एउटा ठट्यौली छ- मेनुमा जति घोत्लिए पनि नेपालीले अन्तिममा मगाउने भनेको मःम नै हो।
नेपालीको जिब्रोमा मःमको स्वाद कसरी झुन्डिएको छ, भन्नै पर्दैन।
अचेल सहरमा यस्ता चोक र गल्ली सायदै भेटिएला जहाँ मःम पाइँदैन। तर सबै ठाउँमा मःमको शुद्धता र गुणस्तर राम्रो हुन्छ भन्ने छैन। ग्राहक पल्काउने नाममा विभिन्न स्वादजन्य मसला, अजिनामोटो, बोसो लगायत सामग्री प्रयोग गर्न थालिएको छ। यस्ता चिजबाट जिब्रोले त स्वाद पाउला तर स्वास्थ्य थाहै नपाइ बेस्वादको बनिरहेको हुन्छ।
मःम बजारको यही दयनीय अवस्था मध्यनजर गर्दै फिल्म निर्माता शरद श्रेष्ठ, पर्यटन व्यवसायी पूण्यराम लगेजू र अरू केही युवा मिलेर 'मःम मज्जा' सुरू गरेका छन्।
ग्राहकको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर मःम मज्जा सुरू गरिएको यहाँका हेड अफ अपरेसन रहेका पूण्यराम लगेजूको भनाइ छ।
'हामीले तीन/चार महिना बजार अध्ययन गर्यौं। सामान्य पसलदेखि पाँचतारे होटलसम्मका मःम चाख्यौं,' लगेजूले भने, 'सबैतिरको स्वाद उस्तै–उस्तै भेटियो। कतै त एक प्लेट मःम खायो भने दिनभरी पेट ढुस्स हुने भयो।'
उनका अनुसार उनीहरूले खोजेजस्तो स्वाद कतै पाएनन्। यसपछि उनीहरूले फरक स्वादको मःम पस्किने सोचे।
सुरू गर्न सोचेजस्तो सजिलो भने थिएन।
'हामी सबै फरक क्षेत्रमा काम गरिरहेकाले यसमा ज्ञान शून्य थियो,' काम सुरू गर्न अप्ठ्यारो भएको लगेजूले बताए।
उनीहरूले बजारभन्दा फरक स्वादको मःम पस्किन पकाउने मान्छे पनि त्यहीअनुसार खोजे। तर चित्तबुझ्दो कोही फेला परेनन्। त्यसपछि उनीहरूकै समूहका साथी सूर्यतेज शाक्यले आफ्नी श्रीमती सम्झनाले घरमा निकै स्वादिलो मःम बनाउने गरेको सुनाए।
'सम्झना भाउजू व्यवसायिक सेफ होइन। गृहिणी नै हुनु हुन्थ्यो। तर उहाँले मीठो मःम पकाउने सुनेपछि हामीले एकपटक चाख्ने निधो गर्यौं,' लगेजूले भने।
सम्झनाले पकाएको मःम उनीहरू सबैलाई मन पर्यो। त्यसपछि मुख्य सेफमा सम्झना नियुक्त भइन्। अनि गत वर्ष पुसमा सुरू भयो मःम मज्जा।
घरको स्वाद पस्किने भएकाले उनीहरूले नाम राखे- मःम मज्जा, स्वाद घरको।
'हामीले स्वाद मात्रै होइन, घरमा मःम बनाउँदा किमा, अचारदेखि हरेक चिज जसरी ताजा र स्वस्थकर प्रयोग गर्छौं, त्यस्तै मःम चखाउँछौं,' मःम मज्जाका अध्यक्ष रहेका शरद श्रेष्ठले सेतोपाटीसँग भने।
मःम मज्जामा भेज, चिकेन र बफका स्टिम, फ्राइड, कोथे र सी लगायत परिकार पाइन्छ। ग्राहकले भने धेरै परिकार र स्वाद नभएको गुनासो गरिरहेका छन्। शरदका अनुसार उनीहरूले धेरै स्वादभन्दा पनि स्वस्थकर मःमको मज्जा दिन खोजेका हुन्। स्वाद विभिन्न तर गुणस्तर व्यवस्थापन भएन भने आफूहरूले रेस्टुरेन्ट सुरू गर्नुको अर्थ नहुने उनको भनाइ छ।
यहाँ मःमसँगै बर्गर, सलाद, सुप, भेज तथा ननभेज स्न्याक्स् लगायत अरू परिकार पनि पाइन्छ। यहाँका सबै खानेकुरा स्वस्थवर्द्धक भएको सञ्चालकहरूको दावी छ।
'जुनसुकै प्रयोगशालामा लगेर परीक्षण गरे पनि हाम्रो मःम लगायत सबै खानेकुरा गुणस्तरीय छन्। सबभन्दा ठूलो कुरा स्वास्थ्य भएकाले बरू लागत धेरै लागोस् तर स्वस्थकर परिकार बनाउँछौं,' शरदले दावी गर्दै भने, 'म आफैं पनि मःम पारखी। तर बाहिर खाँदा जहिल्यै अजिनामोटोको स्वाद मात्रै भेटिने। एकपटक खाएपछि फेरि जान मनै लाग्थेन। चाखेपछि फेरि जाऊँजाऊँ लाग्ने गरी हामीले मःम मज्जामा सेवा दिइरहेका छौं।'
