भैरहवाको मिलनचोकस्थित मालटोलका बेचन प्रसाद भुज कार्यालय जान हतारिएका थिए। मालटोल सडक किनारसँगै जोडिएको वर्षौं पुरानो उनको घरमा बाह्रै महिना चुलोमा आगो बलिरहन्छ।
सोमबार बिहान दस बजेतिर त्यहाँ पुग्दा ६५ वर्षीय बेचन माटोको ठूलो चुलोमा चना र भुजा भुटिरहेका थिए। उनकी श्रीमती कमलावती चुलोमा काठको भुस राखिर आगो बालिरहेकी थिइन्।
बेचनले फलामको आरीमा तातो बालुवा हालेर भुटेको भुजा र चना उनकी जेठी बुहारी सन्ध्याले चाल्नीमा राखेर चालिरहेकी थिइन्। खाजाका लागि स्थानीयले भुट्न दिएका भुजा र चना भुटिसकेपछि मात्रै अफिस जाने भन्दै बेचन हतारिएका थिए।
बेचन २०३८ सालदेखि भैरहवा लुम्बिनी भूमिगत जलपरियोजना भैलुभुजामा पम्प अपरेटरका रूपमा कार्यरत छन्। तर उनलाई कार्यालयको पदभन्दा 'भुजा भुट्ने बेचन' का रूपमा धेरैले चिन्छन्।
'मलाई पनि बाबुबाजेले सुम्पिदिएको यही पुर्ख्यौली पेसा प्यारो लाग्छ,' बेचन भन्छन्।
बेचनका बुवा विश्वनाथ प्रसाद भुजले २००५ सालमा यही ठाउँमा टिनको छानो र पालको छाप्रो बनाएर भुजा भुट्न सुरू गरेका थिए। त्यसअघि उनका बाजेले अन्तै भुजा भुट्ने गरेको बेचनले सुनेका छन्। बेचन भने बुवासँगै भुजा भुट्ने काममा खेल्दै हुर्किए। अहिले बेचनको परिवारले यसैलाई आफ्नो पेसा बनाएका छन्।
मालटोलमा सडकसँगै जोडिएको छ बेचनको घर। पछाडि पोखरेली ढुंगाले बनेको दुईतले पक्की घर छ। त्यही घरअगाडि बुवा विश्वनाथले बनाएको छाप्रोमै भुजा भुट्ने माटोका ठूलाठूला दुइटा भार (चुलो) बनाइएका छन्।
एकातर्फ बेचन, अर्कोतिर उनका भाइ देवप्रसादको परिवार भुजा भुट्छन्। बेचनजस्तै देवप्रसाद पनि साँझ-बिहान यो काम गर्छन्। उनी निजी विद्यालयको बस पनि चलाउँछन्।
भुज समुदायले भुजा भुट्ने आफ्नो पुर्ख्यौली पेसा छोडिरहँदा बेचन दाजुभाइ भने बुवाले आफूहरूलाई हस्तान्तरण गरेजस्तै आफ्ना सन्तानको हातमा पेसा थमाउने सोचमा छन्।
बेचनलाई श्रीमतीसँगै छोराबुहारीले भुजा भुट्न सघाउँछन्।
'कान्छो छोराले वालपेपरको काम गर्छ, सघाउन पाउँदैन। जेठो छोरा राजकुमार र बुहारी सन्ध्याले भने अरू कामसँगै भुजा भुट्ने, चाल्ने सबै काम गर्न जानेका छन्,' बेचनले भने, 'बाजेको पालादेखि सुरू गरेको पेसा पनाति पुस्तासम्म चलिरहेको छ। यो चुलोमा तीन पुस्ताले भुजा भुटिसक्यो।'
भुजा तराईका बासिन्दाका लागि परम्परागत खाजाका रूपमा परिचित छ। पूजाआजा, व्रतबन्ध तथा घरपरिवारकाने भोजभतेरमा माछा, मासु, तरकारी, अचारसँग भुजा मन पराउनेको संख्या धेरै हुन्छ। दिउँसो खाजामा भुटेको भटमास, भुजा, आलुको चोखाभन्दा मुख नरसाउने कमै होलान्।
