अध्ययनका लागि विदेसिएका अधिकांश नेपाली युवा उतै केही पेसा-व्यवसाय गरेर बस्छन्। कमै युवा फर्किएर काम गर्छन्। तिनै कममध्ये एक हुन् २४ वर्षीय अतुल न्यौपाने।
अमेरिकाबाट बिबिए सकाएका उनी हाल लक्ष्मी स्टिल हाँकिरहेका छन्। कम्पनीमा निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दा अतुल मात्र २२ वर्षका थिए।
'अमेरिकामा अन्तिम सेमेस्टर पढ्दै थिएँ, कोरोना महामारी सुरू भयो। नेपाल फर्किएर अनलाइनबाटै परीक्षा दिएँ। त्यसपछि अब यतै केही गर्छु भनेर लक्ष्मी स्टिल रोजेको हुँ,' अतुलले भने।
व्यापारिक घराना सौरभ समूह अतुलका हजुरबुवा लिलारामले स्थापना गरेका हुन्। यसका दर्जन भगिनी कम्पनीमध्ये लक्ष्मी स्टिल एक हो। अतुलका बुवा टिकाराम अहिले कम्पनीमै निर्देशक छन्।
अतुल सानै उमेरदेखि विदेश बसेका हुन्। विद्यालय तह भारतमा र बाँकी लन्डन हुँदै अमेरिकामा पढे। विदेशमै हुर्किए पनि पहिलेदेखि नेपालमै केही गर्ने सोच थियो उनको। यसमा पनि स्टिल व्यवसायमा रूचि भएकाले सोही क्षेत्र रोजेको उनी बताउँछन्।
'स्टिलको बजार एकदमै प्रतिस्पर्धी छ। काम गर्न मज्जा लाग्ने भएकाले मैले यही कम्पनी रोजेँ,' लक्ष्मी स्टिलमा आवद्ध हुनुको कारण सुनाए उनले।
अतुलले निकै जोखिम र चुनौतीपूर्ण समयमा कम्पनीको कार्यभार सम्हालेका हुन्। डन्डी उद्योग प्राविधिक भएकाले केही समय उनलाई काम बुझ्न अप्ठ्यारो भयो। त्यही बेला कोरोना महामारीले उद्योग क्षेत्र थिलथिलो बनेपछि चुनौती थपिए।
महामारीकालमा छड तथा स्टिलजन्य व्यवसायमा कच्चापदार्थ अभाव भयो। अर्कोतिर मूल्य पनि आकासियो। बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेका कारण झन् अप्ठ्यारो अवस्था सिर्जना भएको अतुल बताउँछन्।
'उपभोक्तालाई गुणस्तरीय सामानबारे बुझाउनु पहिलो चुनौती थियो,' उनले भने, 'बजारमा सस्तो देखाएर गुणस्तरहीन सामान बिक्री गर्नेहरूका कारण हामीलाई असहज भयो। सबैको भाउ बढ्दा गुणस्तरीय सामग्रीको मूल्य स्थिर राखेर उपभोक्तासम्म पुर्याउने चुनौती थपियो।'
लक्ष्मी टिमले भने परिमाणभन्दा गुणस्तरमा जोड दियो। यही कारण उपभोक्ताले कम मूल्यमा राम्रो सामान उपभोग गर्न पाएको उनको भनाइ छ। लक्ष्मी स्टिलका उत्पादन कम्पनीबाट सिधै डिलरमा जान्छ। मध्यस्थकर्ताको च्यानल थोरै छ। उपभोक्तासम्म पुग्ने बाटो छोटो भएकाले ठगिने जोखिम नभएको उनी बताउँछन्।
त्यस्तै अक्सिजन अभाव भएका बेला कम्पनीले शतप्रतिशत उत्पादन गर्न सकेन। भएका सिलिन्डर पनि अस्पतालहरूलाई दिएकाले उत्पादन घटेको उनले जानकारी दिए।
कम्पनी सम्हालेको छोटो समयमै उनले यस्ता धेरै अप्ठ्याराहरू झेल्नुपर्यो। तर यही संकट अतुलका निम्ति धेरै कुरा सिक्ने अवसर बन्यो।
'मान्छेलाई जति धेरै अप्ठ्यारो पर्यो, त्यति धेरै सिकिने रहेछ। मैले यो संकटकै कारण छिटो काम सिकेँ,' उनले सेतोपाटीसँग भने।
उनको सिक्ने क्रम रोकिएको छैन। मुश्किल परिस्थितिले पनि कहाँ छाडेको छ र!
