बुवाको उद्योगका मेसिन र उत्पादन खेलाउँदै हुर्किए नेत्रनारायण भण्डारी। खेल्दाखेल्दै उनले सपना पनि बुनिसकेका थिए, ठूलो भएर म पनि उद्योगपति बन्छु।
बुवा हरिप्रसाद भण्डारीले २०४८ सालमा बुटवल औद्योगिक क्षेत्रमा लुम्बिनी केबल इन्डष्ट्रिज प्रालिमार्फत् उद्योग क्षेत्रमा प्रवेश गरेका हुन्। ६ वर्षपछि त्यहीँ उनले डोरी उद्योग पनि खोले। २०५६ सालमा फेरि पिभिसी पाइपको उत्पादन थाले।
उद्योगका मालिक भएकाले उनी निकै काम गर्थे। मेसिन चलाउने, उत्पादन प्याकिङ गर्ने र बजार पठाउने काममा कामदारसँगै खटिन्थे।
बुवाआमासँगै उद्योग क्षेत्रमै बस्ने नेत्र र उनका भाइबहिनी उद्योगका मेसिन र उत्पादनलाई खेलौना बनाएर खेल्दै हुर्किए। त्यतिबेला उनलाई उद्योगभन्दा अरू कुनै पेसा व्यवसाय पनि हुन्छ भन्ने लाग्दैनथ्यो रे।
‘दिनभरि स्कुल गए पनि साँझ-बिहान घरकै उद्योगका मेसिन खेलाउँदै पढियो,' नेत्रले भने, 'उद्योगसँग यस्तो सम्बन्ध जोडियो कि जिन्दगीमा यो छोडेर अरू काम पनि हुन्छ र जस्तो लाग्ने।’
नेत्रले २०५९ सालमा विशिष्ट श्रेणीमा एसएलसी पास गरे। २०६२ मा बुटवलमै विज्ञानमा प्लस टु गरे।
सानैदेखि उद्योग क्षेत्रमा भविष्य देखेका उनलाई औद्योगिक विषयकै इन्जिनियरिङ पढ्ने चाहना थियो। संयोगवस २०६२ मा थापाथली इन्जिनियरिङ क्याम्पसमा औद्योगिक विषयमा इन्जिनियरिङ पढाइ सुरू भयो।
उनी औद्योगिक इन्जिनियरिङको पहिलो ब्याचका विद्यार्थी हुन्। २०६५ सालमा उनले इन्जिनियरिङ सके।
उद्योगमै खेल्दै हुर्किएकाले उनलाई क्याम्पसको प्रयोगात्मक कक्षामा पनि सहज हुन्थ्यो।
‘साथीहरू मेसिन चलाउन, वेल्डिङ गर्न डराउनुहुन्थ्यो, मलाई भने वेल्डिङ गर्दा निस्किने झिल्काले पोल्दैन भन्ने थाहा थियो,’ उनले भने।
पढाइ सक्नेबित्तिकै ओजेटीको लागि उद्योग क्षेत्रमै गएर सिक्नुपर्ने हुन्थ्यो। उनी डेनमार्कले थाइल्याण्डमा स्थापना गरेको डेरी फार्मिङ प्रमोसन अर्गनाइजेसनमा तीन महिना ओजेटी गर्न गए।
त्यतिबेला नेपालमा कृषि र डेरी उद्योग फस्टाइसकेको थिएन। थाइल्याण्डको डेरी फार्मिङमा काम गर्दा उनले उद्योगको व्यवस्थापन, वस्तु उत्पादन र बजारीकरणका लागि चाहिने ज्ञान सिक्ने अवसर पाए।
तीन महिनाको ओजेटी पूरा गरेपछि उनी नेपाल फर्किए। १८ महिना बुटवल पावर कम्पनी लिमिटेडको काडमाडौंस्थित मुख्य कार्यालयमा काम गरे। त्यसले उनलाई उद्योग क्षेत्रमा स्थापित हुने आत्मविश्वास जगाइदियो।
‘बुटवल पावर कम्पनीमा काम गर्दा त्यहाँको कर्पोरेट ज्ञानले नै मलाई नयाँ उद्योग सञ्चालन गर्न र ठूलै उद्योगहरूसँग प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने आत्मबल दियो,’ उनले भने।
यति आत्मविश्वास भइसकेपछि उनलाई अरूको कम्पनीमा काम गर्नुभन्दा आफैंले उद्योग चलाउनु थियो।