आधुनिक मेसिन र सामान्य चुलोमा भुटेको भुजाभन्दा परम्परागत रूपमा तताइएको बालुवामा भुटेको भुजा स्वादिलो र स्वस्थकर हुने उपभोक्ता र बेचन परिवार दुवै बताउँछन्।
बेचनका बालसखा समेत रहेका भैरहवाका पत्रकार चेतन पन्त परम्परागत रूपमा भुटिएको भुजा, चना र पोलेको आलुको चोखा भैरहवाबासीले मनपर्ने खाजाका रूपमा सम्झिने बताउँछन्।
'यसरी भुटेको भुजाको बासना र स्वाद नै फरक हुन्छ। अनि तातो बालुवामै पोलेको आलुमा लसुन, अदुवा, प्याज र काँचो तोरीको तेल राखेर बनाएको चोखा सामान्य चुलोमा पोलेको आलुभन्दा धेरै स्वादिष्ट हुन्छ,' पन्तले भने।
परम्परागत तरिकाअनुसार भुजा फलामको आरीमा तातो बालुवा हालेर भुटिन्छ। बालुवा भने आगो बालेर राम्रोसँग तताउनुपर्छ। बालुवा तताउन ८-९ वटा घैंटा अट्ने गरी माटोको ठूलो चुलो बनाइन्छ। घैंटाको मुख देखिनेगरी घैंटो चुलोभित्रै अड्याएर राखिन्छ। एक छेउबाट भुस र दाउरा राख्न मिल्नेगरी चुलोको मुख बनाइएको हुन्छ। चुलोको भुइँ नछुवाइ माथि अड्याएर राखिएका घैंटामा बालुवा हालिन्छ। अनि तलबाट भुस र दाउरा बालेर तताइन्छ।
फलामको आरीमा भुजा बनाउने चामल, चना, भटमास वा जे भुट्नुपर्ने हो त्यही राखिन्छ। त्यसमाथि घैंटामा तताएको बालुवा हालेपछि त्यसैको तापबाट भुटिन्छ। एकपटक राखेको बालुवाले नभुटिए दुई-तीनपटकसम्म तातो बालुवा राख्दै हल्लाइन्छ। भुटिएपछि चाल्नीमा राखेर बालुवा छानिन्छ।
भुजा, चना तथा भटमास नुनिलो बनाउन बालुवासँगै नुन हाल्न सकिने बेचन बताउँछन्। तर आफूले भने नुन नहाली भुट्ने गरेको उनले बताए।
'धेरैजसोले पूजाआजा, व्रतमा खानु हुन्छ। त्यसैले नुन नहाली भुट्छौं,' उनले भने।
उनीहरूले जुनपायो त्यही खोलाको बालुवा प्रयोग नगर्ने उनको भनाइ छ।
'हामी रोहिणी खोलाको बालुवा बढी चलाउँछौं। बालुवामा माटो र चुनढुंगा मिसिएको हुनुहुँदैन। त्यसको धूलो भुजामा टाँसिन्छ र खाँदा किरकिर लाग्न सक्छ। पत्थरजस्तो चम्किलो बालुवा खोजेर भुट्छौं,' उनले भने।
खोलाबाट छानेर ल्याएको बालुवा पानीले धोएर सफा गरेपछि मात्र प्रयोग गर्ने उनले बताए। पटकपटक घैंटामा तताइरहेको बालुवा भुटिएर रातो हुन्छ। यस्तो बालुवा पटकपटक प्रयोग गर्न मिल्छ।
भुजा भुट्ने चामल भात खाने सामान्य चामल भन्दा फरक हुने बेचन बताउँछन्।
'मोटा धानको भुजा राम्रो बन्छ। धान घाममा सुकाएर आधा घन्टा पानीमा भिजाउनुपर्छ। भिजेको धानलाई केहीबेर आगोमा बफाएर फेरि राम्रोसँग सुकाएर मात्र कुट्नुपर्छ। यसरी कुटेको चामललाई उसिना चामल भनिन्छ। त्यो चामल हेर्दा पनि रातो देखिन्छ,' बेचनले भने।
चार पुस्तादेखि भुजा भुटेरै जीवन धानेको यो परिवारले अहिलेसम्म भुजा र चना भुटेर बिक्री भने गरेको छैन। जसलाई चाहिएको हो, उनीहरूले काँचो वस्तु आफैं किनेर ल्याउँछन्।
