कोरोना महामारीले एक वर्षदेखि सुस्ताएको आर्थिक क्षेत्र विस्तारै उठ्दै गर्दा रुपन्देहीमा विभिन्न परियोजना थपिदै छन्। बढ्दै गरेको शहरीकरण र देशको मध्यभागमा रहेकोले यो क्षेत्रका पहाडी जिल्ला र तराईका आसपासका जिल्लाबाट पनि बसाई सराई गरि रुपन्देही आउने क्रम बढ्दै छ।
मानिसको चाप बढ्दै जाँदा यहाँका खेतीयोग्य जमिन बस्ती र शहरका रूपमा परिणत भईरहेका छन्। पछिल्लो समय खेतीयोग्य जमिन प्लटिङ गरि अलग अलग घडेरी बिक्री गर्नेभन्दा सामुहिक आवास निर्माणको क्रम शुरु भएको छ।
गत महिना लुम्बिनी अष्टदिप मल्टिनेशनल प्रा.लि.ले तिलोत्तमामा आवास विकास परियोजना निर्माण शुरू गरेलगत्तै अहिले फेरि भैरहवामा बोधि होल्डिङ प्रालिले अर्को परियोजना अघि बढाएको छ।
आधुनिक शहरको रुपमा विकास भईरहेको बुटवल तथा भैरहवामा बोधि होल्डिङले ओमसतिया गाउँपालिका- ४ मा ‘बोधी होम्स’ हाउजिङ निर्माण सुरू गरेको हो। भैरहवा–परासी सडकखण्ड छेउमा पर्ने बोधि होल्डिङले १४ बिगाहा क्षेत्रफलमा सुविधा सम्पन्न ३ सय घर निर्माण गर्दैछ।
पहिलो चरणमा १०५ र दोस्रो चरणमा १९५ गरी ३ सय घर निर्माणको योजना अगाडि सारेको बोधि होल्डिङले यो परियोजनामा ४ अर्ब रुपैयाँ लगानी गर्ने जनाएको छ। बोधि होल्डिङ प्रालिका अध्यक्ष जलेश्वर पाण्डेले यो परियोजना लुम्बिनी प्रदेशकै ठूलो आवासीय परियोजना भएको दाबी गरे।
गत महिना परियोजना सार्वजनिक गरेको लुम्बिनी अष्टदिप मल्टिनेशनल प्रा.लि.ले भने बुटवल-भैरहवा सडकखण्डको भलवारी चोकदेखि १४ सय मिटर पूर्व करिब ६ विगाह क्षेत्रफलमा १ सय २३ वटा आधुनिक भवन निर्माण शुरु गरेको छ।
बोधि होल्डिङ प्रालिले पहिलो चरणमा बन्ने १०५ वटा घर दुई वर्षमा सक्ने लक्ष्य लिएको छ। दोस्रो चरणमा १९५ घरहरु भने थप दुई वर्षमा निर्माण पुरा गरिने अध्यक्ष पाण्डेले जानकारी दिए।
प्रालिले हाउजिङ निर्माण शुरू गरेसँगै घर खरिदका लागि बुकिङ खुल्ला गरेको जनाएको छ। निर्माण शुरू नहुँदै १५ वटा घर प्रि-बुकिङ भइसकेका छन्। हाउजिङ परियोजनामा पर्यटन एवं बैंक व्यवसायी पाण्डेसहित रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य प्रमोद यादव, चार्टर एकाउण्टेण्ट दीपक पाण्डे, दिनबन्धु पोखरेल, एनआरएनए छविलाल कुँवर र रवीन्द्र कुँवर लगायतका व्यवसायीहरुले लगानी गरेका छन्।
प्रालिले २०७८ वैशाखभित्र बुकिङ गर्नेलाई ११ देखि १४ धुर जग्गामा बनेको घरको मूल्य १ करोड ६० लाख र १७ धुर जग्गामा बनेको घरको मूल्य १ करोड ९० लाख निर्धारण गरेको छ। २०७८ वैशाखपछि भने यो मूल्यमा १२.५ प्रतिशतले वृद्धि गरिने पाण्डेले बताए।
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा सामुहिक आवासको संस्कार विकास गर्न यो हाउजिङ परियोजना सुरु गरेको सञ्चालकले बताएका छन्। दुई तलासहित ४ वटा विभिन्न डिजाइनमा निर्माण गरिने घरहरु १३–१८ धुरसम्मको क्षेत्रफलमा बनाइनेछ।
आवास विकास परियोजना भित्र स्वीमिङ पुल, फराकिलो बाटो, हेल्थ क्लब, सभा हल, जीम हाउस, बगैंचा हुनेछन् भने पार्किङ, खानेपानी, सपिङ सेन्टर र सुरक्षा व्यवस्था समेत मिलाएर घर निर्माण गरिने प्रालि.ले जनाएको छ।