बटर चिकेन, छोलाभटुरे, बिरियानी, लस्सी...यति भन्दै गर्दा धेरैको मुखमा पानी आइसक्यो होला।
बाहिरफेर रेस्टुरेन्टमा खान रूचाउनेका लागि यी स्वाद नौलो पनि होइन।
तर नेपालका प्रायः रेस्टुरेन्टमा सजिलै अर्डर गरेर खान पाइने यी परिकार कहाँबाट आए भन्नेबारे चाहिँ धेरैलाई थाहा नहुन सक्छ।
खासमा यी भारतको पञ्जाबबाट आएका हुन्। यी खानेकुरा पञ्जाबमै पनि एकदमै लोकप्रिय भएको र त्यहाँका गल्लीदेखि पाँच तारे होटलसम्म पाइने सेफ पप्पु आर्य बताउँछन्।
जेडब्लु मेरियट चन्डिगढ, पञ्जाबका सेफ पप्पु केही दिनअगाडि नेपाल आएका हुन्। उनलाई हामीले मंगलबार राजधानीको फेयरफिल्ड मेरियट होटलमा भेटेका थियौं।
उनी कात्तिक २९ गतेदेखि मंसिर ९ गतेसम्म हुने 'पिंड दा जाइका' नामक पञ्जाबी खाना महोत्सवमा अतिथि सेफका रूपमा आएका हुन्। उनी फेयरफिल्ड मेरियटका हेड सेफ सन्तोष सुवेदी केसीलाई पकाउन सहयोग गर्दैछन्।
छोलेकुल्चे, मख्खन रोटी, अमृतसरी वडी पुलाउ, बिरयानी लगायत थुप्रै परिकार पकाएर महोत्सवको पहिलो दिनको सुरू गरिएको थियो।
सेफ सन्तोषले पहिलोपटक पञ्जाबी खाना बनाउँदै रहेछन्। यो क्रममा उनले यहाँ पकाइने पञ्जाबी खानेकुरामा केही मसला अपुग भइरहेको महसुस गरे।
'नेपाली सेफले पञ्जाबी खाना पकाउदा पञ्जाबी स्वाद र सुगन्ध नआउने रहेछ,' सेफ सन्तोषले भने, 'सेफ पप्पुले पकाएको पञ्जाबी खानाको बेग्लै स्वाद र मिठास छ।'
पञ्जाबी परिकार नेपाली खानासँग मिल्दोजुल्दो पनि हुने सेफ सन्तोष बताउँछन्।
दाल-रोटी, साग, बटर चिकेन, पनिर टिक्का आदि नेपालमा पनि खाइन्छ। तर सेफ पप्पुले प्रयोग गरेका मसलाले स्वादमा सुगन्ध थपेको उनले बताए।
नेपाली र नेपालमा बसोबास गरेका पञ्जाबीलाई पञ्जाबी स्वादको महसुस गराउन सेफ पप्पुले भारतबाटै मरमसला ल्याएका छन्। महोत्सवको अघिल्लो दिन ती मरमसला तयार पारेरै दिन बितेको उनले बताए।
'पञ्जाबी खाना पकाउन मैले उतैबाट मरमसला लिएर आएको छु,' उनले भने, 'खानामा हाल्ने सबै मसला नेपालमा नपाइने हुनाले लिएर आएको हुँ। ती मसला विशेष हुन्, त्यसैले खानालाई यति स्वादिलो पारेको हो।'
पञ्जाबको गल्लीदेखि होटलसम्म पाइने सबै परिकार यो महोत्सवमा पकाउने सेफद्वयले अठोट गरेका छन्।
नेपालीले खाने खानाभन्दा केही मसालेदार परिकार महोत्वसमा पाके पनि स्वाद सबैलाई मनपर्ने कुरामा सेफ सन्तोष ढुक्क छन्।
हेर्दा आकर्षक र खाँदा आडिलो हुने लोकप्रिय पञ्जाबी परिकार चाख्न मेरियट होटल जान सकिन्छ। बेलुकी साढे ६ बजेदेखि सुरू हुने महोत्वसमा हरेक दिन नयाँनयाँ स्वादका परिकार पाइने सेफद्वयले जानकारी दिए।
ग्राहकले तीन प्याकेजमा रहेर यहाँ खान सक्नेछन् जसको मूल्य यसप्रकार छः
बफे मात्रः १४९९ रूपैयाँ।
बफे र हलुका पेयपदार्थः १९९९ रूपैयाँ।
बफे र हाउस बेभरेजः २४४९ रूपैयाँ।
(खाना रिजर्भेसनका लागि ९८०१२२७६१३ मा सम्पर्क गर्न सकिन्छ।)