निषेधाज्ञा अवधिमा विकास निर्माणका काम ठप्पप्रायः थिए। धेरै निर्माण सामग्री उत्पादक कम्पनीले कर्मचारीलाई बेतलबी बिदामा राख्नु पर्यो। केहीले आधा कर्मचारी राखेर सञ्चालन गरे। लक्ष्मी स्टिलले भने आर्थिक समस्या भए पनि कर्मचारीलाई बेतलबी बिदा राखेन।
'हामीले पूरा पारिश्रमिक दियौं। कर्मचारी कम्पनीको महत्वपूर्ण अंग हुन्,' अतुल भन्छन्, 'हामीले सबै कर्मचारीलाई पहिलो डोज खोप व्यवस्था पनि गर्यौं। तर खोप दिलाउन निकै गाह्रो भयो।'
खोप पहुँच नभएकै कारण ढुक्क भएर कम्पनी सञ्चालन गर्न नसकिएको उनी बताउँछन्। निषेधाज्ञामा पनि सुरक्षा उपाय अपनाउँदै सञ्चालन गर्न सकिने उद्योगका लागि सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।
अहिले दोस्रो चरणको निषेधाज्ञा खुकुलो भएको छ। अवस्था सहज हुन थालेसँगै लक्ष्मी स्टिलका उत्पादन देशका कुना काप्चासम्म पुर्याउने योजना अतुलले बनाएका छन्।
'कतिपय अवस्थामा म आफैं बजारमा निस्किरहेको हुन्छु। ग्राहकसँग नजिकिन्छु। उहाँहरूको प्रतिक्रिया सुन्ने र बुझ्ने प्रयास गरिरहेको छु। अहिलेसम्म सबैले राम्रो प्रतिक्रिया दिइराख्नुभएको छ,' उनले आफ्नो अनुभव सुनाए।
पोखरा, नारायणघाट, चितवन, हेटौंडा, दाङ, कोहलपुर लगायत अधिकांश ठाउँ आफैं पुगेर उपभोक्ताको प्रतिक्रिया बुझेका छन् उनले। आफ्नो नेतृत्वमा लक्ष्मी स्टिललाई गुणस्तरीय र सहुलियत मूल्यमा उपभोक्तासम्म पुर्याउने प्रतिबद्धता उनले लिएका छन्।
'टिम बलियो बनाएको छु,' उनी उत्साही सुनिन्छन्, 'अमेरिका दुई वर्ष बस्दा व्यवसाय कसरी सफल बनाउने भनेर केही आइडिया लिएको छु। त्यसलाई पनि फलो गरिरहेको छु।'
स्टिल उद्योगमा काम गर्दै जाँदा देखिएका कमी-कमजोरी व्यवस्थित बनाउन आफू प्रयत्नशील रहेको पनि उनी बताउँछन्।
'यस्ता उद्योगलाई सरकारको सहयोग खाँचो हुन्छ। कच्चापदार्थ सबै आयात गर्ने हो। सरकारले भन्सार महसुलमा सहुलियत दिनुपर्छ। उद्योगीलाई प्रोत्साहन गर्ने नीति अघि सार्नुपर्छ,' उनले भने।
उद्योगीलाई सहुलियत ऋण उपलब्ध गराउन, विद्युत महसुल छुट दिन जरूरी रहेको उनको भनाइ छ। पछिल्लो समय लोडसेडिङ घोषणा नगरिए पनि बेलाबेला झ्याप्प बत्ती जाने समस्याले उद्योगलाई ठूलो नोक्सान परिरहेको गुनासो उनले गरे।
स्टिल उत्पादनमा सुरूदेखि अन्तिमसम्म एकैनासे तापक्रम चाहिन्छ। बेलाबेला बिजुली जाँदा गुणस्तरीय सामग्री उत्पादन गर्न सकिँदैन। उत्पादन खेर जान्छ।
काममा आफूले भोग्ने साना-ठूला समस्याका कारण उनलाई कहिलेकाहीँ अमेरिकाबाट फर्किएकोमा पछुतो पनि लाग्छ। तर जेजस्तो अप्ठ्यारो परे पनि स्वदेशमै केही गर्छु भन्ने सोच राखेकाले आफू टिक्न सक्ने विश्वास भने छ उनलाई।
भन्छन्, 'विदेशको जीवन दाँजेर हेर्दा त दुःखै लाग्छ। म धेरै समय बाहिर बसेँ, यहाँ घुलमिल हुन निकै असहज भयो। प्रयास भने गर्दैछु।'
युवापुस्ताले विदेशमा आर्जन गरेको ज्ञान र सीप जतिसक्दो स्वदेशमै प्रयोग गर्नुपर्ने उनको जोड छ।
'आफ्नो देश भनेको आफ्नै हो,' उनी भन्छन्, 'मैले नगरे कसले गर्ने? हाम्रो देशका दक्ष जनशक्ति सबै विदेसिए भने त देश कसरी उँभो लाग्छ?'
(यो स्टोरी सेतोपाटीमा पहिलोपटक २०७८ साउन १२ गते प्रकाशित थियो)