बुटवल फर्किएर उनी बुवाले चलाएकै उद्योगमा २०६९ सालदेखि काम गर्न थाले। औद्योगिक इन्जिनियरिङ पढेर देश, विदेशमा समेत उद्योग व्यवस्थापनको अनुभव लिए पनि बुवाको उद्योगमा फर्किँदा उनलाई खिसीट्युरी गर्नेहरू पनि थिए।
‘यही उद्योग चलाउनु थियो भने किन इन्जिनियरिङ पढ्नु पर्थ्यो भन्ने प्रश्न गर्ने कतिले त खिसी गर्ने गर्थे,' उनले भने, 'म आफ्नै उद्योग र उत्पादनलाई बढाउँदै लैजानुपर्छ भनेर फर्किएको थिएँ।’
अहिले बुवाले स्थापना गरेका दुई वटा उद्योगसँगै उनले नर्थ सी इन्डष्ट्रिज सञ्चालनमा ल्याएका छन्।
नर्थ सी इन्डष्ट्रिजमा युपिभिसीका झ्याल, ढोका बनाउने र पार्टेसनको काम गरिन्छ। बुटवल पिभिसी पाइपबाट पिभिसी कन्ड्वीट पाइप, वाल ग्रिप, कालो पाइप तथा कपी किताब ब्यान्डिङ र प्याकिङ गर्न प्रयोग हुने स्ट्रिप्स उत्पादन हुन्छ।
२०५४ देखि उत्पादन गरिएको स्ट्रिप्स ठूला पाइप उद्योग, जनक शिक्षा सामग्री केन्द्र, साझा पब्लिकेशनलगायतका उद्योग र पब्लिकेशनमा खपत हुने गर्छ। त्यस्तै वाल ग्रिप उत्पादन गर्ने पनि नेपालमा आफूहरूको एकमात्र उद्योग भएको उनी दाबी गर्छन्।
‘हामीले उत्पादन नगर्दासम्म नेपालमा डेनमार्कबाट आयात गरिन्थ्यो, अहिले हामीले देशभर पठाउने गरेका छौं, वाल ग्रिप उत्पादन गर्ने नेपालमा अर्को उद्योग भएको मलाई थाहा छैन,’ नेत्रले भने।
लगानीको हिसाबले उद्योग क्षेत्रमा जति मुनाफा हुनु पर्ने हो त्यति गर्न नसकिएको उनको अनुभव छ।
तीन वटा उद्योगको सम्पूर्ण व्यवस्थापन उनीहरूको परिवारले नै सम्हाल्छन्। आफैं हेर्छन्।
भण्डारी डोरी र बुटवल पिभिसी पाइप उद्योग बुवा र माइलो भाइ माधवले हेर्छन् भने नर्थ सी नेत्रको जिम्मेवारीमा छ।
आफ्ना उद्योग विस्तार गरेर ५० जना बढीलाई रोजगारी दिएका छन्।
नेत्रजस्तै सुमन बस्याल पनि बुवाको उद्योग हेर्दै हुर्किए। सानो हुँदा सुमन बुवाजस्तो उद्योग सञ्चालक होइन, मामाजस्तै प्रहरी अफिसर बन्ने रहर गर्थे।
ठूलो भएपछि पढ्दै जाँदा उनको रहर पनि फेरिँदै गयो। सिटी मणिपालबाट मार्केटिङमा एमबिए गरे।
सुमनका बुवा रामप्रसाद बस्यालले २०४४ सालमा बुटवल औद्योगिक क्षेत्रमा कोहिनुर मेटल उद्योगमार्फत् उद्योग क्षेत्रमा प्रवेश गरेका थिए। कोहिनुर मेटल उद्योग नेपालमै कुलर र लेगगार्ड उत्पादन गर्ने पहिलो उद्योग हो।
एसएलसी परीक्षा दिएपछि नै बुवासँगै उद्योगमा आउने जाने गर्दा सुमनले उद्योगको वस्तुस्थिति बुझ्न थाले।
उद्योगमै भविष्य बनाउँछु भन्ने उनलाई लागेको त्यतिबेलै हो। उनले आफ्नो पढाइलाई पनि उद्योग सम्हाल्न सक्ने गरी अघि बढाएर। एमबिए अध्ययनपछि भने पूरै समय उद्योगमा लगाएका छन्। पहिले मोटरसाइकलको लेगगार्ड र कुलर उत्पादन गर्ने उनको उद्योगमा अहिले उत्पादन थपिएको छ।