'हामी काँचो किनेर भुटेर बेच्दैनौं। जसलाई चाहिएको हो उनीहरूले ल्याउँछन्, हामी ज्याला लिएर भुटिदिन्छौं,' उनले भने।
पहिले खेतबारीमा काम गर्ने खेताला तथा घरकै परिवारले समेत खाजा र छोरीबुहारी घर-माइती जाँदा कोसेलीका रूपमा पनि भुजा लगिन्थ्यो। अहिले होटल-रेस्टुरेन्टमा खाजा परिकारका रूपमा धेरै प्रयोग हुन्छ। आफूकहाँ पनि सर्वसाधारणसँगै होटल-रेस्टुरेन्टबाटै धेरै ग्राहक आउने बेचनका भाइ देवप्रसादले बताए।
खाजा र स्न्याक्सका रूपमा प्रयोग गरिने भटमास, चना, बदाम लगायत लिएर दैनिक दर्जनौं आउने गरेको उनी बताउँछन्। किराना पसल, लिटो तथा सातु बनाएर बिक्री गर्नेहरू पनि उनीहरूका ग्राहक हुन्।
रुपन्देहीको बुटवल, लुम्बिनी, देवदह, सैनामैना तथा नवलपरासीबाट पनि भुजा भुट्न भैरहवा पुग्नेहरू छन्।
'विभिन्न काम सिलसिलामा काठमाडौं तथा देशका अन्य ठाउँमा रहेकाले पनि यहीँबाट भुटेको भुजा लैजान्छन्,' भुज परिवारको भनाइ छ। पुरानो बुटवल बजारमा पहिले एउटा परिवारले भुजा भुट्थ्यो। अहिले उनीहरूले छाडेपछि भुजा भुट्न बुटवलबासीहरू भैरहवा नै पुग्नुपर्छ।
यसरी भुजा, चना, भटमास भुटेको तथा आलु पोलेको ज्याल प्रतिकिलो २५ रूपैयाँ हो।
'पहिले भुस र दाउरा सस्तोमै प्रसस्त पाइन्थ्यो। अचेल महँगो भयो अनि ज्याला बढाउँदै लग्यौं,' बेचनले भने।
साँझ-बिहान आफूले सघाए पनि श्रीमती र बुहारीहरूले धानेको यो पेसाबाट आफूहरू सन्तुष्ट रहेको भुज दाजुभाइको भनाइ छ।
'घरका लोग्ने मानिस बाहिर जागिर गर्न गए पनि महिलाहरूले दिनभरी भुजा, चना भुटेर परिवारको खर्च धान्न सकिएको छ। अरु सानोतिनो व्यवसायमा पनि लाखौं लगानी लगाउनुपर्छ, यसमा थोरै मेहनत गर्यो भने चुलो र भुसबाहेक केहीमा लगानी पर्दैन,' बेचन भन्छन्।
भैरहवाको चर्को गर्मी, त्यसमाथि आगोको भट्टीमा बसेर भुजा, चना भुट्नु सहज छैन। अझ आफन्त र साथीभाइले घरआँगन नै फोहोर हुनेगरी काम गरेको भन्दै होच्याउँदा उनलाई चित्त दुख्छ। कतिले त जागिर भएपछि यस्तो दुःखको काम छोड्न सुझाव दिन्छन्।
'यो दुःखको काम हो। चुलोबाट निस्किएको धुँवा र धूलोले हातखुट्टा, अनुहार सबै कालो हुन्छ। कपडा र घर सधैंजसो फोहोर हुन्छ। तर जसले जे भने पनि बरू जागिर छोड्छु, यो पेसा छोड्दिनँ,' बेचनको अठोट छ।
भैलुभुजमा जागिरवापत २५ हजार रूपैयाँ तलब पाए पनि भुजा भुटेको ज्यालाबाट बढी आम्दानी हुने उनी बताउँछन्।
'कहिलेकाहीँ त दिनमा दुई हजारसम्म पनि हुन्छ। कहिले चाहिँ एक-दुई सयमा चित्त बुझाउनुपर्छ,' उनी भन्छन्, 'तर काम गरेको दिन आम्दानी नहुने भन्ने हुँदैन। जागिरभन्दा यहीँबाट धेरै हुन्छ।'