लबको जिम्मेवारी लिन सक्छु,' भूपेनले हाँक दिए, 'एकजना मात्रै पनि दुःखी भएर काम गरेको भेट्नुभयो भने म यो व्यवसाय नै छाड्छु।'
नेपालको पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा रात्रिकालीन व्यवसायले बलियो टेवा पुर्याएको भए पनि 'मादक पदार्थ बेचेर मान्छे बिगार्ने काम गरेको' आरोप लाग्नु दुःखद भएको भूपेनको भनाइ छ। भन्छन्, 'मान्छेलाई मनोरञ्जन चाहिन्छ। हामीले मनोरञ्जन दिएका छौं।
नयाँ पुस्तामा भने सकारात्मक सोच बढ्दै गएको उनको अनुभव छ। ठमेलमा क्रमिक रूपमा भइरहेको परिवर्तन देखेर भूपेनलाई गर्व अनुभूति हुन्छ। एलओडी सुरू भएपछि ठमेल पुग्नेको संख्या बढेको उनी बताउँछन्।
उनका अनुसार नयाँ पुस्ताका आमाबुबा र छोराछोरी राति बाह्र–एक बजेसम्म रमाइलो गरेर फर्किन थालेका छन्। एलओडी धाउनेको चापले ठमेल ब्युँझिएको छ। कोभिडपछि हिमाल चढ्ने र घुम्न आउने विदेशी थोरै छन्। क्लब नेपालीहरूले नै धानिरहेका छन्।
रात्रिकालीन व्यवसायमा दुई दशकभन्दा बढी समय बिताएका भूपेन यो क्षेत्रमा निकै ठूलो सम्भावना रहे पनि सरकारले बुझ्न नसकेको गुनासो गर्छन्।
'नेपालमा रात्रिकालीन व्यवसायमा यति लामो समय अडिनु ठट्टाको कुरा होइन,' उनी भन्छन्, 'हाम्रो नीति, नियम भने उदार छैन।'
नीतगत व्यवस्था सहज हुने हो भने राजस्व संकलनमा रात्रिकालीन व्यवसायले निकै ठूलो योगदान गर्ने भूपेनको विश्वास छ। रात्रिकालिन व्यवसाय सञ्चालनका लागि उदार किसिमको अलग्गै नीति हुनुपर्ने उनको भनाइ छ।
प्रष्ट नीति नहुँदा स्थानीय क्षेत्र हेर्ने प्रहरी अधिकारी अनुसार फरक–फरक व्यवहार हुने गरेको छ। भूपेन भन्छन्, 'प्रहरीको हाकिम सरुवा हुनेबित्तिकै अब अर्कोले कुन नियम लाद्ने हो भन्ने चिन्ताले हामीलाई निद्रा लाग्न छाड्छ।'
ठमेल क्षेत्रलाई सरकारले पर्यटकीय हब मानेर सोहीअनुसार नीति-नियम लागू गर्नुपर्ने उनको भनाइ छ। ठमेललाई मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने हो भने देशको अर्थतन्त्रमा ठूलो सघाउन हुने भूपेन बताउँछन्।
तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी र सेन्टी म्यान/एलओडी