‘बुवाले उद्योगमै बाटो देखाउनुभयो, यही क्षेत्रमै लाग्ने भएपछि उत्पादन पनि बढाउँदै लगेका छौं, कोहिनुर मेटल उद्योगमा लेगगार्ड र कुलर उत्पादन हुन्छन् भने कोहिनुर प्लाष्टिक उद्योग स्थापना गरी मोटरसाइकलको हेलमेटको उत्पादन सुरू गरेका छौं,’ उनले भने।
नेपालमै पहिलो पटक लेगगार्ड र कुलर उत्पादन सुरू गरेको कोहिनुरको प्लाष्टिकको हेलमेट पनि नेपालमा पहिलो उत्पादन भएको सुमन दाबी गर्छन्।
‘उद्योग व्यवसाय जे गरे पनि अरूको भन्दा फरक गरौं भन्ने हाम्रो उद्देश्य हो, नयाँ उत्पादनले बजार सजिलै पाउँछ अरूसँग अस्वस्थ प्रतिष्पर्धा गर्न पनि पर्दैन,’ उनले भने।
दैनिक ३ हजार बढी हेलमेट र लेगगार्ड उत्पादन गर्ने क्षमता रहेको कोहिनुरले अहिले दैनिक १५ सय वटामात्रै उत्पादन गरिरहेको छ।
‘अहिलेको सिजन लेगगार्ड र हेलमेटको होइन, साउनदेखि मंसिरसम्म जति उत्पादन गरिन्छ पुसदेखि असारसम्म उत्पादन घटाउँदै लगिन्छ,’ उनले भने।
खुला सिमानाका कारण नेपाली उत्पादनले भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्नु परेको उनले बताए।
‘बुटवलदेखि २२-२५ किलोमिटर टाढा भारतसँग खुला सिमाना छ, मोटरसाइकलको सामान्य लाइट, सिट कभर फेर्नु परे पनि सीमा पारी जाने उपभोक्तालाई नेपालकै उत्पादनमा बानी पार्नु चुनौती त छ, तर हाम्रो उत्पादनको गुणस्तरले उपभोक्ताको मन जित्न सकेका छौं,’ उनले भने।
नेपालकै उत्पादनले बजार ओगटेपछि अहिले भारतबाट लेगगार्ड आउन बन्द भएको सुमनको दाबी छ।
‘सुरूका केही वर्ष बजारमा खपत नभए पनि हामीले गुणस्तरमा कहिल्यै सम्झौता गरेनौं, अहिले नेपालकै उत्पादनमा सबैलाई बानी परिसकेको छ,’ उनले भने।
भारतबाट ल्याउनु पर्ने कच्चा पदार्थमै ६३ प्रतिशतसम्म भन्सार शुल्क तिर्नु पर्दा नेपाली उत्पादन महंगो पर्ने उनको अनुभव छ।
‘नेपालका उद्योगलाई कच्चा पदार्थमै ६३ प्रतिशतसम्म भन्सार शुल्क लिइन्छ। भारतमा बनाएको हेलमेट १०/१५ प्रतिशत भन्सार शुल्क तिरेर ल्याउन सकिन्छ, यसले पनि बाहिरी उत्पादन स्वतः सस्तो भइहाल्छ, अनि उताका सामग्रीसँग प्रतिष्पर्धा गर्नै गाह्रो,’ उनले भने।
कोहिनुरले उद्योग र उत्पादन विस्तारसँगै सयौं जनालाई रोजगारीको बाटोसमेत खोलिदिएको छ। दुई उद्योगमा ३ सय बढी नेपाली कामदारले रोजगारी पाएको सुमन बताउँछन्।
पछिल्लो समय अध्ययनपछि सीप सिकेका युवाहरू आफैं उद्योग व्यवसायमा आकर्षित भएका छन्। सानो भए पनि अघिल्लो पुस्ताले उद्योग सञ्चालन गरेको छ। भने छोराछोरीहरूलाई उद्योग व्यवसायमा टिक्न सहज हुने उनीहरूको अनुभव छ।
‘सानो भए पनि पारिवारिक उद्योग छ भने त्यसलाई लगानी बढाउँदै जाने हो भने उद्योग क्षेत्रबाट पछाडि फर्किनु पर्दैन,’ सुमनले भने।
पहिले विदेश जाने परम्परा थियो। विदेश गएका युवाहरू त्यहाँको अवस्था देखेर भोगेर स्वदेश फर्किएपछि यही केही गरौं भन्ने भावनाको विकास भएको उनीहरू बताउँछन्।