मःमको गुणस्तरअनुसार मूल्य पनि सुपथ राखिएको उनको भनाइ छ। यहाँ स्टिम चिकेन मःम प्रतिप्लेट एक सय ७० रूपैयाँ छ। भेज प्रतिप्लेट एक सय बीस र बफ एक सय पचासमा खान पाइन्छ।
शरदका अनुसार अजिनामोटोको स्वादमा अभ्यस्त भएकालाई पहिलोपटक यहाँको मःम फिक्का लाग्न सक्छ। वा मन नपर्न सक्छ। तर स्वास्थ्यको महत्व बुझ्नेले पक्कै मनपराउने उनीहरूको विश्वास छ।
सुरूमा काठमाडौंस्थित मरूहिटीमा एउटा सानो पसल मात्रै खोल्ने सोचेका उनीहरूले अहिले उपत्यकाका विभिन्न चार स्थानमा मःम मज्जाको आउटलेट विस्तार गरिसकेका छन्। नयाँ बानेश्वरबाट सुरू यो रेस्टुरेन्ट वसन्तपुर, ठमेल हुँदै ढल्कूसम्म फैलिसक्यो।
एक वर्षभित्र ललितपुरको झम्सीखेल, भक्तपुरसहित काठमाडौं उपत्यकामा थप तीन ठाउँमा शाखा विस्तार गरी सात आउटलेट पुर्याउने लक्ष्य उनीहरूले लिएका छन्। यसपछि मःम मज्जा उपत्यका बाहिर जानेछ।
एक वर्ष पनि नहुँदै मःम मज्जाका चार शाखा विस्तार गरिसकेका उनीहरूले हालसम्म साढे दुई करोड रूपैयाँ लगानी गरिसकेका छन्। सानो लगानीबाट सुरू गर्ने योजना भए पनि काम गर्दै जाँदा लगानी थपिँदै गएको यहाँका हेड अफ अपरेसन लगेजू बताउँछन्।
'हामीले महामारीका बीचमा जोखिम मोलेरै काम सुरू गरेका हौं,' लगेजू भन्छन्, 'अहिलेसम्म साढे दुई करोड लगानी भयो। अझै थप्ने योजना छ।'
मःम मज्जाबाट आएको आम्दानी पनि लगानीका रूपमा थप्दै लैजाने उनले जानकारी दिए।
अझ भविष्यमा अन्तर्राष्ट्रियस्तरमै मःम मज्जाको चेन विस्तार गर्ने सोच रहेको अध्यक्ष शरद बताउँछन्।
'कति कम्पनीहरूको चेन अन्तर्राष्ट्रिय बजारमा फैलिएको छ। नेपालमा पनि त्यस्ता धेरै विदेशी चेन कम्पनी सञ्चालनमा छन्। हाम्रो नेपाली कम्पनीको चेन पनि विश्व बजारमा विस्तार गर्न सकिन्छ भन्ने विश्वास हो,' उनले भने।
अहिले प्रत्यक्ष कृषकसँग जोडिएर ताजा टमाटर, खुर्सानी, धनियाँ लगायत प्रयोग गरिरहेको उनीहरूको भनाइ छ। विस्तारै आफैं फार्म सञ्चालनमा ल्याएर अर्गानिक तरकारी प्रयोग गर्ने योजना बुनेका छन्। आउटलेट विस्तार सकेपछि यो योजनामा काम हुनेछ।
उनीहरूले सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै होम डेलिभरी सेवा पनि दिइरहेका छन्। यसनिम्ति पठाओ, भोज, फुडमाण्डुसँग सहकार्य भएको छ।
हाल मःम मज्जाका सबै शाखामा गरी ४६ जना कर्मचारी छन्।
दोस्रो चरणको लकडाउनका कारण केही समय व्यवसाय अप्ठ्यारोमा परे पनि अहिले सहज हुँदै गएको उनीहरूले बताए। शरदका अनुसार यहाँ अहिले दैनिक दुई सय बढी ग्राहक आउँछन्। मःम मीठो र राम्रो भएको प्रतिक्रिया दिइरहेका छन्। यसले काममा हौसला थपेको छ।
कोभिड महामारीले लामो समयसम्म थलिँदा केही योजना भने पछाडि धकेलिएको उनले बताए, 'भाडा महँगो छ। छुट पनि भएन। फेरि सुरू गर्न नपाउँदै लामो समय बन्द गरेर राख्नुपर्यो।'
कोभिड जोखिमकै कारण सुरू गरेको छ महिना भए पनि ठमेल आउटलेटको औपचारिक उद्घाटन भएकव छैन।
कुनै पनि व्यवसाय फस्टाउन देशको राजनीतिक अवस्था पनि स्थिर हुनुपर्ने शरद बताउँछन्। राज्यबाट देशमा केही गर्छु भनेर लागेकालाई सहयोग हुने हो भने उद्यमशीलता बढ्ने र विदेश पलायन रोकिने उनले बताए।
'सबैसँग व्यवसाय सुरू गर्ने पुँजी हुँदैन। सरकारले सुरूआती पुँजी दिने हो भने निकै सहज हुन्छ। वा हाम्रो व्यवसाय धितोमा राखेर ऋण दिने हो भने पनि राहत हुन्छ,' उनले भने।