काठमाडौंको बढ्दो जनसंख्या र सवारी चापका कारण पार्किङ ठूलो समस्या बनेको छ। सार्वजनिक सवारी व्यवस्थित र भरपर्दो नहुँदा मोटरसाइकल, स्कुटर र कारको प्रयोग बढ्दो छ। सवारी संख्या जति बढ्दैछ, पार्किङ गर्ने ठाउँ उति कम हुँदैछ। मध्य-काठमाडौंका बजारमा त पार्किङ गर्ने ठाउँको ठूलो दु:ख सर्वसाधारणले झेल्दै आएका छन्।
यही समस्याबीच नक्सालस्थित भाटभटेनीमा टावर शैलीको अत्याधुनिक पार्किङ निर्माण भएको छ। पूर्णस्वचालित यो पार्किङ ११ तलाको छ। यहाँ एकैपटकमा ४४ वटा गाडी पार्क गर्न मिल्ने स्पार्क कन्स्ट्रक्सनका म्यानेजर सुरेन्द्र अर्यालले जानकारी दिए।
करिब सात करोड रूपैयाँ लगानीमा बनेको यो पार्किङ सिस्टमको हरेक तल्ला १२ सय वर्गफिट क्षेत्रफलको छ।
एकै ठाउँमा धेरै गाडी राख्न सकियोस् भनेर निर्माण गरिएको यो नेपालकै पहिलो टावर पार्किङ सिस्टम हो। यहाँ गाडीलाई लिफ्टको माध्यमबाट विभिन्न तलाको पार्किङमा लगेर राखिन्छ। माथिल्लो तलामा राखिएको गाडी तल ल्याउन दुई मिनेटभन्दा बढी समय नलाग्ने कम्पनीले जनाएको छ।
नक्सालबाट सुरू टावर पार्किङ सिस्टम आगामी दिनमा भाटभटेनीका अन्य शाखामा पनि निर्माण गरिने म्यानेजर अर्याल बताउँछन्।
भाटभटेनीको यो टावर पार्किङ यस कारण पनि महत्वपूर्ण छ, किनभने यसले काठमाडौं उपत्यकाका अन्य साँघुरा बजारहरूमा कस्तो खालको पार्किङ निर्माण गर्ने भन्ने एउटा उदाहरण दिन्छ।
खासगरी मध्य-काठमाडौंकाे पार्किङ समस्या हल गर्न त्यहाँको कुनै सानो जग्गामा यस्तै टावर पार्किङ निर्माण गर्न सकिन्छ। यसमा काठमाडौं महानगरपालिकाले नै नेतृत्व लिएर निजी क्षेत्रसँग सहकार्य गर्न सक्छ।
काठमाडौं महानगरले केही समययता मध्य-काठमाडौंलाई सवारी निषेधित क्षेत्र बनाउने योजना अघि बढाएको छ। प्रभावकारी पार्किङ अभावमा यो योजना कार्यान्वयन हुन सकेको छैन। यसको निम्ति मध्य-काठमाडौंमा घुम्न वा किनमेल गर्न आउने सर्वसाधारणले आफ्नो गाडी कहाँ राख्ने भन्ने विकल्प दिनुपर्ने सरोकारवालाहरूले बताउँदै आएका छन्।
महानगरले ठाउँ-ठाउँमा यस्तो टावर पार्किङ निर्माण गर्ने हो भने काठमाडौंको पुरानो बस्तीलाई सवारीरहित बनाउने योजना कार्यान्वयन गर्न सजिलो हुनेछ।