सरकारी क्षेत्रबाट भने अझै पनि सहयोग पाउन नसकिएको उनीहरूको अनुभव छ।
फाइनान्समा एमबिए उत्तीर्ण गरेका उपेन्द्र अग्रवाल उद्योगभन्दा फाइनान्स क्षेत्रमै रूची राख्थे।
भारतको पुनाबाट स्नातक गरेका उपेन्द्रले फाइनान्स क्षेत्रमै भविष्य बनाउने भन्दै काठमाडौं युनिभर्सिटीबाट एमबिए गरेका थिए।
तर परिवारमा परेको दुर्घटनाले उद्योगतर्फ उनको बाटो मोडियो। अहिले उनी बुटवलका सफल युवा उद्योगीको रूपमा स्थापित छन्।
‘पढाइ सकेर डेनमार्कको आइएनजिओमा फाइनान्सियल कन्सल्टेन्टको रूपमा काम गर्थें, त्यही बेला दुर्घटनामा परी दाइको मृत्यु भएपछि मेरो पेसा पनि परिवर्तन भयो,’ उनले भने।
उपेन्द्रका बुवा रतनलाल सडक विभागमा जागिरे थिए। सरकारी जागिर छोडेर बैंककमा इन्जिनियर पढ्न गएका रतनलालले नेपाल फर्किएपछि आफैंले उद्योग सञ्चालन गरे।
त्यसअघि भैरहवामा रत्ना आइरन र अरू उद्योगमा समेत संलग्न भएका रतनलालले २०४८ सालमा बुटवल औद्योगिक क्षेत्रमा इन्टरटेक स्टिल फेब्रिकेसन स्थापना गरेका थिए।
जुन उद्योगले स्टिल फेब्रिकेसनबाट झोलुंगे पुल, टावरलगायतको फेब्रिकेसन र ग्ल्बेनाइजको काम गर्दै आएको छ। २०६० सालसम्म बुवा र दाजु हिमांशुले सम्हालेको उद्योग १७ वर्षदेखि उपेन्द्रले सम्हाल्दै आएका छन्।
‘सडक दुर्घटनामा परी दाइको निधन भएपछि उद्योग सञ्चालनको जिम्मेवारी मेरो काँधमा आएको छ, अहिले फेब्रिकेसन र ग्याल्बेनाइजको कामसँगै फाइबर झोला, पिपिआर, सिपिभिसी, पिभिसी सबै प्रकारका पाइपको उत्पादन पनि थपिएको छ,’ उपेन्द्र भन्छन्।
नेत्र, सुमन र उपेन्द्र त प्रतिनिधि पात्रमात्र हुन्। बाबुबाजेले गरेको व्यापार र उद्योग व्यवसाय हेर्दै हुर्किएका युवाहरू अध्ययनसँगै सीपसमेत सिकेर उद्योग व्यवसायमा आकर्षित हुन थालेका छन्।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले सानादेखि ठूला उद्योगसम्म युवाको नेतृत्वमा स्थापना हुने क्रम बढेर गएको बताए। विदेशमा भन्दा स्वदेशमै बसेर उद्योग व्यवसाय सञ्चालन गर्न सके राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ।
पुरानो प्रविधिमा सञ्चालन भइरहेका साना उद्योगलाई व्यवस्थित गर्दै नयाँ प्रविधिको प्रयोग गर्न सके उद्योगबाट पछाडि फर्किनु नपर्ने बोहोरा बताउँछन्।
‘युवाहरूले पुस्तौनी उद्योगलाई निरन्तरता दिने मात्र नभई नेपालमा उत्पादन नभएका र बाहिरबाट आयात गर्नु पर्ने वस्तुको उत्पादन नेपालमै गर्न सके नेपालको पैसा बाहिर नजाने र युवाहरूलाई रोजगारी पनि हुन्छ,’ बोहोराले भने।
सरकारले उद्योग व्यवसायको सुपरीवेक्षण गरी आवश्यक सहयोग गर्ने र युवा उद्यमीलाई परियोजनाका आधारमा लगानी र ब्याजमा अनुदान दिन सके विदेश जाने युवाको संख्यामा कमी आउने उनले बताए।